२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सुत्केरी पशुलाई भत्ता

पशुपालक कृषकलाई प्रोत्साहनस्वरूप नगर क्षेत्रभित्र पालिएका गाई भैंसीलाई सुत्केरी भत्तास्वरूप एक हजार रुपैयाँ दिने गरिएको छ
सुजता लामा

सिन्धुलीमाढी — कमलामाई नगरपालिकाले थालेको पशु सुत्केरी भक्ता कार्यत्रममा किसानको आकर्षण बढेको छ । ऊक्त कार्यत्रम सुरु गरेको ६ महिनामा महिनामा ३ सय ३९ सुत्केरी पशुलाई भत्ता उपलब्ध गराएको नगरपालिका पशु विकास शाखा प्रमुख हरिहर लामिछानेले बताए । नगरपालिकाले मंसिर १ गतेबाट किसानलाई सुत्केरी पशुको भत्ता दिन थालेको हो । 

किसानलाई सुत्केरी पशुको भत्ता दिन निवेदन संकलन गरेर वैशाख मसान्तसम्ममा ३ सय ३९ वटा सुत्केरी पशुलाई सुत्केरी भत्ता वितरण गरेको पशु शाखा प्रमुख लामिछानेले भने । सुत्केरी पशुलाई एक हजार रुपैयाँका दरले ३ लाख ३९ हजार रुपैयाँ सुत्केरी भत्ता वितरण गरेको छ ।


पशु शाखा प्रमुख लामिछानेका अनुसार सुत्केरी भत्ता वितरण गरिएको पशुमध्ये ६० प्रतिशत सुत्केरी गाई र ४० प्रतिशत भैंसी छन् । पशु सुत्केरी भत्ता लिनेमा नगरपालिकाको वडा नम्बर ४, ५, ६, ७ र ११ का किसान छन् ।


पशुपालक कृषकलाई प्रोत्साहनस्वरूप नगर क्षेत्रभित्र पालिएका गाई भैंसीलाई सुत्केरी भत्तास्वरूप एक हजार रुपैयाँ दिने गरिएको छ । सुत्केरी भएका गाई भैंसीलाई पौष्टिक आहारा खुवाई दुग्ध उत्पादन बढाउने उद्देश्यले रकम दिएको हो । नगरले चालु आर्थिक वर्ष २०७५/०७६ मा सुत्केरी भत्ताका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको भन्दै लक्ष्यअनुसार भत्ता वितरण गरिने उनले बताए ।


कृषकले पशुको सुत्केरी भत्ता लिन वडा कार्यालयको सिफारिस, पशुधनी र ब्याएको गाई/भैंसीको बच्चासहितको फोटो र नागरिकताको प्रतिलिपि संलग्न गरी निवेदन नगरपालिकामा दर्ता गर्नुपर्ने लामिछानेले बताए । यसरी उपलब्ध भत्ताबाट कृषकले ब्याएको पशुलाई पौष्टिक आहार र खाद्यान्न किनेर खुवाउनुपर्नेछ ।


कमलामाई नगरपालिका पशु पालनका लागि उपयुक्त क्षेत्र मानिन्छ । पशु पालनबाटै यहाँका किसान जीविकोपार्जन गर्दै आएका छन् । नगरको भद्रकाली, जलकन्या, रानीचुरी, रानीवास, डाँडीगुराँसे लगायतका वडामा किसानले व्यावसायिक भैंसीपालन गर्दै आएका छन् ।


नगरपालिकाले उक्त क्षेत्रलाई भैंसी पकेट क्षेत्र बनाउने तयारी गरेको छ । नगरको ढकाल गाउँ, गैयाटार, पातीपरणलगायतका ठाउँमा भने गाईपालनका लागि उपयुक्त क्षेत्र मानिन्छ ।

प्रकाशित : जेष्ठ १२, २०७६ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?