कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सार्वजनिक जग्गा मिचेर चारतारे होटल

मधु शाही

बाँके — नेपालगन्जस्थित चारतारे होटल ‘सिग्नेट इन कृष्णा’ का सञ्चालक दीपेन्द्र अग्रवालले सार्वजनिक र व्यक्तिले दान गरेको मन्दिरको जग्गा मिचेर होटल एवं स्विमिङ पुल बनाएको भन्दै स्थानीयले विरोध जनाएका छन् । उपमहानगरपालिकालाई छानबिन र कारबाही प्रक्रिया अघि बढाउन बुधबार उनीहरूले हस्ताक्षर संकलन सुरु गरेका छन् । 

वडा–२ मा पर्ने उक्त होटल हिन्दुहरूको आस्था केन्द्र शिवजीको पूजा आराधना गर्न पुजारीलाई दान दिएको जमिनमा होटल निर्माण भएको स्थानीयको दाबी छ । स्थानीय सुरेन्द्रकुमार श्रेष्ठका अनुसार होटलले शिव मन्दिरको साढे ६ कट्ठा जमिनमा स्विमिङ पुल बनाएको छ । साथै उनले होटल छेउमै रहेको आफ्नो करिब ४ धुर जग्गा पनि होटल सञ्चालक दीपेन्द्रले आफ्नो भन्दै अदालतमा उल्टै मुद्दा दायर गरेको गुनासो गरे ।


जग्गा विवादमा आएपछि जिल्ला अदालत बाँकेले सत्यतथ्य जानकारी दिन मालपोत र नापी कार्यालयमा सक्कली मिसिल पठाउन पत्र लेखेको छ । अदालतले मालपोत कार्यालयमा पटक–पटक मिसिल पठाउन पत्र काटे पनि अहिलेसम्म मिसिल आउन सकेको छैन ।


अदालतले चारपटकसम्म मालपोत कार्यालयलाई मिसिल पठाउन ताकेता पत्र पठाएको छ । त्यसको जवाफ अहिलेसम्म अदालतले नपाउँदा नापी र मालपोतका कर्मचारीप्रतिको आशंका बढेको श्रेष्ठले बताए । ०७५ मंसिर २६ गते मालपोत र नापीसँग मिसिल माग गरिएको थियो । त्यसपछि पनि कागजात नआएपछि अदालतले ०७६ वैशाख १२ गते पुनः पत्राचार गरे पनि अहिलेसम्म मालपोत र नापीले पत्र पठाएका छैनन् ।


मालपोत कार्यालय बाँकेका प्रमुख प्रेमबहादुर दौल्यास आफूलाई त्यसबारे जानकारी नभएको भन्दै तर्किए । ‘अदालतले पत्र पठाएको होला, मेरो हातमा परेको छैन । बुझौंला,’ उनले भने ।


झन्डै डेढ वर्षअघि नगरपालिकाले होटलको छेउमा सार्वजनिक पुल बनाएको थियो । त्यो पुल पनि मिचेर होटलले प्रयोग गर्दै आएको सुरेन्द्रको आरोप छ । मालपोत कार्यालयका कार्मचारी र तत्कालीन नगरपालिकाका केही कर्मचारीको मिलेमतोमा जमिन कब्बा भएको वडावासीको दाबी छ । होटल सञ्चालक दीपेन्द्रले भने आफूमाथि लगाएका सबै आरोप झूटा भएको बताए ।


आफू र परिवारका नाममा साढे १७ कट्ठा मात्रै जमिन रहेको उनले बताए । त्यसैमा उनले होटल सञ्चालन गरेको सुनाए । ‘स्विमिङ पुल बनेको ठाउँमा मोही पाकी चुलिमार नाम गरेका व्यक्ति बस्थे,’ उनले भने, ‘मैले पैसा दिएर उनलाई अन्यत्र बसाइँसराइ गराएको हुँ ।’ दीपेन्द्रले सार्वजनिक र निजी जग्गा मिचेर २२ कट्ठा जमिन आफ्नो बनाएको सुरेन्द्रले दाबी गरे ।

प्रकाशित : असार ५, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?