कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बीआरआई सम्मेलनमा राष्ट्रपति भण्डारीले गरिन् नेपालीमै सम्बोधन- 'बीआरआई कनेक्टिभिटीका लागि महत्वपूर्ण ढाँचा'

'भूपरिवेष्टित मुलुकका लागि सामाजिक तथा आर्थिक विकासमा कनेक्टिभिटीको ठूलो महत्व'
लक्ष्मी लम्साल

बेइजिङ — बेइजिङमा चलिरहेको दोश्रो बेल्ट एण्ड रोड बीआरआई, अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गरेकी छन्। विभिन्न ३७ वटा मुलुकका सरकार प्रमुखहरू, संयुक्त राष्ट्र संघका महासचिव र अन्तर्राष्ट्रिय मुद्रा कोषका महानिर्देशक गरी लगभग पाँच हजार विदेशी प्रतिनिधिहरूमाझ राष्ट्रपति भण्डारीले नेपाली भाषामै सम्बोधन गरेकी हुन्।

बीआरआई सम्मेलनमा राष्ट्रपति भण्डारीले गरिन् नेपालीमै सम्बोधन- 'बीआरआई कनेक्टिभिटीका लागि महत्वपूर्ण ढाँचा'

विश्वको सर्वोच्च शिखर सगरमाथा र बुद्धको जन्मभूमि नेपाल र नेपाली जनताको तर्फबाट न्यानो अभिवादन तथा शुभेच्छा प्रकट गर्दछु, भन्ने वाक्यबाट राष्ट्रपति भण्डारीले सम्बोधन सुरू गरेकी थिइन् । उनले न्यानो आतिथ्यताका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङलाई धन्यवाद दिँदै, नयाँ चीन स्थापनाको ७०औं वार्षिकोत्सवका उपलक्ष्यमा बधाइ ज्ञापन गरेकी थिइन् ।


नेपालजस्तो भूपरिवेष्टित मुलुकका लागि सामाजिक तथा आर्थिक विकासमा कनेक्टिभिटीको ठूलो महत्व रहेको बताउँदै राष्ट्रपति भण्डारीले बढ्दो कनेक्टिभिटीका कारण व्यापार, लगानी, पर्यटन तथा जनस्तरीय सम्बन्धबीच व्यापक अवसर खुल्ने विश्वास व्यक्त गरिन्।


हिमालय सीमापार बहुआयामिक संजालका साथै नेपाल-चीन सीमापार रेल्वे विकासबाट नेपाल र चीन मात्रै नभएर यस क्षेत्रका अन्य मुलुकहरूबीच कनेक्टिभिटीको लाभ मिल्ने बताउँदै उनले भनिन्, ‘लामो समयको राजनीतिक उतारचढाव पश्चात् नेपाल पनि राजनीतिक स्थिरतामा गएको छ। हाम्रो अबको उद्देश्य जनजीवनमा देखिने खालको परिवर्तन ल्याउनु हो।’


नेपालको राष्ट्रिय आकांक्षा पनि ‘समृद्ध नेपाल, खुशी नेपाली’को अवधारणाबाट निर्देशित भएको बताउँदै भण्डारीले सन् २०३० को सहश्राब्दी विकास लक्ष्य प्राप्तिका लागि नेपालले पनि मध्यम आय भएको मुलुक बन्ने अठोट गरेको बताइन्। उनले भनिन्,'हाम्रो तत्कालीन लक्ष्य भनेको अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुनु हो।'


दुई पक्षीय तथा बहुपक्षीय सहयोग र छिमेकीहरूको समर्थनमा विकास साझेदारसहित अन्य मित्रराष्ट्रहरूसँग मिलेर आफ्नो देशको विकास चुनौती सामना गर्न नेपाल इच्छुक रहेको छ।


बीआरआईले साझा मानवजातिको भाग्य समुदायको बनाउन चिनियाँ राष्ट्रपति सीको दूरदर्शी दृष्टिको प्रशंसा गर्दै उनले सहयोग तथा कनेक्टिभिटीका लागि यो महत्वपूर्ण ढाँचा भएको बताइन्।


बीआरआईको दोश्रो शिखर मञ्चको उद्घाटन सत्रमा राष्ट्रपति सीसँगै विभिन्न देशका राष्ट्रप्रमुखहरूले पनि सम्बोधन गरेका छन्।

प्रकाशित : वैशाख १३, २०७६ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?