१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ब्राजिललाई भार बाधक

एएफपी

साल्भाडोर — फिलिप कौटिन्होको गोल भारको विवादास्पद निर्णयका कारण अमान्य घोषणा भएपछि ब्राजिलले मंगलबार कोपा अमेरिकामा भेनेजुएलासँग गोलरहित बराबरी खेलेको छ । कौटिन्होले ८७ औं मिनेटमा बललाई पोस्टको दिशा दिए ।

ब्राजिललाई भार बाधक

त्यति बेला तय देखिएको थियो अब ब्राजिल क्वाटरफाइनल पुग्नेछ । तर चिलीका रेफ्री जुनियो बस्कननले भिडियो सहायक रेफ्री (भार) को सल्लाहले त्यसलाई गोल दिएनन् । लिभरपुल फरवार्ड रोबर्टो फिर्मिनोले बल छोएका कारण गोल नदिएको थियो ।


उनी त्यति बेला अफसाइड स्थितिमा थिए वा थिएनन्, त्यो भने स्पष्ट भएन । ब्राजिलको गोललाई रेफ्रीले मान्यता नदिएको यो खेलमा दोस्रोपल्ट रह्यो । खेलपछि मैदान छाड्न ब्राजिली समर्थकले फेरि एकपल्ट टिमलाई खिल्ली उडाए । बराबरीपछि पनि ब्राजिल समूह ‘ए’ को शीर्षस्थानमा छ । ब्राजिलको २ खेलबाट ४ अंक भएको छ । ब्राजिलले अब लिग चरणमा एक खेल खेल्न बाँकी छ । भेनेजुएलाको २ खेलबाट २ अंक भएको छ । भेनेजुएलाको पनि नकआउट पुग्ने सम्भावना कायम छ ।


मंगलबार अर्को खेलमा बोलिभियाले लगातार दोस्रो हार बेहोर्‍यो । टोली पेरुसँग ३–१ ले पराजित रह्यो । पेरुको पनि समान ४ अंक छ । बोलिभियाविरुद्धको पहिलो खेलमा जितका लागि संघर्ष गरेको ब्राजिलले दोस्रो खेलमा पनि गोलको अवसर सिर्जना गर्न खासै सकेन । भेजुएलाका डिफेन्डर योर्डन ओसोरो र मिखेल भिलानेएभाले फिरमिनोलाई लगभग शान्त जस्तै स्थितिमा राखे । दोस्रो हाफमा ब्राजिलले केही सुधारिएका खेल प्रदर्शन गरे पनि त्यो पर्याप्त रहेन ।


खेलमा ७५ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको ब्राजिलले दोस्रो हाफमा पोस्टतर्फ एकै प्रहार मात्र गर्न सक्यो । खेलका सबैभन्दा निर्णायक देखिन सक्ने आक्रमण भेनेजुएलाको नाममा रह्यो, जति बेला सलोमन रोन्डोनले यान्गेल हेरेराको क्रसमा गरेको हेड पोस्टबाट नजिकको दूरीबाट बाहिरिएको थियो । यसअघि ३८ औं मिनेटमा फिर्मिनोले गोल गरे पनि त्यसक्रममा फाउल गरेको आरोपमा रेफ्रीले त्यसलाई पनि मान्यता दिएका थिएनन् ।


रियो दी जेनेरियोमा भएको खेलमा भने पेरुले जितसँगै क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनायो । त्यस जितमा कप्तान पाओलो गुरेरो र फरवार्ड जेफरसन फारफनले एक गोल गर्दै एक अवसर पनि सिर्जना गरे । बोलिभियाले मार्सेलो मारेनोले पेनाल्टीबाट गरेको गोल मदतले अग्रता लिएको थियो । तर गुरेरोले पहिलो हाफमै बराबरी गोल गरे । पेरुलाई पहिलोपल्ट खेलमा अग्रता दिलाउने काम भने एडिसन फ्लोरेले गरे । त्यसपछिको गोल जेफरसनको नाममा रह्यो ।

प्रकाशित : असार ५, २०७६ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?