कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

३३ केभी प्रसारणमा समस्या, तीन जिल्लामा स्थानीय उत्पादन

दिपेन्द्र शाक्य

संखुवासभा — ३३ केभी प्रसारण लाइनमा समस्या आएपछि नेपाल विद्युत् प्राधिकरण खाँदबारीले केही दिन यता स्थानीय स्तरमा उत्पादित विद्युत् प्रयोग गरेको छ । जिल्लाका विभिन्न स्थानमा उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्ने गरिएको छ । हावाहुरी र लगातारको वर्षात्ले ३३ केभीका विद्युतका पोल भाँचिएका र तार चुँडिएकाले मर्मतमा समस्या छ ।

सभाखोलाबाट उत्पादित ४ र हेवाखोलाबाट उत्पादित ३ मेघावाट बिजुली तीन जिल्लामा बालिएको प्राधिकरण खाँदबारी वितरण केन्द्रका प्रमुख ध्रुव अधिकारीले बताए । ‘फल्ट पत्ता लागे पनि निरन्तरको झरीले मर्मतमा कठिनाइ भएको छ,’ उनले भने, ‘हामीले यहींको बिजुली प्रयोग गरेका छौं ।’ दुई विद्युत् गृहबाट उत्पादन भएको विद्युत् ३ जिल्लामा दिइरहेको उनले बताए । ‘अन्धकारमा बस्नुभन्दा दैनिक बिहान र बेलुकी १२ घण्टासम्म यो बिजुली सञ्चालन गरिएको छ,’ उनले भने, ‘३३ केभी प्रसारण लाइनको समस्या समाधान नभएसम्म यसलाई नै निरन्तरता दिने छौं ।


दिवेश्वरी र हेवाखोला हाइड्रोपावरले उत्पादन गरेको ७ मेघावाटको बिजुली सदरमुकाम खाँदबारी, चैनपुरलगायत भोजपुरको दिङ्ला क्षेत्र र तेह्रथुममा बिजुली बालेको हो । क्षमताभन्दा माग बढी भएकाले बिहान र बेलुकीको समयमा राइस मिल, गृल उद्योग, क्रसर मेसिन बन्द गर्न उनले आग्रह गरे । बिजुली अनियमित भएपछि स्थानीय रेडियोहरूले प्रशारण समय घटाएका छन् ।


जिल्लामै उत्पादित बिजुलीले बल्न थालेपछि राहत मिलेको स्थानीयले बताए । पहिले–पहिले केन्द्रिय प्रशारण अवरुद्ध हुँदा साता दिनसम्म अध्यारोमा बसेको खाँदबारीका उमेश श्रेष्ठले बताए । ‘अहिले स्थानीय स्तरमा उत्पादन भएको बिजुली बाल्न पाएकामा खुसी छौं,’ उनले भने, ‘केन्द्रीय लाइन मर्मत गर्न समस्या पर्दा प्राधिकरणले यहींको बिजुली दिएको छ ।’


सोलारको भरमा स्थानीय तह

भोजपुर– भोजपुरका नौवटा स्थानीय तहमा अहिलेसम्म विद्युत सेवा पुग्न सकेको छैन । केन्द्रीय प्रसारणको विद्युत नहुँदा गाउँपालिकाले प्रदान गर्ने सेवा प्रभावित भएको छ ।


यहाँ स्थानीयस्तरमा उत्पादित विद्युत रातिको समयमा मात्र वितरण गरिन्छ । विद्युत सेवा नहुँदा आमचोक गाउँपालिकाले सोलार सेट राखेर सेवा प्रदान गरे पनि त्यो भरपर्दो हुन सकेको छैन । कार्यालयको प्रिन्टिङ, फोटोकपि, कम्प्युटर, इन्टरनेट, डकुमेन्टेसन जस्ता अत्यावश्यकीय काममा असहज भएको सूचना प्रविधि अधिकृत नवीन श्रेष्ठले बताए ।


केन्द्रीय प्रसारणको विद्युत पुगेको साल्पासिलिछो गाउँपालिकाले अहिलेसम्म लाइन जोडेको छैन । कार्यालयको काम काज सोलारकै भरमा सञ्चालन भइरहेको गापा प्रमुख महेस राईले बताए । भोजपुर नगरपालिकाका दुई बटा वडामा विद्युत विस्तारकै क्रममा छ । त्यसै गरी षडान्नद नगरपालिकाका पाँचवटा वडामा विद्युत विस्तार भएको छैन ।


पौवादुङमा गाउँपालिकाका दुईवटा वडामा विद्युत विस्तार भएको छैन । टेम्केमैयुङ गाउँपालिकाका चारवटा वडामा विद्युत विस्तार हुन बाँकी छ । अरुण गाउँपालिकामा एउटा वडामा विद्युत विस्तार भएको छैन । रामप्रसादराई गाउँपालिकाका दुईवटा वडा बाँकी रहेका छन् । हतुवागढी गाउँपालिकामा दुईवटा वडामा मात्र विद्युत विस्तार भएको छ ।

प्रकाशित : असार २, २०७६ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?