कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मेडिकल कलेजहरुमा संसदीय उपसमितिले छानबिन गर्ने

सुदीप कैनी

काठमाडौँ — संसदको शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजहरुको अध्ययन गर्न उपसमितिले गठन गर्ने निर्णय गरेको छ । विद्यार्थीसँग बढी शुल्क लिएर अनियमितता गर्ने मेडिकल कलेजहरुमाथि संसदीय उपसमितिले छानबिन गर्ने सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

मेडिकल कलेजहरुमा संसदीय उपसमितिले छानबिन गर्ने

समितिको आइतबारको बैठकमा मेडिकल कलेजहरुका बेथितिहरु बारे छलफल भएको थियो । छलफलका क्रममा सांसदहरुले उपसमिति गठन गरेर अध्ययन गर्न आवश्यक रहेको औंल्याएका थिए । सांसदहरुले सभापति घर्तीलाई अध्ययन उपसमिति गठन गरेर छानबिनमा पठाउने जिम्मेवारी दिएका हुन् ।

सांसदहरु गगन थापा, खजराज अधिकारी, उमेश श्रेष्ठ, मनकुमारी जिसी, हितबहादुर तामाङ, र सन्तबहादुर थारुले मेडिकल कलेजहरु माथि छानबिन गर्न माग गरेका थिए । पोखराको गण्डकी, ललितपुरको किष्ट, भरतपुरको चितवन, भैरवाहाको युनिर्भसल र वीरगञ्जको नेसनल मेडिकल कलेजले विद्यार्थीबाट लाखौं बढी शुल्क लिएर ठगी गर्दै आएका छन् । सांसदहरुले संचारमाध्यममा सार्वजनिक नभएका मेडिकल कलेजहरुले पनि मनपरी शुल्क असुल्दै आएका जनाएका थिए ।

त्रिभुवन र काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिएका मेडिकल कलेजहरु माथि छानबिन गर्नुपर्ने उनीहरुको भनाइ छ । त्यस्तै समितिको बैठकले शिक्षा मन्त्रालयले गत ७ गते गरेको शुल्क फिर्ता गर्न गरेको सहमति कडाइका साथ लागु गर्न निर्देशन दिने निर्णय गरेको छ ।

मेडिकल कलेजहरुको समस्याको जवाफ दिन समितिले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई बोलाएको थियो । बिरामी परेर उपचारपछि आराम गरिराखेका मन्त्री पोखरेल बैठकमा उपस्थित भएनन् । शिक्षा सचिव खगराज बराल र सहसचिव हरिप्रसाद लम्सालले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

प्रकाशित : चैत्र १०, २०७५ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?