कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

एएफसी कपबाट बाहिरियो मनाङ 

अबहनी ५–० मनाङ

काठमाडौँ — सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लब बंगबन्धु रंगशालामा बुधबार अबहनी लिमिटेड ढाकासामु ५–० ले नतिजा सुम्पँदै एएफसी कप २०१९ को समूह चरणबाटै बाहिरिएको छ ।

एसियाली क्लब फुटबलमा च्याम्पियन्स लिगपछिको महत्त्वपूर्ण प्रतियोगिता एएफसी कपको समूह ‘एफ’ को पहिलो खेलमा पनि मनाङले अबहनीविरुद्ध नै प्रतिस्पर्धा गरेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतिस्पर्धामा पाहुना टिमले १–० को जित हात पारेको थियो । त्यसमा बल पोजेसन राम्रो रहेको तथ्यांक प्रस्तुत गर्दै मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले ढाकामा राम्रो खेल्ने र जित पार्ने दाबी गरेका थिए । तर, खेल ठीक उल्टो भएको छ ।


घरेलु मैदानमा अबहनीले एकतर्फी प्रदर्शन गर्‍यो । नेपाली राष्ट्रिय टिमका कप्तान विराज महर्जनको नेतृत्वमा रहेको मनाङका खेलाडीले मुस्किलले बल पोस्टसम्म पुर्‍याएको देखिन्थ्यो । पूरा खेलमा मनाङले पाँचपल्ट पोस्ट प्रहार गर्‍यो र त्यसमध्ये एक प्रहारमात्र ‘फ्रेम’ मा गएको थियो । एएफसीको तथ्यांकअनुसार अबहनीले ३३ पल्ट आक्रमण गर्‍यो र त्यसमा ११ प्रहारमा बलले सही निशाना लिएको थियो । बल पोजेसन भने मनाङकै पक्षमा रह्यो ।


अबहनीले मोहमद नबिब जीवनको गोलमा ११ औं मिनेटमै अग्रता लिएको थियो । बंगलादेशी फेडेरेसन कप विजेताको रूपमा महादेशीय प्रतियोगितामा अवसर पाएको अबहनीले हाइटीका फरवार्ड केरभन बेल्फोर्टले पहिलो हाफको इन्ज्युरी टाइममा अग्रता दोब्बर बनायो । दोस्रो हाफमा जेवेल राना, सन्डे चिजोबा र मामुनुल इस्लामले गोल गरे ।


‘होम एन्ड अवे’ का आधारमा भइरहेको प्रतियोगितामा ५ खेलबाट १० अंक जोड्दै अबहनी शीर्षस्थानमा उक्लियो । गुवाहाटीमा मिर्नवा पन्जाबलाई १–१ मा रोकेको चेन्नई एफसी ८ अंकसहित दोस्रोमा छ । गोलअन्तर राम्रो भएकाले अन्तिम खेलमा मिर्नवाविरुद्ध बराबरी गर्नसके पनि अबहनी प्लेअफमा पुग्नेछ । मनाङ भने तेस्रो हारसँगै बाहिरियो ।

प्रकाशित : असार ५, २०७६ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?