कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सेज स्थापना गर्न अध्ययन सुरु

शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिकामा विशेष आर्थिक विकास क्षेत्र (सेज) स्थापनाका लागी शनिबार सम्भाव्यता अध्ययन सुरु गरिएको छ । यसका लागि प्राविधिकहरू सहितको टोलीले स्थानिय तह, सरोकारवाला, राजनीति दल लगायतसित अन्तरक्रिया गरेको छ । 

सेज स्थापना गर्न अध्ययन सुरु

काठमाडौंको दीक्षा कन्सल्टेन्सीको प्राविधिक सहितको टोलीले सम्भाव्यता अध्ययन थालेको हो । सेज स्थापनाका लागी पर्याप्त जमिन, भौगोलिक बनावट, वातावरण, यातायात, सडक लगायत हेर्ने टोलीले जनाएको छ । टोलीका इन्जिनियर सन्दीप पाण्डेले सेज स्थापनाका लागि २ सय बिघाभन्दा बढी जमिन चाहिने बताए । ‘सेज स्थापनाका लागि सबै खाले तयारी गर्नुअगावै अध्ययन जरुरी छ,’ उनले भने, ‘विशेष आर्थिक विकास क्षेत्र स्थापना पछि यस क्षेत्रको मुहारै फेरिन्छ ।’ अध्ययनका लागि बजेटसमेत छट्याइएको उनले जनाए ।


यसअघि विकास क्षेत्रको जमिन छनोट गर्न उद्योगा मन्त्रालयका प्राविधिकसहितको टोली यहाँ आएको थियो । मन्त्रालय, संसद् र स्थानीय तहका जनप्रतिनिधिको टोलीले चन्द्रपुर ६, ७ र ८ वडामा पर्ने जमिन अवलोकन गरेको थियो । आर्थिक विकास क्षेत्र स्थापनका लागि पहिलो चरणमा जमिनको प्रारम्भिक अवलोकन गरिएको नेकपाका नेता युवराज भट्टराईले बताए । ‘यो चन्द्रपुर नगरपालिकाकै गौरवको आयोजना हो,’ उनले भने, ‘यसलाई सफल पार्न सबै क्षेत्रको सहयोग अपरिहार्य छ ।’ उनले यसै महिना अन्तमा सम्भाव्यता अध्ययन सकेर टोलीले आर्थिक क्षेत्र प्राधिकरणलाई प्रतिवेदन बुझाउने जनाए ।


उद्योग स्थापना गर्न उपयुक्त जमिन, अन्तर्राष्ट्रिय सिमानाबाट नजिक, प्रमुख मार्गको पहुँच तथा बिजुली, कच्चा पदार्थ, पानी, जनशक्तिको उपलब्धता हुने क्षेत्र छनोट गरी प्रकृया अगाडि बढाउन सरोकारवाला सहमत भएका छन् । निर्यात प्रवर्द्धनको माध्यमबाट मुलुकमा औद्योगिकीकरणको प्रक्रिया अघि बढाई आर्थिक विकासको गतिलाई तीव्रता प्रदान गर्न विशेष आर्थिक क्षेत्र स्थापना, सञ्चालन र व्यवस्थापन गर्न लागिएको मन्त्रालयले जनायो ।


टोलीले शनिबार चन्द्रपुरमा गरेको अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले सेज स्थापनाका लागि काम गरेर देखाउनुपर्ने बेला आएको बताइन् । ‘यसमा समितिका तर्फबाट सक्दो सहयोग हुन्छ,’ उनले भनिन् । उनले अवलोकन गरिएको स्थानमा उद्योग स्थापनाका लागि उपयुक्त देखिएको बताइन् ।


तीन महिनाअघि यहाँ आएका आर्थिक क्षेत्र प्रधिकरणका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले सेजका नीति नियम र यसबाट हुने फाइदाबारे सरोकारवालालाई बोलाएर जानकारी दिएका थिए । लगानीमैत्री वातावरण बनाएर स्वदेशी तथा विदेशी लगानीकर्तालाई निर्यार्तमूलक उद्योगमा आकर्षण गरी औद्योगिकीकरणका माध्यमबाट देशको समृद्धि गर्न सेज आवश्यक रहेको निर्देशक भट्टको भनाइ छ ।


विशेष आर्थिक क्षेत्रका लागि सडकको पहुँच, दूरसञ्चार सेवा, विद्युत्, पानीको सेवा, पर्याप्त कामदार र कच्चापदार्थको उपलब्धता जस्ता कुरालाई आधार लिनुपर्ने मन्त्रालयका प्राविधिकको भनाइ छ । नेपाल सरकारले प्राधिकरणको सिफारिसमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी देशको कुनै स्थानलाई विशेष आर्थिक क्षेत्र तोक्न सक्छ । प्राधिकरणले कुनै स्थानलाई विशेष आर्थिक क्षेत्र तोक्न उपयुक्त देखिए सर्वेक्षण गरी विस्तृत प्रतिवेदनसहित नेपाल सरकारलाई पेस गर्नुपर्छ ।


प्राधिकरणले विशेष क्षेत्रमा स्थापना गर्न सकिने तोकिएबमोजिमका उद्योगको सूची तयार गर्नुपर्छ । विशेष आर्थिक क्षेत्रमा पूर्वाधार संरचना निर्माण गर्न, यसको सञ्चालन र व्यवस्थापन गर्न, यस भित्र स्थापित उद्योगको अनुगमन वा नियमन गर्न, उद्योगहरूलाई एकद्वार इकाईबाट सेवा उपलब्ध गराउन र उद्योगलाई व्यवस्थित रूपमा स्थापना, सञ्चालन गर्नका लागि सरकारले २०७३ सालमा विशेष आर्थिक क्षेत्र प्राधिकरण स्थापना गरेको थियो ।


विशेष आर्थिक क्षेत्र स्थापनाले लगानीकर्तालाई निर्यातमूलक उद्योगमा लगानी गर्न आकर्षित गर्न, विदेशी पुँजी तथा प्रविधि भित्र्याउन, निर्यात वृद्धि भई व्यापार घाटा कम गर्न, स्वदेशमै रोजगारी सिर्जना गर्न सहयोग पुग्नेछ ।

प्रकाशित : असार २, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?