२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बीआरआईमा ८० मुलुक

औपचारिक उद्घाटन शुक्रबार हुने भए पनि सम्मेलन बिहीबार सुरू, विभिन्न १२ शीर्षकका फरक–फरक सत्रमा नेपालका मन्त्री, नेता तथा व्यवसायी सहभागी
लक्ष्मी लम्साल

बेइजिङ — चिनियाँ कूटनीतिको मियो मानिएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सहकार्य शिखर सम्मेलन शुक्रबार बेइजिङमा उद्घाटन गरिँदै छ । नयाँ चीन स्थापनाको ७० औं वार्षिकोत्सवको मेसोमा चीनले आयोजना गरेको यस सम्मेलनको नारा ‘बेल्ट एन्ड रोड सहकार्य : एक उज्ज्वल साझा भविष्यको खोजी’ चयन गरिएको छ ।

बीआरआईमा ८० मुलुक

बर्सेनि आयोजना हुने चीनका दुई ठूला राजनीतिक अधिवेशनपछि चीनले आयोजना गरेको यो सबैभन्दा ठूलो कूटनीतिक गतिविधि हो । १५० देशबाट ५ हजार प्रतिनिधि तथा ९० वटा विदेशी संगठन यस सम्मेलनमा सहभागी भएका छन् । शिखर सम्मेलनमा कतिपय मुलुकको पहिलो सहभागिताले रौनक थपेको छ ।


राष्ट्रपति भण्डारीले सम्बोधन गर्दै

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारीले राजकीय भ्रमणका साथै बेइजिङमा बीआरआईको शिखर सम्मेलनमा भाग लिँदै छिन् । पल्लो सान्सी प्रान्तको राजधानी सिआनमा बुधबार उत्रिएकी उनी बिहीबार बेलुका साढे ७ बजे बेइजिङ पुगेकी हुन् ।


बेइजिङमा उनलाई चिनियाँ उपमन्त्री खोङ सुआनयौले स्वागत गरेको बेइजिङस्थित नेपाली दूतावासका मिनिस्टर सुशील लम्सालले जानकारी दिए । राष्ट्रपति भण्डारीले शुक्रबार र शनिबार बीआरआईअन्तर्गतका सत्रमा भाग लिँदै सम्बोधन गर्ने कार्यक्रम छ । चिनियाँ राष्ट्रपति सीले गर्ने गोलमेच बैठकलाई पनि उनले सम्बोधन गर्ने तालिका छ ।


सिआनमा राष्ट्रपतिको घुमघाम

राष्ट्रपति भण्डारीले बिहीबार सिआनस्थित ‘ता यान था’ र टेराकोट्टा वारियर्सको भ्रमण गरेकी छन् । यसअघि उनलाई विमानस्थलमा उपगभर्नर हु मिङलानले स्वागत गरेका थिए । उनलाई दिइएको दिवा भोजका क्रममा नेपालको राष्ट्रिय गानदेखि लोकगीतहरू घन्काइएको सिआन साउथ एसिया स्टडिज सेन्टरका निर्देशक राजीव झाले जानकारी दिए । ‘रेशम फिरिरी, टुंगनाको धुनमा र एउटा नेपाली धुन बजाइएको थियो,’ उनले भने, ‘नेपाली लोकप्रिय गीतहरू सुनेर चिनियाँहरू दंग परे, नेपालीहरू भावुक भए ।’


थिमेटिक छलफल

औपचारिक उद्घाटन शुक्रबार हुने भए पनि बीआरआई शिखर सम्मेलन बिहीबार सुरु भएको छ । बिहीबार विभिन्न १२ शीर्षकका फरक–फरक सत्रमा नेपाली व्यवसायीहरू पनि उपस्थित भएका थिए ।


बिहीबारका स्वच्छ सिल्करोड मञ्च, डिजिटल सिल्करोड मञ्च, हरित मार्ग, नवाचार मार्ग, स्थानीय सहकार्य, समुद्रपार अर्थ तथा व्यापार सहकार्यलगायतका विषयगत सत्र महत्त्वपूर्ण मानिएका छन् । यसबाट कूटनीतिक सम्पर्क, सहजीकरण, कनेक्टिभिटी, सहज व्यापारिक वातावरण सिर्जनामा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।


पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनता–जनताबीच सम्पर्क विषयक सत्रमा भाग लिए । ‘छलफल निकै फलदायी भयो,’ नेपालले भने, ‘बीआरआई आफैंमा दूरगामी महत्त्वको परियोजना भएकाले यसबाट नेपालले धेरै फाइदा लिन सक्ने ठाउँहरू छन् ।’ विषयगत सत्रमा नेपालबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापालगायत पनि सहभागी भए ।


बिहीबारका विषयगत सत्रमा ८० भन्दा बढी मुलुकबाट साढे ८ सय प्रतिनिधिहरू सहभागी भएका छन् । उनीहरूले बीआरआईले साना तथा मझौला उद्योगको विकासमा पनि ध्यान दिनुपर्नेमा जोड दिएका छन् । सीईओ कन्फरेन्सअन्तर्गतको सत्रमा नेपालको निजी क्षेत्रबाट सहभागी भएका एसएस इन्टरनेसनलका अध्यक्ष शोभित उप्रेतीले सरकार–सरकार सम्पर्क भनिएजस्तै व्यापारिक समूहबीच पनि सम्पर्क हुन सके लगानी तथा अवसरको दायरा फराकिलो हुने बताए ।


बेल्ट एन्ड रोड इनिसिएटिभमा हस्ताक्षर नगरे पनि थिमेटिक सम्मेलनमा सहभागी भएका भारतीय सिल्करोड व्यापार विकास कम्पनीका प्रमुख कार्यकारी मन्सुर नादिम लारीले बीआरआई उद्यमी सम्मेलनबाट अधिकाधिक व्यापारिक एजेन्डा स्थापित हुँदै थप अवसरको ढोका खुल्ने बताए । यस्ता सत्रहरूमा सहभागी भएका अधिकांश नेपाली व्यवसायीले चाहिँ पर्यटनमा जोड दिएका थिए ।


उद्यमी सम्मेलन यसपटक पहिलोचोटि ल्याइएको अवधारणा हो । यसबाट व्यापारिक समुदायबीच प्रत्यक्ष सम्पर्क स्थापित हुनेछ । त्यसकारण विश्वका सरकारी तथा निजी व्यापारिक घरानाहरू यस्ता सत्रमा सहभागी भए । सन् २०१७ को मेमा प्रथम सम्मेलन बेइजिङमै भएको थियो ।


चीनले बीआरआईको मार्गचित्रमा उच्च गुणस्तरीय निर्माणको अवधि अघि सारेको दाबी गर्दै आएको छ । सन् २०१३ मा चीनका राष्ट्रपति सीले यो अवधारणा ल्याएपछि यसका साझेदारको संख्या बढ्नुका साथै चीनप्रति विश्वको ध्यान पनि एकोहोरिएको छ ।

प्रकाशित : वैशाख १३, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?