अर्गानिक नगरपालिका बन्दै रुपाकोट

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अर्गानिक कृषि अभियान सञ्चालन गर्ने उद्देश्यले कम्पोष्ट मल तथा बायो ग्यास ट्रष्ट भवनको शिलान्यास गरिएको छ । नगरपालिकाका प्रमुख दीपनारायण रिजालले ३ करोड २२ लाखमा भवन बन्न लागेको बताए । 

दिक्तेल बजारमा उत्पादित गल्ने फोहरलाई प्रशोधन गरेर ग्याँस तथा कम्पोष्ट मल बनाइनेछ । पहिलो चरणमा नगरपालिकाभरिलाई कम्पोष्ट मल र ४ सय घर परिवारलाई खाना पकाउने ग्यास पुर्‍याउने लक्ष्य राखिएको नगरप्रमुख रिजालले बताए । नगरभित्रै कम्पोष्ट मल उत्पादन गरेर आगामी पाँच वर्षभित्र पूर्णरूपमा अर्गानिक नगर बनाउने लक्ष्य रहेको उनले बताए ।


मझुवागढी नगरपालिकाकी उपप्रमुख विनादेवी राई अर्गानिक कृषि प्रणालीबाट स्वस्थता मात्र होइन समृद्धि समेत आउने बताउँछिन् । नगरपालिकाको यो अभियानले स्वस्थ जीवनको चेतना दिएको वडा नं–१२ जालपाका वडाअध्यक्ष विकास राईले बताए ।

त्यसो त नगरक्षेत्रभित्रका विभिन्न ठाउँलाई कृषि पकेट घोषणा गरेर काम सुरु गरेको छ । यसअन्तर्गत बुइपामा कागती र लिची, विजयखर्क र लफ्याङमा केरा, सोल्मामा किवी, नेर्पा र निर्मलीडाँडामा अलैची, सोल्मामा तरकारी, नेर्पा र जालपामा रेन्बोट्राउट माछा पकेट क्षेत्रका आधारमा बजेट विनियोजनपछि काम सुरु भएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित : असार २, २०७६ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?