कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उपयोग हुँदैनन् शैक्षिक सामग्री

अधिकांश सामुदायिक विद्यालयले विज्ञान प्रयोगशाला, पुस्तकालय, प्रोजेक्टर, कम्प्युटर ल्याबको उपयोग गरेका छैनन् 
मोहन शाही

डोटी — फागुन दोस्रो साता शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख अनन्तकुमार पौड्याल विद्यालयको अनुगमन गर्न भुवनेश्वरी माध्यमिक विद्यालय पुगे । विद्यालयका प्रधानाध्यापक रमेश शाहीको कार्यकक्षमा पुग्नेबित्तिकै पौड्यालको ध्यान कक्षभित्र रहेको ‘टिचर टकिङ डिभाइस’ मा अडियो ।

उपयोग हुँदैनन् शैक्षिक सामग्री

महँगो मूल्य पर्ने त्यो डिभाइस विशेष प्रकारले बनाइएको पुस्तकमा छुँदा रोजेको नेपाली र अंग्रेजी दुवै भाषामा आवाज निकाल्ने शैक्षिक सामग्री थियो । प्रयोग नगरी प्रअ कक्षको एउटा कुनामा थन्काइएको थियो, त्यो डिभाइस् ।


विद्यालयले केआईसिंह गाउँपालिकाको सहकार्यमा उक्त डिभाइस १ लाख ५७ हजारमा खरिद गरेको थियो । सामग्री भए पनि विद्यार्थीलाई सिकाउन सक्ने तालिम प्राप्त शिक्षक नभएकाले प्रयोगविहीन अवस्थामा रहेको प्रअ शाहीले जानकारी गराए । विकास तथा समन्वय एकाइ प्रमुख पौड्यालले शैक्षिक सामग्रीहरूको उपयोग गर्न नसक्नु दुःखद रहेको बताए ।


उनले अनुगमनकै क्रममा विद्यालयका सबै शिक्षकहरूलाई भेला गराएर शैक्षिक सामग्रीहरूको उपयोग गर्न सुझाव दिए । तत्कालै डिभाइस प्रयोग गर्ने तरिका पनि सिकाए । ‘दुःखद कुरा यही छ, दक्ष शिक्षक भएर पनि मेहनत नगर्ने बानी सामुदायिक विद्यालयमा छ,’ पौड्यालले भने, ‘शिक्षकहरू भएका शैक्षिक सामग्रीहरूको सदुपयोग पनि गरिदिनु हुन्न ।’


अधिकांश सामुदायिक विद्यालयहरूमा भएका विज्ञान प्रयोगशाला, पुस्तकालय, प्रोजेक्टर, कम्प्युटर ल्याबको पनि उपयोग भएको छैन । कतिपय विद्यालयहरूले उपयोगी शैक्षिक सामग्री थन्काएर राखेका छन् । केही वर्ष सञ्चालन गरे पनि बिस्तारै विभिन्न बहाना देखाएर उपयोगमा नल्याउने परिपाटी सामुदायिक विद्यालयहरूमा छ ।


‘शिक्षकहरू पाठ्यपुस्तकको पढाइ मात्र सक्ने ध्याउन्नमा हुन्छन्,’ सामुदायिक विकास मञ्चका अध्यक्ष हेमराज जोशीले भने, ‘गुणस्तरीय शिक्षाका लागि शैक्षिक सामग्रीहरूको प्रयोगले ठूलो प्रभाव पार्छ भन्ने कुरा व्यावहारिक रूपमा अझै कार्यान्वयन गर्न सकेका छैनन् ।’ सामुदायिक विकास केन्द्रले पछिल्ला वर्षहरूमा विद्यालय, शिक्षक–विद्यार्थी–अभिभावकहरूलाई शैक्षिक सामग्री र पढाइ सीपबारे सचेतना फैलाउन पढाइ मेला सञ्चालन गर्दै आएको छ ।


जिल्लामा रहेका सामुदायिक विद्यालयहरू पछिल्लो समय धमाधम बालमैत्री बनाउने होडबाजी छ । आकर्षक कोठा, विद्यार्थीहरूलाई खेल्ने, बस्ने ठाउँ अनि विभिन्न शैक्षिक सामग्रीहरू डोटीका अधिकांश विद्यालयहरूमा देख्न पाइन्छ । तर पूर्वाधार भए पनि बालमैत्री कक्षाहरूको सदुपयोग भने सबै विद्यालयहरूमा हुन सकेको छैन । शिक्षा समन्वय एकाइ प्रमुख पौड्याल सही सदुपयोग नहुँदा बालमैत्री कक्षाबाट गुणस्तर पढाइ हुन नसकेको मूल्यांकन गर्छन् ।


डोटीमा कक्षा १ देखि ५ सम्म रहेका २ सय १२ विद्यालय बालमैत्री छन् । यसबाहेक बाल विकास पनि बालमैत्री बनाइएका छन् । कतिपय विद्यालयमा तालिम प्राप्त शिक्षक राखिएका छन् । राखिएका सामग्री र शिक्षण सीप प्रयोगमा नआउँदा शिक्षाको गुणस्तरमा सुधार आउन नसकेको सरोकारवाला बताउँछन् । ‘बालकेन्द्रित शिक्षण विधि र तरिकाहरू जसरी अपनाउनुपर्ने हो त्यो देखिएको छैन,’ केआईसिंह गाउँपालिकाका शिक्षा समन्वय एकाइ प्रमुख सुरत बोगटीले भने, ‘बालमैत्री कक्षामा खेलविधि, अझिनय विधि, अतिरिक्त त्रियाकलाप विधिहरू अपनाउन सकिएन भने पूर्वाधार भएर मात्र केही हुँदैन ।’


जिल्लाको नमुना विद्यालयको रूपमा रहेको कपल्लेकी उच्च माविका प्रधानाध्यापक गगनसिंह ऐर पनि बालमैत्री कक्षाको गुणस्तरप्रति सन्तुष्ट छैनन् । ‘बाल मनोविज्ञान र क्षमता बुझेर पढाउन सक्ने शिक्षकहरू नै सामुदायिक विद्यालयतर्फ उत्पादन हुन सकेका छैनन्,’ नेपाल शिक्षक संघका निवर्तमान जिल्ला अध्यक्षसमेत रहेका प्रअ ऐरले भने, ‘पूर्वाधार भएर के गर्ने, अझै पनि डरधाक देखाएर बालमैत्री कक्षाहरू चलेका छन् ।’ उनले जिल्ला शिक्षा कार्यालयमा पटकपटक एक स्रोत केन्द्रमा कम्तीमा २ जना शिक्षकलाई मात्र भए पनि तालिम दिनका लागि माग गरे पनि कार्यान्वयन हुन नसकेको दुखेसो गरे ।


जिल्लामा तालिम प्राप्त शिक्षकहरू भए पनि तिनले कक्षाकोठामा सीप प्रयोग नगर्ने गरेको सरोकारवालाहरूको आरोप छ । शिक्षाको गुणस्तर नबढ्नुमा जिल्ला शिक्षा, स्रोत व्यक्ति, विद्यालय निरीक्षकको फितलो अनुगमन विद्यालय र शिक्षक जिम्मेवार नभएकाले गुणस्तरीय शिक्षण हुन नसकेको भगवती माविका प्रधानाध्यापक टेकबहादुर सिंह बताउँछन् ।


जिल्लामा निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएको भगवती माविका प्रअ सिंह विद्यालय र शिक्षक मात्रै जिम्मेवार भइदिए पनि धेरै हदसम्म सुधार आउने तर्क गर्छन् ।

प्रकाशित : चैत्र १०, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?