कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

प्राविधिक अध्ययनबिनै सडक 

‘कृषि सडक हाम्रो टाउको दुखाइको विषय बनेको छ, प्राविधिक ज्ञान नभए पनि हामीबाट योजना कार्यान्वयन गराउनुपर्ने बाध्यता छ’

काभ्रे — प्रदेश सरकारले आर्थिक वर्षको अन्त्यमा कृषि सडकका लागि छुट्याएको बजेटले उपलब्धि दिन सकेको छैन । प्राविधिक स्टमेटबिनै वर्षा सुरु भएपछि खनिएका त्यस्ता सडक बजेट खर्च गर्नमा नै सीमित छन् । कतिपय स्थानमा आफूखुसी खनिएको भन्दै उजुरी परेका छन् । 

प्राविधिक अध्ययनबिनै सडक 

सडकसम्बन्धी प्राविधिक जनशक्ति नभएको कृषि ज्ञान केन्द्रमार्फत खर्च गर्ने गरी पठाइएको बजेट दुरुपयोग भएको सरोकारवाला नै बताउँछन् । ज्ञान केन्द्रमार्फत खर्च गर्ने गरी काभ्रेका ९ स्थानीय तहका ११ सडकका लागि ३ करोड ३० लाख र सिन्धुपाल्चोकको ६ स्थानीय तहका ९ सडकका लागि २ करोड ३५ लाख विनियोजन भएर काम भइरहेको छ ।


प्राविधिक सल्लाहबिनै खनेका सडक अलपत्र परेका छन् । नमोबुद्ध नगरपालिका–८ मा तल्लो हटिया सपनेश्वर दारिमबोट फलामेसाँघुका लागि विनियोजित ३५ लाखबाट खनिएको सडक १ किलोमिटर खनिएपछि अलपत्र पारेर अर्को रुटबाट खन्न थालिएको छ । कति योजनामा पुरानै बाटो मर्मत गरेर खर्च देखाइएको छ । धुलिखेलको कृषि सडकमा व्यक्तिको जग्गा बढी परेको भन्दै उजुरीसमेत परेको छ ।


आर्थिक वर्षको अन्त्यमा खनिएका सडकको पर्याप्त अनुगमनसमेत हुन सकेको छैन । आफ्नै प्राविधिक नभएका कारणले ज्ञान केन्द्रले पूर्वाधार विकास कार्यालयसँग सहयोग माग्नुपर्ने अवस्था छ । ‘कृषि सडक हाम्रो टाउको दुखाइको विषय बनेको छ, प्राविधिक ज्ञान नभए पनि हामीबाट योजना कार्यान्वयन गराउनुपर्ने बाध्यता छ,’ कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख कृष्णभद्र अधिकारीले भने, ‘अरूको मूल्यांकनका आधारमा काम गरेर भुक्तानी दिनुपर्छ, जनशक्ति अभावले पर्याप्त अनुगमन हुन नसकेकोले प्रभावकारी भएको छैन ।’


उनले सडकको पैसा स्थानीय तह वा सडक डिभिजन कार्यलयमार्फत खर्च गर्दा प्रभावकारी हुने तर्क गरे । सडक खन्दा समन्वय नभएको भन्दै स्थानीय तहले पनि असन्तुष्टि जनाउँदै आएको छ ।


पूर्वाधार विकास कार्यालय आफैंले पनि प्राविधिक उपलब्ध गराउन सक्ने अवस्था छैन । ‘अरू योजनाको निकास पनि आर्थिक वर्षको अन्त्यतिर नै आएर भएको छ, हामीलाई नै जनशक्ति अपुग छ,’ पूर्वाधार विकास कार्यालय काभ्रेका प्रमुख लोकनाथ रेग्मीले भने, ‘कृषिले सञ्चालन गरेको योजनामा प्राविधिक पठाउन सकिने अवश्था छैन, सकेसम्म व्यवस्थापन गर्दै आएका छौं ।’ प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि ज्ञान केन्द्रमार्फत १३ वटै जिल्लामा कृषि सडकका लागि रकम विनियोजन गरेको थियो ।


काभ्रेमा बेथानचोक –१ मा कलाङसिङ फुर्केथली साल्धारा सडकका लागि ३५ लाख, पाँचखाल–२ मा जेठ चौतारा देउराली ज्यामिरबोट सडकका लागि ३० लाख, पनौती–३ मा पुछारपाटी चौरदेखि आशापुरीसम्मका लागि २५ लाख र रोशी ६ मा तेमाल ४ नारायणस्थानदेखि माहुरेसम्म २५ लाख छुट्ट्याइएको छ ।


त्यस्तै, रोशी–६ मा घट्टेखोलाबजारदेखि नवल सिहालेसम्म २५ लाख, महाभारत–४ मा सुङ्गुरे बुढाखानी चौकीडाँडादेखि बेतिनीसम्म ३५ लाख, धुलिखेल–२ मा धुलिखेल ३ नयाँबस्तीबाट रविओपी–२ हुँदै पाँचखाल–२ पौवाटारसम्म ३५ लाख, नमोबुद्ध–९ मा दाप्चा गहतेदेखि फलामेसाँघुसम्म ३५ लाख, नमोबुद्ध–८ मा तल्लोहटिया सपनेश्वर दारिमबोट फलामेसाँघु सडकका लागि ३५ लाख, रोशी–९ मा दाउन्ने मंगलटार कामीटार हुँदै पुरानोगाउँसम्म ३५ लाख र खानीखोला ६ मा दयागाउँ महादेवटार खोल्मेडाँडा देउराली कृषि सडकका लागि ३५ लाख रकम विनियोजन भएको छ ।

प्रकाशित : असार ५, २०७६ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?