कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

'डी प्लस’ को रजिस्ट्रेसन नरोक्नू : सर्वोच्च

लेखनाथ — ‘डी प्लस’ ग्रेड प्राप्त विद्यार्थीको रजिस्ट्रेसन स्वीकृत गर्न सर्वोच्च अदालतले पोखरा विश्वविद्यालयको नाममा आदेश जारी गरेको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले वैशाख १६ देखि हुने परीक्षामा विद्यार्थीलाई सहभागी गराउन बिहीबार अन्तरिम आदेश दिएको हो । 

'डी प्लस’ को रजिस्ट्रेसन नरोक्नू : सर्वोच्च

मन्दिप खड्कासहितका विद्यार्थीले ‘डी प्लस’ विद्यार्थीलाई परीक्षामा सहभागी गराउन आदेश जारीको माग गर्दै मंगलबार रिट दायर गरेका थिए । विश्वविद्यालयले रजिस्ट्रेसन शुल्कसमेत लिइसकेको अवस्थामा परीक्षामा सामेल हुन पाउनुपर्ने उनीहरूको माग थियो ।


रिट निवेदनको अन्तिम टुंगो लागेको बखत सोहीबमोजिम हुने गरी हाल रजिस्ट्रेसन अस्थायी रूपमा स्वीकृत गरी प्रोभिजनल रूपमा फारम भर्न दिन सर्वोच्चको आदेश छ । विद्यार्थीले रजिस्ट्रेसन शुल्क बुझाइसकेको, क्रिविका समान कार्यत्रममा उक्त योग्यताले काम गरेको, शैक्षिक सत्रमा भर्ना भई नियमित अध्ययनरत रहेकाले परीक्षाबाट वञ्चित गर्दा अपूरणीय क्षति पुग्न जाने आदेशमा उल्लेख छ । विश्वविद्यालयका सम्बन्धनप्राप्त कलेजले भर्ना लिएका सम्बन्धमा कानुनबमोजिम भए–नभएको विषय अन्तिम सुनुवाइ हुँदा विचार हुने आदेशमा जनाइएको छ ।


गत वर्ष जेठ १८ मा बसेको विश्वविद्यालय प्राज्ञिक परिषद्को ६८ औं बैठकले स्नातक तहमा भर्ना हुन पाउने योग्यतासम्बन्धी सूचना जारी गरेको थियो । सूचनामा व्यवस्थापन संकायमा भर्ना हुन कक्षा ११ र १२ मा न्युनतम ग्रेड ‘सी’ ल्याउनुपर्ने उल्लेख थियो ।


अक्षरांश पद्धतिअनुसार प्रत्येक विषयमा ग्रेड ‘सी’ नै ल्याउनुपर्ने व्याख्या गर्दै विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पसमा विद्यार्थी भर्ना गर्‍यो । सम्बन्धनप्राप्त कलेजले भने समग्रमा ‘सी’ ग्रेड ल्याएका विद्यार्थी भर्ना गरे । विश्वविद्यालयबाट सम्बन्धनप्राप्त ४२ मध्ये ३८ कलेजमा ३ सय ४४ मापदण्डविपरीतका विद्यार्थी भर्ना भए ।


विश्वविद्यालयको प्राज्ञिक परिषद् र कार्यकारी परिषद्ले व्यवस्थापन संकायको स्नातक तहमा भर्ना हुन आवश्यक योग्यता नपुगेका विद्यार्थीको रजिस्ट्रेसन रोक्ने निर्णय वैशाख ७ मा गरेको थियो । विश्वविद्यालयले अर्को दिन सूचना प्रकाशित गरी उक्त निर्णयबारे जानकारी गरायो । वैशाख ९ मा परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहको परीक्षाको रुटिन सार्वजनिक गर्‍यो । यो सँगै चौथोपल्ट रुटिन सार्वजनिक भएको हो ।

प्रकाशित : वैशाख १३, २०७६ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?