कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

हराउँदै ढकिया–मौनी

मनोज पौडेल

कपिलवस्तु — थारू समुदायको संस्कृति र पहिचान मानिने ढकिया मौनी हराउन थालेको छ । ढकियामौनी बनाउन लगानी चाहिदैन् । वनमा पाइने काँस र मुज घाँस भए पुग्छ । त्यसपछि इच्छाशक्ति र सीप चाहिन्छ । अहिले प्रविधिको विकास र आधुनिकतासँगै ढकिया मौनी देखिन छाडेको छ ।

हराउँदै ढकिया–मौनी

युवा पुस्ताले ढकियाको महत्त्व बुझ्न सकेनन् । त्यसैले बुन्ने प्रयास गरेनन् । पहिले महत्त्वपूर्ण ढकिया अहिले गाउँघरमा देखिन छाडेको अगुवा कृष्णबहादुर चौधरीले बताए ।


‘कला र परम्परा हो भनेर बुझाउन सकिएन,’ उनले भने, ‘त्यसैले थारूले समुदायले नै भुल्दै गएका छन् ।’ शिवराज नगरपालिका–१ उमरी गाउँकी हर्जी थरुनी ढकिया बुन्न पारंगत हुन । उनले बुँनेका आकर्षक ढकिया मौनी देखेर सबै लोभिन्छन् । १०/१५ वर्षअघिसम्म ढाटा–टाढाबाट गाउँमा ढकियामौनी खरिद गर्न आउँथे । अहिले चासो छैन । किन्न पनि कोही आउँदैनन् । पहिचानसँग जोडिएको संस्कृति हराउँदै गएको उनले बताइन् ।


‘सजिलै प्लास्टिक र स्टिलका भाँडाकुँडा पाइन्छन्,’ शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थरुनीले भनिन्, ‘त्यही भएर युवाको ध्यान गएन ।’ उनका अनुसार ढकिया बुन्न समय लाग्छ । झन्झटिलो हुन्छ । नयाँ पिँढीले शिक्षा र प्रविधिमा ध्यान दिन्छन्् । ‘तर पहिचान जोगाउन ध्यान नदिँदा लोप हुने अवस्थामा पुगेको हो,’ उनले भनिन्, ‘नगरपालिकाबाट बजेट विनियोजन गरेर सीप सिकाउँछौं ।’


यसको महत्त्व बुझाएर ढकिया बनाउन उत्प्रेरित गर्ने उनले बताइन् । शुभकामना र पूजामा यसको माग हुन्छ । विवाहमा दाइजोका रूपमा ढकिया दिने परम्परा छ । मृत्यु संस्कारमा पनि चाहिन्छ । कार्यक्रम र अतिथिलाई उपहार दिने चलन छ । लोप हुन लागेको ‘ढकिया’ को संरक्षणका लागि नयाँ पुस्तालाई सचेतना गर्न आवश्यक रहेको थारू कल्याणकारणी सभाका अध्यक्ष उमाशंकर चौधरीले बताए ।


‘ढकियाले थारूको पहिचान झल्काउँछ,’ उनले भने, ‘यसकारण सबैले थारूलाई चिनेका छन् ।’ थारू समुदायका युवाले ढकिया बुन्नतिर ध्यान दिंदैनन् उनले भने । अब हामी उनीहरूलाई तालिम दिन जाँदैछौं ।’


जिल्लामा थारू समुदायको बाहुल्य छ । यस्तो मौलिक कला र सीप बचाउन सबै स्थानीय तहले प्राथमिकता दिनुपर्ने अगुवा जितबहादुर चौधरीले बताए । ‘ढकियालाई जिल्लाको चिनोको रूपमा विकास गर्नुपर्छ,’ उनले भने, ‘प्रदेश र स्थानीय सरकारको समन्वयमा ढकियाको प्रवर्द्धन गर्नुपर्छ ।’


ढकियासँगै कास र मुजबाट दिलडब्बा, पेन होल्डर, गमला र हटकेस बनाइन्छ । मौनी, खुत्रुके, डस्टविन, ट्रे र चकटीलगायतका सामग्री पनि निर्माण गरिन्छ । थारू संस्कृति र पहिचान बचाइराख्न शिवराज नगरपालिका–१ उमरी गाउँमा एकमहिने तालिम सञ्चालन गरेको थियो । नगरपालिकाले थारू कला, परम्परा र संस्कृति जोगाइराख्न तालिम आयोजना गरेको हो ।


स्थानीय वसन्ती थारूले सीप सिकेपछि आत्मनिर्भर हुन सहयोग पुग्ने बताइन् । ‘सामान्य खर्चको लागि श्रीमान्को भर पर्नुपर्थ्यो,’ उनले भनिन्, ‘अब साँझ–बिहानको चुलोचौको गर्न सक्ने आँट आएपछि खुसी भएकी छु ।’ थारू महिलाहरू उत्साहित भएर सीप सिक्न थालेपछि नगरपालिकाले ५ दिनको तालिम महिना दिनसम्म सञ्चालन गरेको थियो । तालिममा ३० महिला सहभागी थिए ।

प्रकाशित : चैत्र १०, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?