१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नयाँ मन्त्रिमण्डल घोषणा गर्दै प्रधानमन्त्री मरिसन

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले नयाँ मन्त्रिमण्डल घोषणा गर्ने भएका छन् । एक साताअघि भएको निर्वाचनमा अप्रत्याशित जीत हासिल गरेपछि उनले बहुमतको सरकार बनाउने अवसर पाएका हुन् ।

नयाँ मन्त्रिमण्डल घोषणा गर्दै प्रधानमन्त्री मरिसन

घोषणा गरिने मन्त्रिमण्डलमा अधिकांश पुरानै अनुहार हुने भए पनि केही नयाँ सांसदहरूले मन्त्रालय सम्हाल्ने अवसर पाउनेछन् । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार विदेश, गृह, अर्थ, वित्तीय, स्वास्थ्य लगायतका महत्त्वपूर्ण मन्त्रालयहरूमा यसअघिकै अनुहारहरू दोहोरिनेछन् भने नयाँ मन्त्रालयहरूमा कम्तीमा दुई महिलाले जिम्मेवारी पाउनेछन् ।


यसअघिका मन्त्रीहरू पिटर डट्टन, माथियस कोरम्यान, जोस फ्याडनवर्ग, ग्रेग हन्ट लगायतका सांसदहरूले निरन्तरता पाउने झएका छन् । यसै गरी नयाँ संरचनामा महान्याधिवक्ता त्रिष्टियन पोर्टर संसद्को नेताका रूपमा चुनिने भएका छन् । प्रधानमन्त्री मरिसनले आइतबारसम्ममा नयाँ मन्त्रिमण्डलको घोषणा गर्ने जनाइएको छ ।

अस्ट्रेलियाको निर्वाचन आयोगले अहिलेसम्म औपचारिक रूपमा घोषणा नगरिसकेको भए पनि सत्तारुढ लिबरल गठबन्धनले ७८ सिटमा जीत हासिल गर्ने पक्का भइसकेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । जसमा विपक्षी दल लेबरले ६७ सिटमा चित्त बुझाउनुपर्ने भएको छ ।


अस्ट्रेलियाको तल्लो सदन प्रतिनिधिसभामा बहुमतको सरकार बनाउनका लागि ७६ सिटको आवश्यता पर्दछ । माथिल्लो सदन सिनेटमा भने लिबरल गठबन्धनले बहुमत नल्याउने दाबी गरिएको छ । दर्जनौँ संस्थाहरूले वर्षौँदेखि गरेको सर्वेक्षण नतिजाको विपरीत लिबरलले बहुमत सिट जीत हासिल गर्न सफल बनेको हो ।

प्रकाशित : जेष्ठ ११, २०७६ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?