कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चित्रमा तीनपुस्ते अनुभव

सुशीला तामा‌ङ

काठमाडौँ — सुनसान जंगल छ । जंगलको बीचमा एउटी बालिका रगताम्य अवस्थामा रोइरहेकी छन् भने एक वयस्क पुरुषले हातमा चकलेट दिएर उनको मुख थुनिरहेको छ । बालबालिकामाथिको यौन हिंसालाई दर्साइएको यो चित्रबाट पछिल्लो पुस्ताको मनोविज्ञान बुझ्न सकिन्छ ।

चित्रमा तीनपुस्ते अनुभव

‘स्टप आई एम नट बर्न टु बी रेप्ड’ शीर्षकको यो चित्र माउन्ट ओलिभ स्कुल कक्षा ८ कि सम्मृद्धि दर्शनधारीले बनाएकी हुन् । त्यस्तै ओलिभ स्कुल कक्षा ८ कै दीक्षा महर्जनले ‘सेभ द अर्थ’ शीर्षकमा हवाई आक्रमणबाट ध्वस्त बस्ती र वीभत्स अवस्थामा एउटी महिलालाई कलामा देखाएकी छन् ।


बबरमलस्थित आर्ट काउन्सिलमा जारी कला प्रदर्शनीमा लगभग पाँच सयभन्दा बढी स्कुलका आठ सयवटा कलाकृति र अग्रजका समेत गरेर एक हजार चित्रहरू सजिएका छन् । ती चित्रहरूमार्फत नयाँ पुस्ताले आफू हुर्किरहेको समाज र परिवेशप्रति दृष्टिकोण मात्रै प्रकट गरेको छैन, कलाकर्मप्रति यो पुस्ताको लगावसमेत प्रस्तुत गरेको छ ।


रोचक के भने, कला सिक्दै गरेका किशोरकिशोरी, युवा र अग्रज गरी तीनपुस्ते अनुभव प्रदर्शनीमा हेर्न पाइन्छ । प्रायः चित्रहरूमा सामाजिक, सांस्कृतिक, प्राकृतिकजस्ता पक्षहरूको प्रभाव देखिएको छ । प्रदर्शनी अवलोकनका लागि कलंकीबाट आएकी जयन्ती सापकोटाले बालबालिकाको कलाहरूले निकै नै प्रभावित भएको बताइन् ।


‘बालबालिकाहरू त्यसै पनि संवेदनशील र उत्सुक हुन्छन् । अभिभावकहरूले बच्चा न हो भनेर उनीहरूको कुरामा ध्यान नदिए पनि आफूवरिपरि भइरहेको हरेक गतिविधि, घटनाहरूले उनीहरूलाई प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ ।’ उनले भनिन्, ‘स्कुल लेभलमा पढ्ने भाइबहिनीहरूको आर्टमा उनीहरूले देखेका, सुनेका कुराहरू आएका छन् ।’


प्राकृतिक पक्षहरूमा आएको परिवर्तन, ह्रासको विषयमा पनि बालबालिकाहरू सजक र सचेत छन् । ती सबै पक्षहरूलाई उनीहरूले नजिकबाट नियालिरहेका हुन्छन् । त्यही प्रभावलाई मोर्डन इन्डियन स्कुलकी खुसी सराफले ‘सेभ द अर्थ’ शीर्षकमा मासिँदै गइरहेका वातावरणलाई कलामा प्रस्तुत गरेकी छन् । उनको कलामा उजाड ठाउँमा एउटी बालिकाले हरियाली वनजंगल, जनावर, नदीनाला, स्वयम्भू र अन्य मठमन्दिरहरू टाउकामा बोकेर हिँडेकी छन् ।


प्रदर्शनीमा पूर्वप्राथमिक तहको बालबालिकाहरूको कलाहरू पनि समावेश गरिएका छन् । पियर्स किन्डर गार्डेन एलकेजीकी इशानी नेपालले कोरेको पानीमा तैरिरहेका माछाको चित्र र पियर्सकै यूकेजीका जयन स्थापितले कोरेको पुतलीको चित्र निकै सुन्दर छन् । प्रदर्शनीमा विद्यालय मात्र नभएर २३ वटाभन्दा बढी कलेजहरूको विद्यार्थीहरूको कलासमेत प्रदर्शनमा राखिएका छन् ।


विद्यालय तथा कलेजका विद्यार्थीहरूको कला प्रतिस्पर्धापछि उत्कृष्ट ठहरिएका कलाहरू प्रदर्शनीका लागि ल्याइएको कार्यक्रमका संयोजक श्यामकृष्ण श्रेष्ठले बताए । प्रदर्शनीमा अग्रज कलाकारहरूको सिर्जनाले बेग्लै आकर्षण पस्किरहेको छ । प्रायः अग्रजहरूले आ–आफ्नै सिग्नेचर थिम छाडेका छैनन् ।


जस्तो शशी शाहले घोडाकै विम्बमा क्यानभास पोतेका छन्, सुषमा राजभण्डारीले गणेशलाई प्रतीक बनाएकी छन् । अग्रज पुस्ताका कलाकर्म प्रायः धार्मिक प्रकृतिका छन् । झलक केसीले पशुपति र विजय कोइरालाले बुद्धलाई उतारेका छन् । रोशन प्रधान, रामकृष्ण महर्जन, अजित शाहका चित्र पनि छन् । तीनवटै पुस्ताका कलाकारहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्न र सबैको कलाहरू एकैचोटि प्रदर्शन गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको संयोजक श्रेष्ठले उल्लेख गरे ।


उनका अनुसार कलामा कलाकारहरूको अभिव्यक्तिमा कुनै उमेर समूहले खास प्रभाव पार्दैन । युवा कलाकारहरूको कलामा पनि पुरानो रीतिथिति, धर्म तथा संस्कार झल्कन सक्छ भने पुराना कलाकारहरूको कला अभिव्यक्ति शैलीमा नयाँ परिवेश, रहनसहन र अवस्था झल्कन सक्छ ।


‘नयाँ पुस्तामा पनि अग्रज कलाकारहरूको प्रभाव छ । उनीहरूले पुरानो शैलीलाई नै पछ्याएर कला तयार पारेका छन्,’ उनी भन्छन् । युवाहरूलाई खुला कला प्रतिस्पर्धाको माध्यमबाट एउटै मञ्चमा ल्याउनु कार्यक्रमका अर्को लक्ष्य रहेको कार्यक्रम क्षेत्रीय संयोजक प्रतिभा विश्वकर्माले बताइन् ।


प्रदर्शनीमा पहिलो ठहरिएको हिमालयन कलेजका दीपेश सिजाल मगरको थांका चित्र, द्वितीय स्थान पाएका ख्वपः इन्जिनियरिङ कलेजका राहुल प्रजापतीको देवी कुमारीको चित्र र तृतीय स्थान रहेको लिंकन कलेजकी आकांक्षा सिंहको स्वयम्भूनाथको चित्र निकै नै सुन्दर छ । त्यसैगरी विद्यालयस्तरीय प्रतिस्पर्धाबाट उत्कृष्टतामा पर्न सफल क्रमशः प्रथम, द्वितीय, तृतीय विद्यार्थी तमना अग्रवाल, खुश्बु तामाङ, नेहिका महर्जनका सामाजिक तथा धार्मिक विषयवस्तुका कलाहरू पनि उत्कृष्ट छन् ।


प्रायः कलाहरूमा सामाजिक, धार्मिक तथा प्राकृतिक पक्षहरूको प्रभाव रहेको संयोजक श्रेष्ठले बताए । अलफ्रेस्को मिडिया एन्ड म्यानेजमेन्टले गरेको प्रदर्शनी असार १२ सम्म जारी रहनेछ ।

प्रकाशित : असार ५, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?