कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

उत्तिकै सम्भावना मानविकीमा पनि

साधना प्रतीक्षा

काठमाडौँ — हालै एसईई दिएकी एक छात्रालाई प्रसंगवश मैले ‘अब के पढ्ने विचार छ त ?’ भनी सोध्दा अनकनाउँदै जवाफ आयो, ‘मैले भनेर कहाँ हुन्छ र ? मलाई त...।’ सँगै रहेकी उनकी आमा बीचैमा बोलिन्, ‘हो त, यसले भनेर कहाँ हुन्छ ! हामीले नै विचार गर्नुपर्छ । पहिला रिजल्ट त आओस् !’

उनीहरू गएपछि पनि ती नानीको निर्दोष अनुहार र त्यसभिक्र गुम्सिएको अव्यत्त चाहनाले मलाई चिमोटिरह्यो । आफ्नो रुचिको विषय पढ्न नपाएर मिल्ने साथीसँग मनको बह बिसाउँदै हिँंडिरहेका छात्रछात्रा पनि मेरो सम्झनामा आए ।


पढ्नेलाई मन लागोस्–नलागोस्, रुचि होओस् कि नहोओस् पढिदिनुपर्ने बाध्यताका कारण पढाइमा कमजोर भएका, मौका छोपेर कक्षाबाट भाग्ने गरेका, अझ कालान्तरमा नराम्रो संगतमा परेर भविष्य बिगारिरहेका कतिपय किशोर–किशोरी पनि घुमे मेरा आँखाअघि ।


छोराछोरीलाई उनीहरूको रुचि र क्षमता अनुसारको विषय पढ्न दिनुपर्छ भनेर तिनलाई सम्झाउनु जति कठिन थियो, त्यति नै कठिन मानविकी संकायभित्र पनि असंख्य विषय हुन्छन् र ती विषय पढेकाहरूले पनि सहज रूपमा जीविकोपार्जन गर्नुका साथै समाज र राष्ट्रका लागि प्राविधिक विषय पढ्नेले जत्तिकै योगदान गर्न सक्छन् भनेर बुझाउनु पनि थियो ।


एउटा प्रतिष्ठित निजी कलेजमा स्नातक तहका छात्र पढाइमा अत्यन्त कमजोर थिए । उनी प्रायः कलेज आउँदैनथे र आइहाले पनि पढाइमा ध्यानै दिँदैनथे । हरेक वर्ष उनको नतिजा बिग्रेकै हुन्थ्यो । सम्पन्न र शिक्षित बाबुआमाका छोराको यस्तो तालबाट कलेज प्रशासन हैरान थियो । त्यसमाथि अभिभावक आएर बारम्बार गुनासो गर्थे । ती छात्रलाई मनोपरामर्शका माध्यमले सम्झाउने प्रयास गरियो ।


उनीसँग बढी घुलमिल भएका एक शिक्षकलाई केही समय अझै मित्रवत् बन्न भनियो । ती शिक्षकसँग ती छात्रले एक दिन भनेछन्, ‘मलाई पढाइबारे कसैले सम्झाउनु नै व्यर्थ छ । जति प्रयास गरे पनि मैले योभन्दा राम्रो गर्नै सक्दिनँ । म यहाँ आफ्नो रहरले होइन, बाबा–ममीको इच्छाले आ’को हुँ । त्यसैले आफ्नालागि होइन, उहाँहरूकै लागिमात्र पढिरा छु ।’ अन्तर्मुखी ती छात्र दर्शनशास्त्र पढ्नलाई मानविकी संकायमा भर्ना हुन खोजेका रहेछन्, तर परिवार व्यापार–व्यवसायमा संलग्न हुनाले व्यवस्थापन विषय पढ्न बल गरेछन् ।


आमा–बाबुको दबाब अनि परिवारको प्रतिष्ठा जोगाउन भन्दै प्राविधिक विषय पढ्न बाध्य पारिएका कतिपय छात्रछात्रा राम्रो नतिजा ल्याउन नसकेर डिप्रेसनसम्म पुगेका र कुलतमा फँसेका उदाहरण प्रशस्त छन् । विशेषतः मानविकी संकायमा पढ्न चाहनेहरूलाई अभिभावकले रोक लगाउने गरेका छन् । शिक्षा सम्बन्धी पुरातन मान्यता यसको प्रमुख कारण बनेको देखिन्छ ।


कुनै पनि विषय आफैमा कम वा बढी महत्त्वका हुँदैनन्, हासिल गर्ने निपुणताले तिनको महत्त्व निर्धारण गरेको हुन्छ । प्राविधिक विषयमा विद्यार्थीहरूलाई प्रयोगात्मक रूपमा निपुण र सक्षम बनाइने हुनाले रोजगारीका दृष्टिले तिनको महत्त्व बढी देखिएको हो ।


हामीकहाँ अहिले विज्ञान–प्रविधि पहिलो तथा व्यवस्थापन दोस्रो रोजाइमा देखिनुको कारण यही हो । यसो भन्दैमा बाँकी विषय–क्षेत्रहरू कामै नलाग्ने वा बेरोजगार उत्पादन गर्ने हुन् भन्ने पटक्कै सोच्नु हुन्न । विज्ञान–प्रविधिको दायरा सीमित हुन्छ, यसले मानिसलाई यान्त्रिक बनाउँदै लैजान्छ ।


व्यवस्थापन विषयले आर्थिक तथा व्यवस्थापकीय पक्षलाई मात्र समेटेको हुन्छ । मानविकी तथा सामाजिक शास्त्र संकायको दायरा भने असीमित हुन्छ । ज्ञान, चेतना, नवीन विचार तथा चिन्तनको प्रतिपादनदेखि समाज तथा मानव–जीवन सम्बन्धी अध्ययन, कला, भाषा–साहित्य, दर्शन, संस्कृति, पर्यटन, पत्रकारिता, प्रशासन, अर्थशास्त्र, राजनीतिशास्त्र आदिजस्ता असंख्य विषयहरू मानविकी अन्तर्गत पर्छन् । देशको राजनीतिक–कूटनीतिक, आर्थिक, प्रशासनिक आदि क्षेक्रमा यिनै विषयका जनशत्तिको आवश्यकता हुने गर्छ ।


हामीकहाँ उत्कृष्ट अंक ल्याउने विद्यार्थी तथा तिनका अभिभावकको पहिलो रोजाइ विज्ञान–प्रविधि हुनुपर्ने तथा मुस्किलले उत्तीर्ण भएकाले मात्र मानविकी पढ्ने भन्ने गलत मानसिकताले जरो गाडेको छ । फलस्वरूप राष्ट्रको नीति निर्माण तथा राजनीतिक नेतृत्वमा योग्य जनशक्तिको अभाव छ ।


त्यसैले हाम्रो सामाजिक, राजनीतिक, आर्थिक, प्रशासनिक आदि सबै क्षेत्रमा असंख्य विकृति–विसंगति देखिएका हुन् । अब उत्कृष्ट विद्यार्थीहरूले पनि मानविकी तथा सामाजिक शास्त्र संकायका विषयहरू पढ्ने वातावरण बनाइनुपर्छ ।


यो संकायले आफ्नो पाठ्यक्रम तथा शैक्षिक पद्धतिमा परिमार्जन गर्दै, यसभित्रका नयाँ–नयाँ सम्भावनाको खोजी एवं प्रचार–प्रसार गर्दै अब्बल दर्जाका विद्यार्थी र तिनका अभिभावकहरूलाई आकर्षित गर्न सक्ने हो भने यसप्रतिको वितृष्णा स्वतः हटेर जानेछ ।


राष्ट्रका कुन–कुन निकाय तथा क्षेक्रका लागि कस्तो जनशत्ति आवश्यक छ, कुन विषय पढेकालाई कुन क्षेत्रमा प्राथमिकता दिनु उपयुक्त हुन्छ, शैक्षिक क्षेत्रलाई कसरी व्यावहारिक बनाउने भन्ने सोच तथा इच्छाशक्तिभन्दा पनि पदलोलुपता र निजी स्वार्थमा अल्झेको नीतिनिर्माण तहका कारण शैक्षिक सुधार केवल नारामा सीमित बनेको हो । देशको शैक्षिक नेतृत्वले हरेक विषयको उपादेयता तथा त्यसभित्रका विविध सम्भाव्यताको खोजी गर्नुपर्छ ।


अभिभावक वर्गले पनि छोराछोरीको पढाइ तथा भविष्यलाई प्रतिष्ठाको विषय बनाउनेभन्दा उनीहरूलाई विषय चयनको स्वतन्त्रता दिएर आवश्यक मार्गदर्शन गरेमा विद्यार्थीहरू अनिच्छाले पनि पढिदिनुपर्ने बाध्यताबाट मुक्त भएर स्वःस्फूर्त रूपमा आफ्नो लक्ष्यतर्फ अग्रसर हुन सक्नेछन् ।

प्रकाशित : वैशाख १३, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?