१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अपहरणको दुई सातापछि उद्धार

रवीन्द्र उप्रेती

महोत्तरी — अपहरण भएको १७ दिनपछि प्रहरीले यहाँका एक युवालाई भारतबाट उद्धार गरेको छ । प्रहरीले गौशाला नपा ८ बेलगाछिका २९ वर्षीय सुरेश साहालाई भारत विहारको बालमिकीनगरबाट उद्धार गरेको हो । उनलाई जिल्ला प्रहरीमा पत्रकार सम्मेलन गरी बिहीबार सार्वजनिक गरिएको छ । 

प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार भारतीय सुरक्षाकर्मीको सहयोगमा वाल्मीकिनगरस्थित मानमाको जंगलमा सर्च अपरेसन गर्दा साहलाई त्यहाँको नहर छेउबाट बन्धक बनाई राखेको अवस्थामा उद्धार गरिएको हो । अपहरणमा संलग्न भएको आरोपमा बारा कलैया १२ रामपुरका ५२ वर्षीय मुन्ना भन्ने सुरज चौधरीलाई हतियारसहित हिरासतमा लिइएको छ । भारतीय सुरक्षाकर्मीको सहकार्यमा बुधवार बगाहा जिल्लाको सौरहा चोकमा सर्च अप्रेसन गरी पक्राउ गरेको हो । उनका साथबाट १ थान कटुवा पेस्तोल र त्यसमा लाग्ने ५.५६ एमएमको ४ थान गोलीसमेत बरामद भएको कार्कीले जनाए ।


फागुन १९ गते घरबाट जनुकपुर जान भनी हिँडेका साह २ दिनसम्म परिवारको सम्पर्कमा नआएपछि उनकी आमा देवसुनरदेवीले बेपत्ता छोरोको खोजतलासका लागि २२ गते प्रहरीमा उजुरी दिएकी थिइन् । लगत्तै अपहरणकारीले पीडितका भिनाजु अमरनाथ महतोलाई भारतीय मोबाइलबाट १२ लाख फिरौती माग गरेपछि अपहरणको खुलासा भएको थियो ।


खुलासा लगत्तै जिल्ला प्रहरीले प्रहरी निरीक्षक दीपक चोरवारको कमाण्डमा फागुन २४ गते अनुसन्धान टोली परिचालित गर्‍यो । अनुसन्धानाका क्रममा फिरौतीको लागि प्रयोग गरिएको फोनको लोकेसन भारतको बेतिया तथा बगाहा भन्ने ठाउँमा रहेका ट्रयाक भएपछि बेतिया प्रहरीसंग समन्वय गरी योजनाबद्ध ढंगमा अनुसन्धान तथा सर्च अभियान परिचालन गरेको थियो ।


‘लगातार प्रयासबाट अपहरणको १७ दिनपछि चैत ५ गते राती साढे ९ बजेतिर बेतिया र बगाहा प्रहरी तथा त्यहाका ‘स्पेसल टास्क फोर्स’ (एसटीएफ) को सहयोगले चौधरीलाई नियंत्रणमा लिएको हो’ पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक कार्कीले जानकारि दिए । चौधरीले आफ्नै नियन्त्रणमा राखेका पीडित साहका साथी भारत सीतामढीका काशी साह कानुलाई समेत सोही बेला उद्धार गरेको थियो । साहसँगै कानु पनि अपहरणमा परे पीडितका आफन्तबाट फिरौति लिन आएका बेला उनलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी सफल भएको थियो ।


चौधरी फिरौती लिन भनी कानूसाथ सौराहा चोकमा आएको बेला एरिया घेराबन्दी गरी बसेका नेपाली तथा भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो । सुरक्षा नियन्त्रणमा आएका चौधरीको बयानको आधारमा अपहरित साहलाई उनीहरू पक्राउ परेको चोकदेखि डेढ किमि दूरीमा रहेको मानमाको जंगलबाट उद्धार गरिएको हो । अनुसन्धान क्रममा चौधरीसाथ पक्राउ परेको कानूसमेत अपहरणमा परेको खुलेपछि उनलाई बेतिया प्रहरीले उनको आफन्तको जिम्मा लगाएको छ ।


पत्रकार सम्मेलनमा अपहरणमुक्त साहले बताए अनुसार उनी घरबाट जनकपुर जान भनी आफ्नो मोटरसाइकलबाट हिंडेका थिए । बाटोमा उनलाई एक परिचितले फोन गरेर एउटा बहुमूल्य धातुको कारोबार गरे निकै फाइदा हुने जानकारी दियो । फोनमा ‘बगाहा भन्ने ठाउँमा चट्याङ परेको एउटा बहुमूल्य ढुंगा छ, त्यसको कारोबार गरे हामीलाई लाखौंलाख फाइदा हुनेछ भनि फोनमा बतायो ।


यसको विश्वासमा परेर साह सिधै सीतामढी पुगे । त्यहा उनको भारतीय साथी कानुलाई साथमा लिएर बगाहा पुगे । ‘बगाहामा कुरी बसेका अपहरणकारी चौधरी र उनका साथीले नियन्त्रणमा लिई ‘तिमी दुवै हाम्रो नियन्त्रण छौ, फिरौतीपछि मात्र सकुशल जानेछौ भनेपछि हामीलाई अपहरणका लागि जाल रचेर बोलाएको बुझ्यौं,’ साहले सञ्चारकर्मीलाई बताए ।


प्रहरी उपरीक्षक कार्कीका अनुसार चौधरीविरुद्ध भारतको बगाहा पुलिसले ‘अर्मस एक्ट’ विरुद्ध मुद्दा दर्ता गरेको छ भने भारतीय नागरिकलाई समेत अपहरण गरेको आरोपमा सीतामढी पुलिसले अपहरण आरोपमा मुद्दा चलाएको छ । महोत्तरी प्रहरीले पनि चौधरीमाथि मुद्दा दर्ताको तयारी गरिरहेको कार्कीले जनाए ।

प्रकाशित : चैत्र ९, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?