कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भूकम्पपीडितका थरीथरीका समस्या

हरिराम उप्रेती

गोरखा — छिमेकी नयाँ घरमा बस्न थाले । सहिद लखन गाउँपालिका–८ बुंकोट छापथोकका ८० वर्षीय इमबहादुर श्रेष्ठको परिवार टहरोमै छ । आर्थिक अभावले उनको घरले पूर्णता पाउन सकेको छैन । 

टहरोको कष्टकर बसाइ लम्बिएको छ । इमबहादुर दमका रोगी छन् । हातखुट्टा पनि सुन्निएका छन् । ‘घर बनाउने पैसा खोज्न गाउँ चाहार्न पनि सकेको छैन,’ उनले दुखेसो पोखे । बाँसले बारेको जस्ताको छाना भएको टहरो यसै पनि साघुँरो छ । ‘खाने सुत्ने एकै ठाउँमा हो,’ उनले भने, ‘टहरोले पानी पनि ओत्दैन ।’ उनको घर चर्किएर जीर्ण बनेको छ ।


भूकम्पपीडितको लाभाग्राही सूचीमा नाम समावेश भएका श्रेष्ठले पहिलो र दोस्रो किस्ता बुझेर नयाँ घरको डीपीसी पनि सकेका छन् । २०७३ माघमा थालेको घर रकम अभावमा पूरा गर्न नसकेको उनले बताए । ‘दुईकोठे घर बनाउन लागेको, साढे ७ लाख जति लाग्ने अनुमान गरेको छु,’ उनले भने, ‘अब एक लाख किस्ता घरको धुरी छाएपछि मात्र पाइन्छ, अहिले गारो लगाउनै पैसा छैन ।’


अनुदान सम्झौता गर्दा ५० हजार, डीपीसी सकेपछि दोस्रो किस्ताको १ लाख ५० हजार र छाना छाएपछि अन्तिम किस्ताको एक लाख अनुदानबापत पाउने प्रावधान छ । उक्त रकम पाउँदा पनि घर पूर्णता दिन नसक्ने भन्दै श्रेष्ठ चिन्तित छन् । निर्माण सामग्रीको भाउ महँगिदा थप समस्या परेको बुहारी शर्मिला बताउँछिन् ।


गाउँपालिकाले नौवटै वडामा आर्थिक अभावमा घर निर्माण गर्न नसक्नेका लागि प्रत्येक वडामा एक लाखको दरले घुम्ती कोष पनि स्थापना गरेको छ । श्रेष्ठको घर घुम्ती कोषको एक लाख दिए पनि पूर्ण नहुने देखिएपछि अलमलमा परेको वडाध्यक्ष काशीनाथ अमगाईले बताए । ‘निर्माण सक्न अझै ३/४ लाख लाग्ने देख्यौं, अन्य दाताबाट केही रकम जुटे, घुम्ती कोषको एक लाख दिएर घर निर्माण पूरा गर्न सहयोग गर्थ्यौं,’ अमगाईले भने ।


स्थानीय अमरबहादुर श्रेष्ठलाई छाना छाउन रकम अभाव भएपछि घुम्ती कोषको एक लाख उपलब्ध गराइएको थियो । ‘घुम्ती कोषको पैसा वडाकै खातामा छ,’ उनले भने, ‘इमबहादुरको घर बनाउन रकम अभाव छ भनेर हामीले पनि बुझेका छौं, घुम्ती कोषको रकम दिएर पनि नपुग्ने, अन्योलकै स्थिति छ ।’


विभिन्न संघसंस्थाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा अधिकांश भूकम्पपीडितले आफ्नै समस्या सुनाए । दुईकोठे घरको निर्माण पूरा नहुँदै नयाँ घरमा सरेकी पम्फा लम्साल सरकारी अनुदान ३ लाखले घर निर्माण गर्नै नपुगेको बताउँछिन् । भन्छिन्, ‘दुई कोठाको घर बनाउन १० लाख लाग्यो, यति खर्च गरेर बनाएको घरमा चारजनाको परिवार पनि अट्न मुस्किल छ ।’


भूकम्पअघिको तला भएको घर र धन्सार भत्किएपछि राखनधरनकै समस्या थपिएको उनको गुनासो छ । ‘पहिले एउटा घरमा राखनधरन, धन्सार सुत्ने गर्थ्यौं, घर धन्सार दुवै भत्किए,’ उनले भनिन्, ‘अहिले बनेको दुईकोठे घरमा सुत्न खान पनि पुग्दैन, तला छैन, अन्नपात कहाँ राख्ने ।’ बुंकोटकै कृष्णमाया खनाल पनि भूकम्पअघिको घर सम्झिन्छिन् ।


‘दुईतले घर फराकिलो, जता जे समान राखे पनि हुने भत्कियो,’ उनले भनिन्, ‘अहिले बनेको घरमा आठजनाको परिवार बस्नुपरेको छ ।’ दुईकोठे घर निर्माण गर्न कम्तीमा पनि ५ लाख लागेको बुंकोटकै खलीबहादुर श्रेष्ठले बताए । ‘ढुंगामाटो यहीँको प्रयोग गरेको छु, त्यति गर्दा पनि ६–७ लाखले पुगेन,’ उनले भने ।


वडा ८ मा ६३७ र वडा ७ मा ७९५ घरको निर्माण सकिएको छ । केही निर्माणाधीन छन् । भूकम्पको चार वर्ष बितिसक्दासम्म आफू अनुदान पाउन छुटेको भन्दै गुनासो गर्न आउने रहेको वडा ७ का अध्यक्ष शरण श्रेष्ठले बताए । यस्ता छुटेका घरधुरीका लागि अहिले सर्वेक्षणको काम सुरु भएको उनको भनाइ छ ।


यहाँका केही नपाउनुपर्नेले पनि अनुदान पाएको र केही पाउनुपर्ने पनि छुटेको गुनासो गरे । प्रबलीकरण सूचीमा परेका ३६ जनाले पूर्ण लाभाग्राहीमै पर्नुपर्ने माग राख्दै पुनरावेदन गरेका छन् ।

प्रकाशित : असार ५, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?