पीडितको संख्याभन्दा छुट निवेदन बढी

नवलपुर — राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ नवलपुरले २०७२ वैशाखको भूकम्पबाट पीडितका लागि छुट तथा पुनः जाँच अभियान सुरु गर्ने भएको छ । पूर्वी र पश्चिम नवलपरासीका १५ वटा स्थानीय तहमा काम गर्दै आएको इकाइले चैत १५ देखि भूकम्पपीडितको लगत तयार पार्नेछ ।

भूकम्प जाने समयमा राहत रकमबापत घर बनाउने रकम प्राप्त गर्नबाट वञ्चित पीडितका लागि यस्तो अभियान ल्याइएको हो ।


अहिलेसम्म १ हजार २ सय १६ जनाले निवेदन दर्ता गराएका छन् । जसमा सबैभन्दा बढी पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकाबाट ४ सय ६ र पश्चिम नवलपरासीको सरावल गाउँपालिकाबाट एकजनाको छुट निवेदन परेको छ । पूर्वी र पश्चिम नवलपरासीमा ८ सय ७२ जना भूकम्पपीडित भएको तथ्यांक भए पनि पीडितभन्दा बढीले छुट तथा घरभवन नापका लागि निवेदन दिएका हुन् ।


निवेदन दिएकाहरूको घरमा पुगेर क्षतिको आँकलन र स्थानीय छिमेकी, जनप्रतिनिधिको सिफारिसको आधारमा छनोट गरिने इकाइ प्रमुख राजेन्द्र कार्कीले बताए । ‘तीन वर्षसम्म अधिकांश पीडितले आफ्नो आर्थिक हैसियत अनुसारको घर तथा भवन बनाइसकेका छन् ।’ उनले भने, ‘तर पनि यसअघि भूकम्पले क्षति पुर्‍याएको भए पनि सरकारी अनुदान रकम लिनबाट वञ्चितलाई स्थानीय तहको सिफारिस, तत्कालीन समयको फोटो र छिमेकीको रोहबरमा एकमुष्ठ रकम प्रदान गरिनेछ ।’


विनयी त्रिवेणीका कमल रानाका अनुसार यसअघि स्थानीय जनप्रतिनिधि नहुँदा कर्मचारीहरूले प्रहरीको सूचना र निवेदनको आधारमा मात्र तथ्यांक संकलन गर्दा अधिकांश पीडित छुटेको बताए । अहिलेसम्म कार्यालयबाट ९५ प्रतिशत पीडितले पहिलो किस्ता, ६० प्रतिशतले दोस्रो र ५३ प्रतिशतले तेस्रो किस्ताबापतको रकम लिइसकेका छन् ।


व्यक्तिगत घरबाहेक २ सय ८ ओटा विद्यालयका ५ सय १३ कक्षाकोठामा क्षति पुगेकोमा तीन वर्षमा जम्मा ३२ वटा दुई कोठे भवन मात्र निर्माण भएको छ । चालु आर्थिक वर्षमा ३५ वटा कोठा निमार्णको क्रममा छन् ।

प्रकाशित : चैत्र ९, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?