कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

नीति तथा कार्यक्रम पारित

दुर्गालाल केसी

दाङ — घोराही उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिंदै आगामी आर्थिक वर्षको नीति कार्यक्रम सार्वजनिक गरेको छ ।

शनिबार पाँचौं नगरसभामा नीति कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख नरुलाल चौधरीले आधारभूत शिक्षालाई निःशुल्क गराउन अभियान थाल्ने बताए । ‘शून्य शुल्कमा आधारभूत शिक्षा’ भन्ने अभियान सञ्चालन गरेर हरेक विद्यालयमा निःशुल्क शिक्षाको प्रबन्ध गरिने उनले बताए ।


नवजात शिशुको पोषणलाई मध्यनजर गर्दै महिला सुत्केरी भएपछि खुत्रुके बचतको सुरुआत गरिने चौधरीले बताए । यसैगरी २० वर्षपछि विवाह गर्ने जोडीलाई नगदसहित सम्मान गर्ने, ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने, ५ कक्षासम्म ऐच्छिक विषयका रूपमा थारू भाषाको पाठ्यक्रम पठनपाठन गराउनेजस्ता लोकप्रिय कार्यक्रम पनि उनले अघि सारेका छन् ।


यसैगरी पूर्वाधार विकासलाई पनि महत्त्वका साथ समेटिएको छ । वडादेखि उपमहानगरको केन्द्रसम्म जोडने एक/एक बाटो कालोपत्रे गर्ने, कृत्रिम जलाशय निर्माण, सिंचाइ सुविधा नभएको स्थानमा डिपबोरिङ, साना पोखरी, फोहोरा सिंचाइ र थोपा सिंचाइको व्यवस्था गर्ने नीतिलाई निरन्तरता दिइएको छ ।


यसैगरी एक वडा एक खेल मैदान, संघीय र प्रदेश सरकारको सहयोगमा विभिन्न स्थानमा एकीकृत नमुना बस्ती निर्माण, एक करोडसम्मका योजना उपभोक्ता समितिबाट सम्पन्न गर्ने र एक लाखभन्दा कमका योजना टोल विकास संस्थाको सहकार्यमा सम्पन्न गर्ने नीति लिइएको छ । भौतिक संरचना निर्माण गर्दा बालमैत्री, अपांगमैत्री ज्येष्ठ नागरिकमैत्री बनाउन विशेष ध्यान दिइने र संघीय तथा प्रदेश सरकारको सहकार्यमा औद्योगिक क्षेत्र स्थापना गर्ने योजना पनि नीति कार्यक्रममा समेटिएको छ ।


सिकलसेल एनिमिया, थाल्सेमिया र प्रसूति सेवाका बिरामीका लागि निःशुल्क रगत प्रदान गर्न नगरप्रमुख रक्त सञ्चार सेवा सञ्चालन गर्ने, आमा र शिशुको जीवन रक्षाका लागि उपप्रमुख आमाशिशु सुरक्षा कार्यक्रम संचालन गर्ने, उपमहानगरपालिका स्तरीय अस्पताल स्थापना, आकस्मिक एम्बुलेन्स कोष स्थापना र गाउँघर क्लिनिकलाई थप सुविधायुक्त बनाउने नीति कार्यक्रममा प्रस्तुत गरिएको छ ।


यसैगरी शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकता दिइएको छ । सबै विद्यालय संरचनाभित्र बालशिक्षा संचालन गर्ने र साना कक्षामा मन्टेश्वरी विधिबाट प्रारम्भिक बालशिक्षा संचालन गर्ने, आवासीय एवं नमुना विद्यालय सञ्चालन, एक वडा एक प्राविधिक विद्यालय, उपमहानगरभित्र सञ्चालन भएका तालिम केन्द्र एवं कोचिङ सेन्टरलाई कानूनी दायरामा ल्याउने र फरक क्षमता भएका बालबालिकालाई निश्चित स्थानमा आवासीय पठनपाठनको व्यवस्था गर्ने कार्यक्रम तय गरिएको छ ।


यसैगरी, ‘मलाई बढ्न देऊ, विवाह होइन पढ्न देऊ’ भन्ने नाराका साथ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने नगर प्रमुख चौधरीले बताए । सवारी साधनबाट कुनै पनि किसिमको फोहोर फाल्न नपाउने, ‘म बदलिनेछु, मेरो नगर बदलिनेछ’ नाराका साथ प्रत्येक टोल विकास संस्थामा मासिक रूपमा सरसफाइ अभियान सञ्चालन गर्ने, शुल्कमा आधारित फोहोर व्यस्थापन गर्ने, सडक, नाली, सार्वजनिक र खुला स्थानमा फोहोर फाल्नेलाई कारबाही गर्ने, औद्योगिक, अस्पतालजन्य र रासायनिक फोहोरलाई सम्बन्धित पक्षले नै व्यवस्थापन गर्नुपर्नेलगायत कार्यक्रम सभामा पेस भएको छ ।

प्रकाशित : असार २, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?