कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कलाकारको आवरणमा मानव तस्करी गर्ने सुर्दशन गौतम विरुद्ध रेडकर्नर नोटिस जारी

जनकराज सापकोटा

काठमाडौँ — कलाकारको आवरणमा अमेरिका र क्यानडा लैजाने भन्दै संगठित मानव तस्करीको गिरोह चलाइरहेका सुर्दशन गौतम विरुद्ध प्रहरीको अन्तराष्ट्रिय संगठनले रेड कर्नर नोटिस जारी गरेको छ । हिम्मतवाला नामक फिल्ममा अभिनय गरेर र सगरमाथा समेत आरोहण गरेका दुवै हात नभएका गौतम क्यानडामा बस्दै आएका छन् ।

कलाकारको आवरणमा मानव तस्करी गर्ने सुर्दशन गौतम विरुद्ध रेडकर्नर नोटिस जारी

गौतमले संगठित रुपमा मानव तस्करीको धन्दा चलाएको र सयौं नेपालीबाट करोडौं रुपैयाँ असुलेर अलपत्र पारेको भन्दै महानगरिय प्रहरी अपराध महाशाखाले पछिल्लो एक वर्षयता अनुसन्धान गर्दै आएको थियो । २०७५ साउन ३ मा काठमाडौं जिल्ला अदालतले गौतम विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । लगत्तै साउन २३ मा महाशाखाले उनी विरुद्ध रेडकर्नर नोटिस जारी गराउने प्रक्रिया थालेको थियो ।


सुर्दशनकै पहलमा २०७४ जेठमा भारतको दिल्ली हुँदै अमेरिका जान भनेर हिँडेका तीन महिलामध्ये दुईजना ६० लाख रुपैयाँ गुमाएर, महिनौंको हैरानीपछि नेपाल फर्केपछि गौतमको मानव तस्करी धन्दा बाहिर आएको हो ।


सुर्दशनकै योजना मुताविक हैटीमा रहेको हैटी फिल्म कम्पनी र नेपालको केपी फिल्मसले संयुक्त रुपमा 'संस्कार' नामक फिल्म बनाउने भन्दै भक्तपुरकी सुमित्रा कुँवर सहितका तीन महिलालाई हैटी पुर्‍याएका थिए ।


२३ जनवरी २०१७ मा हैटी फिल्मसले सुमित्रा लगायतका तीनै जनाको निम्ती आमन्त्रण पत्र पठाएको थियो । उक्त पत्रमा कम्पनीका निर्देशक र प्रोडक्सन म्यानेजरको हैसियतमा चार्ल्स ईलेस्टोले हस्ताक्षर गरेका छन् भने फिल्म छायांकनका निम्ती पाँच नेपाली कलाकार हैटी बोलाइएको तथ्य उल्लेख छ । यही पत्रको भरमा तीन महिला दिल्लीबाट मस्को, कोलम्बियाको राजधानी बोगटा हुदै डोमिनिका र त्यहांबाट हैटीको पोर्ट औं प्रिन्स पुगेका थिए ।


त्यतिबेला अमेरिका हिडेका उनीहरुलाई सुर्दशनले हैटीको राजधानी पोर्ट औं प्रिन्समा लगेर महिनौंसम्म राखेका थिए । पोर्ट औं प्रिन्सबाट अमेरिका छिने भन्दै अवैध पानीजहाजमा हिडेका तीन नेपाली महिला सहितको जहाजको दिशासूचक यन्त्र बिग्रिएपछि १८ दिनसम्म जहाज समुन्द्रमा हराएको थियो । सामुन्द्रिक सुरक्षामा खटिएका बहामास नामक टापु देशका सैन्य अधिकारीहरुले जहाजको उद्धार गर्दा यात्रारत कुँवरको मृत्यु भइसकेको जानकारी बाहिर आएको थियो । मानव तस्करका एजेन्टले जहाज हराएपछि पानी र खानाको अभाव भएको र समुन्द्रको पानी धेरै खाएपछि सुमित्राको मृत्यु भएको र शव गन्हाउने भएकाले समुन्द्रमा फ्याँकिदिएको बताएका थिए ।


नेपाल प्रहरीको इन्टरपोल शाखाका एक प्रहरीले झण्डै आठ महिना लामो प्रयास पछि गौतम विरुद्ध रेडकर्नर नोटिस जारी गर्न सफल भएको बताए ।


यो पनि पढ्नुहोस्ः

कलाकारिताको आवरणमा मानव तस्करी

सुर्दशन गौतम विरुद्ध रेडकर्नर नोटिस जारी गर्न नेपाल प्रहरीसँग इन्टरपोलले माग्यो थप कागजात

‘पानी–पानी’ भन्दै समुद्रमै बिलाइन् सुमित्रा



प्रकाशित : वैशाख १३, २०७६ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?