कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नदीले बगाएको फेरी अलपत्र

विप्लव महर्जन

सल्यान — गत वर्ष बर्खामा भेरी नदीमा आएको बाढीले बगाएको फेरी बन्गाडकुपिण्डे नगरपालिका ११, सिस्नेपातलमा अलपत्र परेको छ । बाढीले बगाएर ल्याएको फेरी संरक्षण अभावमा नदी किनारमा बेवारिसे बनेको हो । 

बन्गाडकुपिण्डे नगरपालिकाको सल्लीबजारबाट जाजरकोट जाने गाडी तार्न भेरी नदीमा फेरी जडान गरिएको थियो । फेरी बगाएको १ वर्ष भइसक्दा पनि सम्बन्धित निकायले चासो नदिएका कारण बेवारिसे बनेको हो । बाढीले फेरीलाई सल्लीबजारदेखि करिब २ किमि तलसम्म बगाएको छ । सल्लीबजार हुँदै जाजरकोट जाने सडकमा पुल बनेपछि फेरी अन्यत्र स्थानान्तरण गरिएको थिएन ।


अलपत्र अवस्थामा रहेको फेरी बाढीले बगाएपछि थप बेवारिसे बनेको छ । सल्लीबजार(जाजरकोट सडक खुलेपछि भेरीमा करिब ३० लाख रुपैयाँमा फेरी निर्माण गरिएको थियो । नदी किनारमा फेरीसहित गाडी तार्न प्रयोग गरिने अन्य सामग्री पनि खिया लागेर जीर्ण बन्दै गएको छ ।


सिस्ने पातलका बमबहादुर रानाले सुरुमै फेरी अन्यत्र स्थानान्तरण गरिएको भए प्रयोगमा आउनसक्ने बताए । उनले भेरीमै पुल नभएको अन्य स्थानमा फेरी स्थानान्तरण गर्न सरकारी निकायसँग आग्रह गरे । भेरीले बगाएर ल्याएको फेरी अहिले काम नलाग्ने बनेको सिस्नेपातालका भद्रबहादुर थापा बताउँछन् ।


भेरीले वर्षायाममा बगाएका ढुंगा लागेर फेरीका विभिन्न सामग्री भाँचिएको उनको भनाइ छ । ‘अहिले फेरी फोटो खिच्ने साधन मात्र बनेको छ,’ उनले भने, ‘फेरी अलपत्र पर्दा लाखौंको सरकारी लगानी खेर गएको छ ।’ सल्लीबजारबाट जाजरकोट जान फेरीबाट गाडी तारेका स्थानीय चन्द्रबहादुर थापाले यसको स्थानान्तरण समयमै नहुँदा सरकारी बजेट दुरुपयोग भएको बताउँछन् । उनले यो वर्षको बर्खामा पनि फेरी अन्यत्र बग्ने खतरामा रहेको जनाए ।


उनले फेरी मर्मत गरी सञ्चालन गर्न सकिने अवस्थामा रहेको जानकारी दिए । ‘माथिका केही भाग भाँचिएका छन्,’ उनले भने, ‘तर मर्मत गरी तत्कालै सञ्चालनमा ल्याउन सकिने अवस्थामा छ ।’

छिन्चु–सल्लीबजार–जाजरकोट सडक निर्माणपछि सडक डिभिजन कार्यालय सुर्खेतले २०६० मा फेरी जडान गरेको थियो । झन्डै १२ वर्ष फेरीबाटै जाजरकोट जाने गाडी तारिएको थियो । पुल बनेपछि २ वर्षदेखि फेरी बन्द भएको हो । पुल नबन्दासम्म सुर्खेत, सल्यान र जाजरकोटका बासिन्दा फेरीबाट लाभान्वित थिए ।

प्रकाशित : असार २, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?