कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

प्रधानमन्त्री महिला क्रिकेट : प्रदेश २ र सुदूरपश्चिम विजयी

भवानी भट्ट

कञ्चनपुर — महेन्द्रनगरमा बुधबार सुरु चौथो प्रधानमन्त्री महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र प्रदेश २ ले विजयी भएका छन् । सुदूरपश्चिमले गण्डकी प्रदेश र प्रदेश २ ले कर्णाली प्रदेशलाई समान ९ विकेटले हराएका थिए । 

बुधबार दोस्रो खेलमा ५९ रनको लक्ष्य पाएको प्रदेश २ ले ६.१ ओभरमै जित हात पार्‍यो । शान्ति चौधरीले १८, नीरकुमारी बालाम्पाकीले १५ र सरस्वती चौधरीले २ रन बनाए । एकमात्र विकेट कर्णालीकी सरिता जिसीले लिइन् ।


टस जितेको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाई ५७ रनमात्रै बनाएको हो । रविना चौधरीले १३ रनबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । २१ रन अतिरिक्त पाएको थियो । प्रदेश २ बाट शान्ति चौधरीले ३, गोमा आले, आरती चौधरी, शोभा आले र कविता गौतमले १–१ विकेट लिए । प्लेयर अफ द म्याच सन्तोषी चौधरी भइन् ।


पहिलो खेलमा सुदूरपश्चिमले गण्डकीलाई सस्तैमा समेटेर सहज जित निकाल्यो । गण्डकीले दिएको ५९ रनको लक्ष्य सुदूरले १ विकेट क्षतिमा ७ ओभरमै पूरा गर्‍यो । सुदूरका लागि कविता कुँवरले २१, कविता जोशी र रेवती धामीले १२–१२ रन बनाए । एकमात्र विकेट गण्डकीकी मनीषा उपाध्यायले लिइन् । गण्डकीले १५ रन अतिरिक्त दिएको थियो ।


गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ५८ रनमात्रै बनाउन सक्यो । सुशीला गुरुङ १७ र शिला रेग्मीले १९ रन बनाए । सुरुदेखि नै दबाबमा रहेको गण्डकीका ५ खेलाडी गोल्डेन डकआउट भए । ओपनरद्वय सरु राजभण्डारी र सृष्टि पौडेल पनि खाता नखोलेरै रनआउट हुन पुगे । सुदूरपश्चिमका कविता कुँवर, जानकी भट्ट र लक्ष्मी साउदले २–२ विकेट लिए भने कविता जोशीले १ विकेट लिइन् । प्लेयर अफ द म्याच सुदूरपश्चिकी कविता कुँवर भइन् ।


महेन्द्रनगरको कभर्डहलमा भएको प्रतियोगिता विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । वुमेन अफ द सिरिजले ३० हजार र उत्कृष्ट बलर र ब्याट्सवुमेनले समान १५ हजारबराबरको खेल सामग्री पाउनेछन् । प्लेयर अफ द म्याचले २ हजार ५ सय पुरस्कार पाउनेछन् ।


जेठ ११ सम्म चल्ने प्रतियोगितामा बिहीबार एपीएफ र सुदूरपश्चिम तथा कर्णाली प्रदेश र प्रदेश ३ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रकाशित : असार ५, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?