१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

'चिया बगानलाई मल नदेऊ’

अर्जुन राजवंशी

बिर्तामोड — सरकारले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई पत्राचार गरेर चिया बगानहरूलाई मल बिक्री नगर्न निर्देशन दिएको छ । सरकारको उक्त निर्णयका कारण झापाका चिया बगानहरूले १५ दिनदेखि मल पाएका छैनन् । मलखादका लागि चिया बगान सञ्चालकहरूले कम्पनीमा निरन्तर ताकेता गरिरहेका छन् । 

'चिया बगानलाई मल नदेऊ’

कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोड शाखालाई जेठ १५ गते चिया तथा कफीसम्बन्धी खेतीका लागि मलखाद बिक्री वितरण नगराउन निर्देशन प्राप्त भएको छ । कृषि सामग्री कम्पनीको प्रधान कार्यालयले अनुदानको मलखाद चिया तथा कफी खेतीलाई उपलब्ध नगराउन बिर्तामोड कार्यालयलाई परिपत्र गरेको हो ।


‘प्रधान कार्यालयबाट चिया तथा कफी खेतीका लागि अनुदानित मल बिक्री वितरण नगर्न परिपत्र भएकाले जेठ १५ देखि हामीले चिया बगानलाई मल बिक्री गर्न रोकेका छौं,’ कृषि सामग्री बिर्तामोड शाखाका निमित्त प्रबन्धक कमल पोखरेलले भने । चिया बगानलाई मलखाद बिक्री रोक्नुको कारण भने पत्रमा नखुलाएकाले आफूलाई केही थाहा नभएको पोखरेलले बताए ।


‘चिया बगानबाट मल माग भइरहेको छ । हेड अफिसको पत्रका कारण कसैलाई पनि मल बिक्री गरेका छैनौं,’ पोखरेलले भने । कृषि सामग्री बिर्तामोडमा मल पर्याप्त रहेको उनले बताए । उनले भने, ‘हामीसँग युरिया र पोटास पर्याप्त छ । डीएपी केही कम छ । त्यो पनि केही दिनपछि आउने खबर छ ।’


कृषि सामग्रीबाट बिक्री वितरण रोक्नुअघिसम्म चालु वर्ष नेपाल चिया उत्पादक संघको सिफारिसमा युरिया १०३.५ टन, पोटास ३४.७५० टन र डीएपी ७.८५० टन तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सिफारिसमा युरिया ९१.३ टन र पोटास ५.६ टन मल बिक्री गरेको उनले बताए । गत वर्ष चिया बगानलाई १०२२.३५० टन मल बिक्री गरेको पोखरेलले जानकारी दिए ।


चिया बगानहरूलाई जेठ १ देखि नै मल बिक्री वितरण नगरेको साल्ट ट्रेडिङ बिर्तामोडले जनाएको छ । ‘हामीलाई पनि हेड अफिसबाट पत्र प्राप्त भएदेखि नै चिया बगानहरूलाई मल बिक्री गर्न रोकेका छौं,’ कार्यालयका कर्मचारी ब्रह्मदेव ठाकुरले भने ।


मल अभाव हुँदा बगानमा मलखाद हाल्न नपाएको बुधकरण टी स्टेटका सञ्चालक राजेन्द्रसिंह राजवंशीले बताए । ‘अहिले बगानमा मल आवश्यक छ । पानी परिरहेकाले मलखाद गर्न खोजिरहेका छौं । मल नपाएर हैरान भएको छ,’ राजवंशीले भने ।


बुधकरण चिया बगानमा वार्षिक रूपमा १ हजार २ सय बोरा युरिया, १ हजार बोरा पोटास र ८ सय बोरा एसएसपी मल खपत हुने गरेको राजवंशीले जानकारी दिए ।

प्रकाशित : असार २, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?