१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

अत्यधिक गर्मीले जनजीवन प्रभावित

विनु तिम्सिना

विराटनगर — इलामका दिलाराज गोर्खाली विराटनगर आएको एक महिना मात्रै भयो । उनी एक छोरा र श्रीमतीसहित अटो रिक्सा चलाउन विराटनगर झरेका हुन् । तर, पाँच दिनदेखि बढेको गर्मीमा उनले अटो चलाउन सकेका छैनन् ।

अत्यधिक गर्मीले जनजीवन प्रभावित

आइतबार पनि गर्मीका कारण उनी दिनभर शीतल छहारीमा बसिरहे । ‘इलाम जस्तो जाडो ठाउँबाट आएको मलाई त विराटनगरको गर्मीले हैरान नै बनायो,’ उनले भने, ‘ठूलो सहर भनेर अटो चलाउन यतै आएको यहाँ त धेरै पो गर्मी हुने रैछ ।’


खर्च कटाएर दैनिक एक हजार आम्दानी गर्ने गोर्खालीले गर्मीले आम्दानी पनि घटेको बताए । यस्तै विराटनगर १५ रानीका जयराम साहले रिक्सा चलाउन थालेको लगभग २० वर्ष भयो । विराटनगरका सिटी रिक्सा र अटोले रिक्सालाई विस्थापित गराउन लागेको अवस्थामा गर्मीले झन काम गर्नै नसक्ने बनाएको साहले बताए ।


दैनिक ५ सय आम्दानी गर्ने उनले दुई दिनदेखि रिक्सा चलाउन नै नसकेको बताए । विराटनगरमा भएका रूख बिरुवा पनि काटेकाले छहारी कतै नभेटिने उनले गुनासो गरे । ‘पहिला पहिला त विराटनगरमा धेरै रूख थिए, सवारीलाई गन्तव्यमा पुर्‍याएर एक छिन छहारीमा शीतल खाएपछि फेरि हिंड्न सकिन्थ्यो,’ उनले भने, ‘अहिले त विराटनगरमा रूख–बिरुवा भेट्टाउनै मुस्किल छ ।’


पूर्वी तराईमा पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या उत्पन्न भएको छ । अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ । मजदुर र विद्यार्थी गर्मीका कारण धेरै समस्यामा परेका छन् ।


शुक्रबार विराटनगरको तापक्रम ३८ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौषम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाकी मौशम विद् गंगा नगरकोटीले बताइन् । गर्मी बढदा चिसो पेयसँगै फलफूल जुसको व्यापार बढेको छ । मध्याह्न र अपराह्न सरकारी कार्यालयसहित बजारमा सर्वसधारणको उपस्थिति पातलिएको छ ।


गर्मी छल्न पेयपदार्थ पिउनेसँगै सर्वसाधारणले अन्य उपाय अपनाउँदै आएका छन् । नियमित विद्युत् आपूर्ति नहुँदा र विद्युत्को भोल्टेज कम हुँदा बढदो गर्मीमा सर्वसधारण झनै पिरोलिएका छन् । गर्मीमा छाला ढाक्ने कपडा लगाउन, घाममा हिँडा नियमित अन्तरालमा बसेर शीतल पानीले हात मुख धुने जस्ता सुझाव चिकित्सकको छ ।


नियमित पानी पर्दा वायुमण्डलीय तापक्रम घटाउन सहयोग गर्ने भए पनि पछिल्लो एक सातामा पानी परेको छैन । मनसुनको कतै कुनै अत्तोपत्तो छैन जसले गर्दा गर्मी बढ्ने क्रममा रहँदा सर्वसाधारण अझै बढी छटपटिएका छन् । गर्मीका कारण दही, चिसो पेय पदार्थ, खरबुजा, स्याउ, आइसक्रिम लगायतका सामाग्रीको बिक्री भने बढेको छ ।


विराटनगर स्थित गुद्री बजारमा फलफुलको व्यापार गर्दै आएका दिनेशकुमार साहले तिन चारदिन यता खरवुजाको बिक्री बढेको बताए । अन्य समयमा दैनिक ४०/५० वटा खरबुजा बिक्री हुने गरेकोमा अहिले दैनिक सय वटासम्म बिक्री भइरहेको उनले बताए ।

प्रकाशित : असार २, २०७६ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?