कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

जैविक मार्गमा नालीले वन्यजन्तुलाई धराप

कमल पन्थी

बर्दिया — मधुवन नगरपालिकास्थित खाता अन्तर्राष्ट्रिय जैविक मार्गमा अवरोध पुग्ने गरी भारतले सीमा क्षेत्रमा गहिरो नाली (ट्रेन्च) खनेको छ । भारतसित जोडिएको जिल्लाको करिब ८० किलोमिटर दशगजा नजिकका अधिकांश क्षेत्रमा यस्तो नाली खनेर वन्यजन्तु ओहोर–दोहोरमा अवरोध गरिएको छ ।

जैविक मार्गमा नालीले वन्यजन्तुलाई धराप

खाता जैविकमार्ग भारतको उत्तरप्रदेश राज्यस्थित बहराइच जिल्लाको कतरनियाघाट वन्यजन्तु आरक्षसँग जोडिएको छ । बर्दिया निकुञ्जबाट वन्यजन्तुले कतरनियाघाट वन्यजन्तु आरक्ष ओहोर–दोहोर गर्ने यो प्रमुख मार्ग हो ।


दशगजासँग जोडेर गहिरो नाली बनाउनु वन्यजन्तुलाई धराप पार्ने काम भएको जैविक मार्ग तथा संरक्षित केन्द्र (कोफक) अध्यक्ष कृष्ण परियारले बताए । ‘जैविक मार्गबाट वन्यजन्तु आउजाउमा कुनै अवरोध हुनु हुँदैन,’ उनले भने, ‘खाडलले वन्यजन्तुलाई मात्र नभई वर्षायाममा नेपाली गाउॅ बस्ती डुबानमा पार्ने खतरा छ ।’


एक मिटरभन्दा बढी चौडा र डेढ मिटर गहिरो खाडल बनाइएको स्थानीयले बताए । तराई भू–परिधि कार्यक्रमको अवधारणामा खाता जैविक मार्गले दुवै मुलुकका संरक्षित वन्यजन्तुलाई ओहोर–दोहोरमा सहयोग पुर्‍याउने उद्देश्यले करिब २ दशकअघि यस्तो अवधारणा अघि सारेको थियो । यस मार्गबाट हात्ती, गैंडा र बाघ ओहोरदोहोर गर्छन् ।


नाली निर्माण गरिएपछि वन्यजन्तुलाई सीमा आरपार गर्न समस्या भएको संरक्षणकर्मीले बताए । भारतीय वन सुरक्षाकर्मीले एकतर्फी रूपमा ट्रेन्च खनेका हुन् । सशस्त्र प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले दशगजा क्षेत्रबाट करिब २ मिटर भित्र आफ्ना भूमिमा खाडल खनेको बताए । स्थानीय प्रशासनले करिब ३ साताअघि खाडल निर्माण रोक्नका लागि कतरनियाघाट वन्यजन्तु संरक्षण क्षेत्रका संरक्षण अधिकृत (डीएफओ) सँग छलफल गरेको थियो ।


प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बहराइचका डीएफओले खाडल खन्ने काम रोक्ने आश्वासन दिएको जनाए । भारतीय वन कर्मचारीले आफ्नो क्षेत्रका वन्यजन्तुको सुरक्षाका लागि खाडल खनेको दाबी गर्दै आएका छन् । नालीका कारण जिल्लाका सीमावर्ती गाउँ डुबानमा पर्ने गरेका छन् ।


चोरी निकासी, पैठारी रोक्ने नाममा भारतीय वन सुरक्षाकर्मीले अन्तर्राष्ट्रिय सीमाको मापदण्डविपरीत दशगजासँग जोडिएको सीमावर्ती क्षेत्रमा एकतर्फीरूपमा खाडल खन्दै बाँध बनाएका छन् । गत वर्ष सानो खाडल खनिएको थियो । अहिले अधिकांश ठाउँमा गहिरो खाडल र अग्लो बाँध बनाएका छन् ।

प्रकाशित : चैत्र १०, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?