दलित बस्तीका घरघरै धारा

खानेपानी अभावले यसअघि शौचालय प्रयोगविहीन बनेका थिए, घरायसी सरसफाइका काममा समस्या भइरहेको थियो
राजबहादुर शाही

मुगु — छायानाथ रारा नगरपालिका ५, ढुमस्थित दलित बस्तीमा घरघरै पिउने पानीको सुविधा पुगेको छ । २ सय ३० घरधुरी रहेको ढुममा १ सय ५० धारा जडान गरिएपछि स्थानीयले घरमै खानेपानी सुविधा पाएका छन् ।

दलित बस्तीका घरघरै धारा

यसअघि स्थानीयलाई आधा घण्टा हिँडेर कार्कीबाडामा गई पानी ल्याउनुपर्ने बाध्यता थियो । खानेपानीका लागि लामो समयदेखि सास्ती भोग्दै आएका दलित समुदाय आँगनमै धारा जडान भएपछि खुसी बनेका छन् । उपभोक्ता समिति सचिव काली विकले आँगनमै स्वच्छ पानी पिउन पाउँदा दैनिकी सहज बन्दै गएको बताइन् । उनका अनुसार यसअघि पानीकै लागि महिला र बालबालिकाका अधिकांश काम प्रभावित हुन्थे ।


‘आधा घण्टा हिडेर पानी ल्याउँदा बालबालिकाको पठनपाठन अवरुद्ध हुने गरेको थियो, महिलालाई खानेपानी ओसार्ने कामसँगै अन्य घरायसी कामको बोझ धेरै हुन्थ्यो,’ उनले भनिन्, ‘घरमै धारा भएपछि निकै सुबिस्ता भएको छ ।’ उनका अनुसार खानेपानी अभावका कारण यसअघि शौचालय प्रयोगविहीन बनेका थिए भने घरायसी सरसफाइका काममा समस्या हुने गरेको थियो । पशुचौपायाको लागिसमेत पानीको जोहो गर्न सास्ती भोग्दै आएका स्थानीयले अहिले चौबीसैं घण्टा खानेपानी सुविधा पाइरहेका छन् ।


घरघरै पानीका धारा भएपछि स्थानीयलाई करेसाबारीमा सिँचाइ गर्नसमेत सुविधा भएको छ । प्रयोग भएर बचेको पानीले तरकारी खेतीमा सिँचाइ गर्न सजिलो भएको स्थानीय खुम्मनी विकले बताइन् । उनका अनुसार खानेपानी सुविधासँगै स्थानीयलाई तरकारी खेती गर्न सहज भएको बताइन् । ‘घरायसी प्रयोगपछि बचत भएको पानीलाई करेसाबारीमा प्रयोग गर्न सहज भएको छ,’ उनले भनिन्, ‘अहिले सबै घरधुरी व्यावसायिक तरकारी खेतीमा आकर्षित भएका छौं ।’


दलित बस्तीमा स्वच्छ पानी पुर्‍याउने उद्देश्यले युनिसेफको सहयोगमा हिमाली ग्रामीण युवा समाज विकास केन्द्रले खानेपानी योजना सञ्चालन गरेका हो । गाउँदेखि ४ किमि टाढाको मैतुमुहानबाट पानी ल्याई योजना सञ्चालन गरिएको संस्थाका अध्यक्ष मीन रावलले जनाए ।


खानेपानीका लागि वर्षौंदेखि सास्ती भोग्दै आएको दलित बस्तीमा खानेपानी योजना पुर्‍याइएपछि स्थानीय बासिन्दा तरकारी खेतीतर्फ आकर्षित भएको उनले जानकारी दिए । उनका अनुसार दलित बस्तीसँगै वडा ५ कार्यालय र कार्कीवाडा विद्यालयमा पनि धारा जडान गरिएको छ । आयोजनाका लागि संस्थाको ५१ लाख रुपैयाँ र श्रमदानसहित स्थानीयको १३ लाख रुपैयाँ खर्च भएको छ ।


६४ लाख १६ हजार रुपैयाँ खर्च भएको योजनामा मर्मत सम्भार कोषसमेत खडा गरिएको छ । ढुम नजिकैको अर्को दलित बस्ती ढुमाल गाउँका ५६ घरधुरीमा पनि संस्थाले खानेपानी योजना निर्माण गरिएको जनाएको छ । यसअघि ढुमाललेकका बासिन्दा लामो समयदेखि कुवाको पानी पिउन बाध्य थिए । उक्त योजनाका लागि २९ लाख ९२ हजार रुपैयाँ खर्च भएको संस्थाले जनाएको छ ।

प्रकाशित : असार २, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?