कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

साउदीमा कामदार लैजान गैरकानुनी अन्तर्वार्ता

होम कार्की

काठमाडौँ — साउदी दूतावासका काउन्सिलर नै हज टर्मिनलका लागि गैरकानुनी बाटो कामदार लैजान संलग्न पाइएका छन् । यसका लागि बुधबार अन्तर्वार्ता चलिरहेको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा वैदेशिक रोजगार विभागको टोलीले छापा मार्दा काउन्सिलर पनि भेटिएका हुन् । 

साउदीमा कामदार लैजान गैरकानुनी अन्तर्वार्ता

उनी ४८ सी.डी. ००३ लेखिएको नीलो ल्यान्डक्रुजरमा आएका थिए । जेद्दास्थित अन्तर्राष्ट्रिय विमानस्थलको हज टर्मिनलका लागि ४५ दिनलाई कामदार लैजान विभागबाट स्वीकृति नलिई अन्तर्वार्ता भइरहेको थियो । हजका लागि आउँदो अगस्ट महिना तोकिएको छ । यो समयमा विश्वभरका मुस्लिम तीर्थयात्री साउदी जाने गर्छन् ।


‘नेपाल सरकारले दुई वर्ष करार अवधिका लागि मात्रै श्रम स्वीकृति दिने नियम छ । मेता इन्टरनेसनल प्रालिले ४५ दिनका लागि भन्दै गैरकानुनी अन्तर्वार्ता लिँदा दूतावासका कर्मचारी भेटिए,’ विभागका महानिर्देशक भीष्मराज भुसालले कान्तिपुरसित भने, ‘अनुसन्धान टोली छापा मार्दा उहाँले आफू साउदी दूतावासको काउन्सिलर भएको र अन्तर्वार्ता नरोक्न आग्रह गर्नुभयो । हाम्रो टोलीले कूटनीतिक मर्यादाको प्रश्न उठाएपछि उहाँ अन्तर्वार्तास्थलबाट बाहिरिनुभयो ।’


काउन्सिलरको विस्तृत परिचय भने खुलाइएको छैन । अनुपम फुडल्यान्डमा मंगलबार र बुधबार अन्तर्वार्ता भइरहेको थियो । विभागको टोली पुग्दा २ सय जनाको अन्तर्वार्ता भइसकेको थियो । ७ सय जना लाइनमा थिए । ‘मैले जेद्दास्थित विमानस्थलको हज टर्मिनलमा सहयोगीका रूपमा काम गर्न अन्तर्वार्ता दिएको हुँ । ३२ केजीको झोला उचाल्न लगाए । पास भएपछि अर्को लाइनमा गएँ । त्यहाँ मेरो राहदानीमा दूतावासका कर्मचारीले राइट लगाइदिए,’ एक कामदारले कान्तिपुरसँग भने, ‘पास भएपछि मेडिकल चेकअप गर्नुपर्दैन भनिएको थियो ।’


अन्तर्वार्ता दिन आएका धीरज विष्टको राहदानीमा ११०३ नम्बर लेखिएको थियो । ‘बिहान ९ बजेदेखि अन्तर्वार्ता भइरहेको थियो । न्यूनतम तलब १२ सय रियाल भनिएको थियो । ओभरटाइम गर्दा १८ सय रियाल हुन्छ । यो तीन महिनाका लागि मात्रै भनिएको थियो,’ धीरजले भने, ‘एक्कासि २ बजे विभाग टोली आएपछि अन्तर्वार्ता बिथोलियो ।’


यसअघि विष्ट जेद्दा विमानस्थलमा काम गर्थे । अन्तर्वार्ता लिन साउदी ग्राउन्ड सर्भिस (एसजीएस) का सुपरभाइजरहरू आएको उनले बताए । ‘मैले उनीहरूलाई साउदीमै चिनेको हुँ,’ उनले भने, ‘छोटो समयका लागि भनेपछि आवेदन दिएको हुँ ।’


मेता म्यानपावरले झन्डै ७ सय ९ जना कामदार लैजाने मागपत्र लिएर आएको थियो । एक्लैले तुरुन्तै यति धेरै कामदार पठाउन नसक्ने भएपछि तार्गेट र फजल म्यानपावरलाई डिमान्ड बाँडेको थियो । महानिर्देशक भुसालले मेता म्यानपावरका सञ्चालकलाई २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको बताए ।

प्रकाशित : असार ५, २०७६ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?