२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

मेलम्ची पाइप फुटेर बाटो जलमग्न

काठमाडौँ — उपत्यकाका सडक तथा बाटामा उड्ने धूवाँधूलोको कारणले जनस्वास्थ्यमा समस्या देखिन थालेको छ । प्रदूषणबाट सर्वसाधारण आजित भइरहेका छन् ।

कालीमाटी टङेश्वर बाटो छेउमा बीस वर्षदेखि सिलाइ बुनाइ गर्दै आएकी ४७ वर्षीया उर्मिला थपलीलाई यो सहर निसास्सिने खालको लाग्न थालेको छ । भन्छिन्, ‘धूलोले गर्दा श्वास फेर्न पनि गाह्रो हुन्छ ।’


उनको छाला चिलाउने समस्या छ र श्वासप्रश्वाससम्बन्धी व्यथाले पनि गालेको छ । यो सबै धूलोधूवाँको कारण भएको उनी बताउँछिन् । बाटो छेउमा सिलाइ बुनाइ गरेर दैनिक गुजारा लाउँदै आएकी उनलाई डाक्टरले धूलोमा नबस्न भनेको छ । ‘आफ्नो काम यहीँ बसेर गर्नुपर्छ, नबसी कसरी चल्थ्यो ?’ उनी भन्छिन्, ‘बरु बाटो पक्की भए धूलो उड्न अलि कम हुन्थ्यो कि !’


शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ निरज सिहंका अनुसार धूलोका कारण रुघाखोकी र दमका बिरामी बढिरहेका छन् । ‘घामपानी पर्दा अन्य दिनभन्दा बढी धूलो उड्छ,’ उनले भने, ‘यसले गर्दा मानिसमा भाइरल इन्फेक्सन हुने सम्भावना पनि बढदै गएको छ ।’


धेरै धूलो उडेका बेला दम र रुघाखोकीका बिरामी अस्पतालमा धेरै आउने उनले बताए । उनका अनुसार अधिकांश मानिसमा छाती दुख्ने, श्वास फुल्लिने समस्या पहिलाभन्दा बढेको छ । गर्मी बढेसँगै निमोनिया, स्वाइन फ्लुजस्ता घातक रोग लाग्न सक्ने चिकित्सक बताउँछन् । धूलोबाट बच्न राम्रो खालका मास्क र भीडभाडबाट टाढा रहनुपर्ने डा. सिंहको सुझाव छ ।


मेलम्ची खानेपानी आयोजना र ढलको पाइप राख्नका लागि खनिएको सडकले बाटोमा धूलो उड्न थालेपछि उपत्यकामा वर्षौंदेखि उकुसमुकुस हुन थालेको हो ।


वडा नं. ७ चाबहिलमा मोबाइल र घडी पसल गर्दै आएका नारायण वाग्लेलाई पानी पर्दा हिलो हुने र घाम लाग्दा धूलो हुने समस्याले पिरोल्छ । मेलम्ची र ढलको पाइपले गर्दा बाटो बिग्रिएर आवतजावत गर्नसमेत समस्या भोगिरहेका उनले भने, ‘बाटोमा हिँडिसक्नु छैन ।’ बाटो कहिले बनिसक्ने र आनन्दले हिँड्ने होला भन्ने चिन्ता उनलाई सँधै छ ।


बौद्ध महाकालका ४६ वर्षीय लक्ष्मण मास्केको मनमा पनि यस्तै कुरा खेल्छन् । भन्छन्, ‘बाटो भत्काउने र बनाउने क्रम भइरहन्छ । अहिले सुन्दरीजल खानेपानीको पाइप फुटेर बाटो भिजेको छ नत्र धूलो उडेर सास फेर्न पनि गाह्रो हुन्छ ।’ बर्खाको समयमा त पूरै डुबाउ नै हुने उनले बताए ।


मेलम्चीे खानेपानीको पाइप समयमा बिछ्याउन नसकेकाले धूलोको सास्ती खेप्नुपरिरहेको छ उपत्यकाबासीले । विभिन्न बहानामा सडक भत्काउने तर भत्काइएका संरचना समयमै नबनाउने क्रम चलिरहँदा धूलोले प्रदूषणकै रूप लिएको हो ।


स्थानीय तथा यात्रुहरुले समस्या भोग्दै आए पनि सरोकारवाला निकाय भने एकअर्कालाई जिम्मेवारी पन्छाउँछन् । सडक विस्तार आयोजनाका सुपरभाइजर प्रमोद तिवारीले धूलो नियन्त्रण गर्ने काम महानगरको भएको बताए ।

उनले भने, ‘हाम्रो काम सडकको सीमा छुट्याउने मात्र हो । बाटोको धूलो नियन्त्रण गर्ने काम वडा र महानगरको हो ।’ ढल र मेलम्ची खानेपानीको पाइप बिछ्याउने काम छिट्टै सकिए, सडकमा फुटपाथ व्यवस्थापन लगायतका काम पनि वैशाखभित्रै सकिने तिवारीले बताए ।


नुमा थाम्सुहाङ (प्रशिक्षार्थी)

प्रकाशित : वैशाख १३, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?