कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

महिलाले चलाउँदै घरबास

पर्यटकलाई अर्गानिक खाना र सिस्नो प्रयोग गरिएको मौलिक मदिरा

धरान — पर्यटन प्रवर्द्धनका लागि विष्णुपादुका क्षेक्रमा सामुदायिक होमस्टे (घरबास) सुरु गरिएको छ । कोकाहा कृषि सामुदायिक होमस्टेको शुत्रबार औपचारिक सुरुवात गरिएको हो ।

महिलाले चलाउँदै घरबास

धरान उपमहानगरकी कार्यवाहक मेयर मन्जु भण्डारी सुवेदीले होमस्टे उद्घाटन गरिन् । स्थानीय महिलाको सामूहिक प्रयासमा सुरु भएको होमस्टेलाई नमुना बनाइने भएको छ । धरान बजारबाट १० किलोमिटर उत्तर पहाडी क्षेत्रमा रहेको कोकाहा होमस्टे पुग्न ग्राभेल बाटो हुँदै जान सकिन्छ ।


हाल ९ वटा घरले होमस्टे सेवा प्रदान गरेका छन् । प्राकृतिक सुन्दरता, तराईका फाँटहरू दृश्यावलोकन गर्न सकिने, चिसो हावापानीको आनन्द लिन यो स्थान उपयुक्त मानिन्छ ।


मौलिक परम्परागत नेपाली घर, ढकमक्क फुलेका फूल र शान्त वातावरण यो क्षेत्रको विशेषता हो । यहाँ तामाङ समुदायको बढी बसोबास रहेकाले तामाङ संस्कार संस्कृति नजिकबाट नियाल्न सकिन्छ । कार्यवाहक मेयर भण्डारीले विष्णुपादुका क्षेत्र प्राकृतिक सुन्दरतासँगै धार्मिक महत्त्व बोकेको ठाउँ भएकाले धेरै पर्यटक भित्र्याउन सकिने बताइन् ।


बिष्णुपादुका क्षेत्र पर्यटनको प्रशस्त सम्भावना रहेको बताउँदै उनले भनिन्, ‘यस क्षेत्रको विकासमा विशेष ध्यान दिएका छौं । आगामी वर्ष पर्यटन प्रवर्द्धन समितीले यो क्षेत्रको पर्यटकीय विकासका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पार्नेछ ।’ होमस्टे तथा विष्णुपादुका मन्दिर पुग्न बाटोको मुख्य समस्या रहदै आएकाले बाटोको स्तरोन्नति गर्ने उनले बताइन् ।


धरान पर्यटन विकास समितिका सहसंयोजक किशोर थुलुङले मौलिक परम्परा, संस्कृति बुझ्नका लागि होमस्टेले सहयोग पुग्ने बताए । होमस्टे सञ्चालनबाट स्थानीयलाई फाइदा पुग्ने बताउँदै उनले भने, ‘होमस्टे सञ्चालन गरेर राम्रो मुनाफा आर्जन गर्न सकिने भएकाले पर्यटन समितिले होमस्टेलाई प्रोत्साहन गर्नेछ ।’


धरान उपमहानगरपालिकाका प्रवक्ता तथा वडा २० का अध्यक्ष मणिराम राईले प्राकृतिक, सांस्कृतिक, जैविक दृष्टिले महत्वपूर्ण भए पनि यो स्थानको पर्यटन प्रवर्द्धन हुन नसकेको बताए । उनले भने, ‘उच्च पहाडी क्षेत्रमा पाइने गुराँस, जडिबुटी, पानीको स्रोत यो वडामा छन् ।’ होमस्टे सञ्चालनबाट यो क्षेत्रमा पर्यटकीय गतिविधि बढ्ने र आर्थिक रूपमा समेत सक्षम हुन सहयोग पुग्ने उनले बताए ।


यो क्षेत्रको सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि विशेष कार्ययोजना बनाएर अघि बढ्ने उनले बताए । समितिका सल्लाहकार तथा वडा २० का सदस्य फुलमाया तामाङ र स्थानीय महिलाको प्रयासमा होमस्टे सञ्चालनमा आउन सफल भएको कोकाहा कृषि सामुदायिक होमस्टेकी सदस्य सरिता तामाङले बताइन् ।


उनी ६ जना पाहुना अटाउने तीन कोठा मर्मत गरी व्यवस्थित पार्न जुटेकी छन् । ‘होमस्टे सञ्चालनका लागि उत्साहित छौं, उनले भनिन्, ‘घरको काम गर्दै होमस्टे चलाउन सक्दा फाइदा हुने रहेछ ।’ कृषि पेसामा मात्र सीमित नभएर पर्यटन प्रवर्द्धनमा समेत काम गर्ने मौका मिलेको उनको भनाइ छ ।


समितिका सल्लाहकार तथा वडा २० की सदस्य फुलमाया तामाङका अनुसार धनकुटाको नाम्जेमा होमस्टे सञ्चालन गरेको देखेर यो ठाउँमा पति प्रयास गरिएको हो । महिलाहरू घरको कामसँगै आयआर्जनमा समेत अघि बढ्नुपर्छ भन्ने सोचका साथ होमस्टेको योजना बनाएको उनले सुनाइन्। होमस्टे सञ्चालनबारे जानकारी लिन पर्यटकीय क्षेत्र इलामको सन्दकपुर र धनकुटाको नाम्जेको अवलोकन भ्रमण गरेको उनले बताइन् ।


कोकाहा कृषि सामुदायिक होमस्टेकी अध्यक्ष जुनुमति तामाङले ९ घरमा होमस्टे सञ्चालनमा आएको बताइन् । तत्काललाई ३५ जना पर्यटक अटाउन सक्ने क्षमतो छ । विस्तार गर्दै सयभन्दा बढी पाहुनालाई राख्न सकिने योजना रहेको उनको भनाइ छ ।


गाउँमा पर्यटन प्रवर्द्धन गरी स्थानीयको आर्थिक विकासमा टेवा पुर्‍याउन होमस्टे सञ्चालन गरिएको उनले बताइन् । .होमस्टे सञ्चालनसँंगै मौलिक संस्कृति संरक्षण गर्न सकिने उनको बुझाइ छ । धरान उपमहानगरफालिकाले होमस्टे संचालन लागि बिहीबार र शुक्रबार कार्यत्रमको आयोजना गरेको थियो । पर्यटन समितिकी सदस्य एलिना मगरका अनुसार धरान ४ को बसन्तटार, पत्रङबारी, हर्दिया, सिरिगाउँ, सेर्गे, देवीथान र धरान २० को माछामारा, चिन्डेडाँडा र कोकाहा कृषि समुदायका स्थानीयहरू होमस्टे सञ्चालनका लागि तयार भएका हुन् ।


कोकाहा होमस्टेमा खाना र कोठाको शुल्क एकै निर्धारण गरिएको समेत उनले बताइन् । सादा खानाको १ सय ५० रुपैयाँ, लोकल कुखुराको मासुसहित खाना २ सय ५० रुपैयाँ र बास बसेको प्रतिव्यक्ति १ सय ५० रुपैयाँ तोकिएको छ । यहाँ अर्गानिक सागसब्जी, सिस्नो, ढिँडो, मकैको भात, फापरको रोटी, मकै भटमास, गुन्द्रुकको अचार, खयर र सिस्नो प्रयोग गरी बनाइएको मौलिक मदिरा जस्ता खानेकुरा पाइन्छ । यस क्षेत्रमा पौराणिक महत्त्वको विष्णुपादुका मन्दिर, चिउरीडाँडा, सुलिकोट स्तुपा छन् ।


सुम्निमा चाम्लिङ (प्रशिक्षार्थी)

प्रकाशित : चैत्र १०, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?