१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

अनुदान फिर्ता गर्दै लाभग्राही

दिप्ती सिलवाल

काठमाडौँ — पर्वतमा भूकम्पपछिको पुनर्निर्माणको लाभग्राही सूचीमा सूचीकृत भएका सात जनाले अनुदान रकम फिर्ता गरेका छन् । पूर्ण क्षतिको विवरणमा परेर घर निर्माणका लागि भन्दै पहिलो किस्ता लगेर घर नबनाएकाले उक्त रकम फिर्ता गरेका हुन् ।

अनुदान फिर्ता गर्दै लाभग्राही

भूकम्प पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार विकास कार्यालयका अनुसार फिर्ता गर्नेमा कुश्मा नगरपालिकाबाट ६ जना र फलेवास नगरपालिकाका एक जनाले रकम फिर्ता गरेका हुन् ।


पहिलो किस्ता लगेर पनि घर निर्माण नगरेकालाई गत भदौदेखि कार्यालयले रकम फिर्ता गर्न सार्वजनिक सूचना जारी गरेको थियो । कम क्षतिको सूचीमा परेको पर्वतमा निजी आवास पुनर्निर्माण गर्नुपर्ने लाभग्राहीको सूचीअनुसार उपलब्धि निकै न्यून भएको पाइएको छ । जिल्लाका सबै स्थानीय तहमा गरी पूर्ण क्षति भएका लाभग्राहीको संख्या पाँच हजार दुई सय ६९ रहेको छ । अहिलेसम्म घर निर्माण सम्पन्न गरेका १ सय ६४ जना छन् । लाभग्राहीको सूचीमा सूचीकृतमध्ये ४ हजार ९ सय ५० जनाले पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ लगेका थिए । दोस्रो किस्ता लिनेको संख्या २ हजार ३ सय ७४ छ । भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा पनि निजी आवास पूर्ण रूपमा सम्पन्न गर्नेको संख्या भने जम्मा १ सय ६४ रहेको छ ।


कतिपय भूकम्पपीडितहरूले घर बनाउन प्राविधिक स्टिमेटसमेत गराउन पाएका छैनन् । पीडितले भूकम्प प्रतिरोधी घर निर्माण गर्न भन्दै पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ लिएर बसेको दुई वर्षभन्दा बढी समय पुग्दासमेत पुनर्निर्माण प्राधिकरणले पठाएका प्राविधिक घरघरै पुगेर सल्लाह नदिंदा पीडितहरू अलमलमै छन् ।


पहिलो चरणमा गत वर्ष केही घरमा पुगेर स्टिमेट गरिएका घर अधुरै छन् । त्यसयता प्राविधिक नआउँदा घरको जग हाल्नसमेत नपाइएको पीडितहरूको गुनासो छ । ‘पटकौंपटक गुहार्दा पनि प्राविधिक आएनन्,’ बिहादीका राधेश्याम पराजुलीले भने, ‘आएका प्राविधिकले पनि यसरी घर बनाउनू भनेर सल्लाह दिंदैनन् । हामी अझै अलमलमै छौं ।’ प्राविधिक नआएकै कारण समयमा घर थाल्न नसकेको र दक्ष कामदारसमेत नपाएको गुनासो पीडितहरूले गरेका छन् ।


जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन कार्यालयका अनुसार सबैभन्दा बढी घर निर्माण मोदी गाउँपालिकामा भएको छ । मोदीमा ४९ जनाले घर निर्माण सकेर तेस्रो किस्ता लिइसकेको कार्यालय प्रमुख रामआशिष शाहले जानकारी दिए । ‘कतिपयले घर बनाइसकेर पनि हिसाब राफसाफ भएको छैन,’ उनले भने, ‘घर बनाइसकेकालाई हामीले तेस्रो किस्ता लिन बोलाइरहेका छौं । कतिपयले फुर्सद नपाएर आउन सक्नुभएको छैन ।’ उनका अनुसार पैयुँ गाउँपालिकामा अहिलेसम्म एक जनाले पनि घर निर्माण सम्पन्न गरेको रेकर्ड आएको छैन । पैयुँका छ सय ५८ जनाको घर पूर्ण क्षतिमा परेको र छ सय ५१ जनाले पहिलो किस्ता तथा दुई सय ३९ जनाले दोस्रो किस्ताको रकम बुझेको कार्यालयमा रेकर्ड छ । फलेबास नगरपालिकामा नौ जनाले घर निर्माण सकेर तेस्रो किस्ताको रकम बुझेका छन् ।


कुश्मा नगरपालिकामा ३१, जलजलामा २८, महाशिलामा १५ र बिहादी गाउँपालिकामा ३२ जनाले घर निर्माण सकेर तेस्रो किस्ता लिइसकेका छन् । फलेबास नगरपालिका–८ को अर्चलेका २० घरधुरीको बासस्थान नै असुरक्षित भएपछि उनिहरूलाई एकीकृत बस्तीमा स्थानान्तरणको प्रक्रिया सुरु भएको छ । बिहादी गाउँपालिकाका–४ वहाकीठाँटीका रन्नता पाठकलाई जोखिमयुक्त बस्तीका लाभग्राही कायम भई आएको र जग्गा खरिदलगायतका कार्यहरू अगाडि बढाइएको कार्यालयले जनाएको छ ।

त्यस्तै पैयुँ, महाशिला, र बिहादी गाउँपालिकाबाट जोखिमयुक्त बस्ती सर्वेक्षणका लागि निवेदन प्राप्त भएका र उक्त निवेदन सम्बन्धित निकायमा पठाइएको कार्यालयले जनायो । नीजि आवास पुनर्निर्माणमा लाभग्राहीको नाम छुटेको भन्दै जिल्लाभरिबाट दुई हजार ८ सय ७४ वटा गुनासो आएको छ ।


गुनासो फाराम भर्नेमा सबैभन्दा धेरै बिहादी गाउँपालिकाका छन् । बिहादीका सात सय ६५ जनाले गुनासो फाराम भरेका एकाइ कार्यालयले जनाएको छ । फलेबास नगरपालिकाका छ सय ६७ जनाले गुनासो फाराम भोरेका छन् । त्यस्तै कुश्मा नगरपालिकाबाट छ सय २५, मोदी गाउँपालिकाबाट दुई सय ८, जलजला गाउँपालिका ७३, पैयु गाउँपालिकाबाट चार सय १७ र महाशिला गाउँपालिका एक सय १९ जनाले गुनासो फाराम भरेको कार्यालयको तथ्यांकमा छ । गुनासो संकलन गरी केन्द्रमा पठाएको एकाइका प्रमुख शाहले बताए । उनका अनुसार अहिलेसम्म एउटा पनि गुनासो फर्स्योट भएका छैनन् ।

प्रकाशित : चैत्र १०, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?