कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

‘प्रदेशले मदरसा बोर्ड गठन गर्छ’

'सलमान समुदाय आफैं पनि छोराछोरीलाई शिक्षा दिन चाहदैनन्, जुन गलत हो, अब जागरुक भई छोराछोरीलाई अनिवार्य शिक्षा दिऔं’
अवधेशकुमार झा

राजविराज — प्रदेश नम्बर २ का मुख्यमन्त्री मो. लालबावु राउतले शिक्षाबिना मानव पशुतुल्य हुने बताएका छन् । शिक्षाबिना कोही पनि योग्य नागरिक बन्न नसक्ने बताउँदै मुख्यमन्त्री राउतले समाज परिवर्तन र रूपान्तरणका लागि शिक्षामा जोड दिन सबैलाई आग्रह गरे ।

‘प्रदेशले मदरसा बोर्ड गठन गर्छ’

सप्तरीको हनुमाननगरमा शनिबार आयोजित एक दिने जलसाए ताजदारे मदिना इस्लाहे मोआसरा कार्यक्रमको उद्घाटन गर्दै उनले मुस्लिम समुदाय शिक्षामा निक्कै पछाडि रहेको बताए । ‘प्रदेश नम्बर २ मा १२ प्रतिशत मुसलमान छन् तर शिक्षामा निक्कै पछाडि छन्,’ मुख्यमन्त्री राउतले भने, ‘मुसलमान समुदाय आफैं पनि छोराछोरीलाई शिक्षा दिन चाहदैनन्, जुन गलत हो,अब जागरुक भई छोराछोरीलाई अनिवार्य शिक्षा दिऔं ।’


‘छोरा होस् वा छोरी बिनाभेदभाव शिक्षा दिऔं’ उनले भने, ‘शिक्षामा जोड नदिएसम्म कुनै पनि समुदायको अवस्था सुध्रन सक्दैन ।’ ‘पढ्ने बेलामा छोराछोरीलाई गाईभैंसी चराउन वा सिलाइको काम गर्न पठाउँछौं’ मुख्यमन्त्री राउतले भने, ‘त्यसरी कहाँ छोराछोरी योग्य नागरिक बन्न सक्छन् ?’


छोरीको शिक्षा अझै महत्त्वपूर्ण भइसकेको बताउँदै उनले प्रदेश सरकारले छोरीको शिक्षालाई प्रभावकारी रूपमा बढाउनैका लागि बेटी बचाउ बेटी पढाउ कार्यक्रम ल्याएको बताए । प्रदेश सरकारले चाडै मदरसा शिक्षा बोर्ड गठन गर्न लागेको जानकारी दिँदै मुख्यमन्त्री राउतले बोर्ड गठन भइसकेपछि मदरसामा पनि आधुनिक शिक्षा पढाइको थालनी हुने तथा मदरसाबाट पढेका विद्यार्थी पनि उच्च शिक्षा पढ्न सक्ने बताए । प्रदेश सरकारले दलित सशक्तीकरण ऐन ल्याउन लागेको बताउँदै उनले उक्त ऐन आइसकेपछि दलितलाई उच्च शिक्षा अध्ययन गर्न प्रदेश सरकारले सहयोग गर्नुका साथै जनसंख्याका हिसाबले राज्यका निकायमा दलितको प्रतिनिधित्वको सुनिश्चतता गरिने बताए ।


प्रदेश नम्बर २ मा लगानी गर्न र उद्योग स्थापना गर्नेलाई प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दे मुख्यमन्त्री राउतले प्रदेश भित्र उद्योग स्थापना गर्नेलाई २० वर्ष सम्म प्रदेश सरकारले कुनै किसिमको कर नलिने बताए । भूमि व्यवस्था विधयेक पनि ल्याउन लागिएको बताउँदै उनले उक्त विधयेक पास भइसकेपछि प्रदेशभित्रका सार्वजनिक,गुठी लगायतका ऐलानी,सरकारी जग्गा यकिन गरी उद्योग खोल्न सरकारले जग्गा उपलब्ध गराउने बताए ।


उद्योग क्षेत्रलाई प्रदेश सरकारले स्पेशल जोनको रूपमा घोषणा गरी स्पेशल सुरक्षा बल गठन गरे सुरक्षा प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउदै मुख्यमन्त्री राउतले उद्योग स्थापना गर्न चाहनेलाई ३ घण्टा भित्रै सबै कार्य पूरा हुने गरी उद्योग दर्ताको प्रक्रिया मिलाइएको जानकारी दिए ।


प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवलकिसोर साहले बेटी बचाउ बेटी पढाउ कार्यक्रम प्रभाकारी रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल,मुस्लिम फोरमका अध्यक्ष मौलाना नुरुल होदा,युसुफ अली लगायतका बक्ताले मुस्लिम समुदायभित्रका विकृतिलाई अन्त गरी शिक्षामा जोड दिन आग्रह गरे ।

प्रकाशित : चैत्र १०, २०७५ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?