कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

शान्तिपूर्ण देशमा नेपाल ७६औं स्थानमा

ग्लोबल पिस इन्डेक्स २०१९
एजेन्सी

काठमाडौँ — विश्वको सबैभन्दा शान्तिपूर्ण मुलुकमा यो वर्ष नेपाल ७६ औं स्थानमा रहेको छ । विश्वका सबैभन्दा बढी र कम शान्तिपूर्ण मुलुकबारे सूचकांक (जीपीआई) जारी गर्ने संस्था ‘इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस (आईईपी) को पछिल्लो रिपोर्टले नेपाललाई उक्त स्थानमा सूचीकृत गरेको हो । 

शान्तिपूर्ण देशमा नेपाल ७६औं स्थानमा

हालै प्रकाशित पछिल्लो ग्लोबल पिस इन्डेक्स (जीपीआई) का अनुसार नेपाल १२ स्थानमाथि उक्लेको छ । सूचकांकले सिरियाको स्थानमा अफगानिस्तान अब विश्वकै सबैभन्दा कम शान्तिपूर्ण देश बनेको देखाएको छ । आइसल्यान्ड २००८ यता सबैभन्दा बढी शान्तिपूर्ण देशका रूपमा आफ्नो स्थान लगातार कायमै राखेको छ ।


आईईपीको सूचकांकले पाँच वर्षयता पहिलो पटक विश्वभर शान्तिमा केही सुधार भएको पनि देखाएको छ । १६३ देशलाई समेटेर तयार पारिएको यो १३ औं संस्करणमा औसत रूपमा मुलुकहरूको स्कोरमा ०.०९ प्रतिशतले सुधार भएको उल्लेख छ । ८६ मुलुकहरूमा बढी शान्तिपूर्ण अवस्था रहेको र ७६ मुलुकमा गिरावट देखिएको छ ।


जीपीआईमा आइसल्यान्ड शीर्ष स्थानमा रहेको छ । त्यसपछि न्युजिल्यान्ड, पोर्चुगल, अस्ट्रिया, डेनमार्क र क्यानाडाको रहेको छ । क्षेत्रगत आधारमा युरोप सबैभन्दा बढी शान्तिपूर्ण रहेको छ । मध्यपूर्व र उत्तरी अफ्रिकी मुलुकहरू अझै पनि सबैभन्दा कम शान्तिपूर्ण रहेका छन् । सोमालिया, इराक, यमन, दक्षिण सुडान र सिरिया सूचकांकमा सबैभन्दा तल अफगानिस्तानसँगै नजिक रहेको छ ।


रिपोर्टअनुसार यमनलाई पहिलो पटक पाँच सबैभन्दा कम शान्तिपूर्ण मुलुकमा सूचीबद्ध गरिएको छ । पर्यवेक्षकहरूका अनुसार १३ डिसेम्बरमा त्यहाँ युद्धरत दलहरूद्वारा हस्ताक्षरित ‘स्टकहोम सम्झौता’ निष्क्रिय भएर यो अवस्था आएको हुन सक्ने विश्लेषण गरिएको छ । मध्य पूर्व र उत्तरी अफ्रिकाको जीपीआई यो वर्ष पनि खराबै रहेको छ ।


एसिया प्रशान्त र युरोपमा अघिल्लो वर्षको तुलनामा बढी शान्तिपूर्ण रहेको देखिएको छ । तर, अमेरिका खस्किएको छ । मध्य अमेरिका र क्यारेबियनमा सबैभन्दा बढी गिरावट देखिएको छ । त्यस्तै, दक्षिण अमेरिकापछि उत्तरी अमेरिकाको अवस्था छ । निकारागुवा र भेनेजुएलामा राजनीतिक अस्थिरतालाई शान्तिका लागि प्रमुख बाधक मानिएको छ । यसैगरि, अमेरिका र ब्राजिलमा राजनीतिक ध्रुवीकरणले पनि जीपीआई सूचकांक प्रभावित भएको छ ।


सबैभन्दा बढी शान्तिपूर्ण १० मुलुक

विश्वका सबैभन्दा बढी शान्तिपूर्ण १० मुलुकहरूमा आइस्ल्यान्ड, न्युजिल्यान्ड, पोर्चुगल, अस्ट्रिया, डेनमार्क, क्यानाडा, सिंगापुर, स्लोभेनिया, जापान र चेक रिपब्लिक रहेका छन् ।


यीमध्ये आइसल्यान्ड, न्युजिल्यान्ड र क्यानाडा आफ्नो स्थानमा पहिलेझैं कायम रहेका छन् । पोचुर्गल, सिंगापुर र स्लोभानिया दुईदुई स्थान माथि उक्लेका छन् । अस्ट्रिया, डेनमार्क र जापान भने एकएक स्थान र चेक गणतन्त्र तीन स्थान तल झरेको छ ।


सबैभन्दा कम शान्तिपूर्ण १० मुलुक

विश्वका सबैभन्दा कम शान्तिपूर्ण १० मुलुकहरूमा अफगानिस्तान (१६३औं), सिरिया, दक्षिण सुडान, यमन, इराक, सोमालिया, मध्य अफ्रिकी रिपब्लिक, लिबिया, डेमोक्रेटिक रिपब्लिक अफ कंगो र रूस रहेका छन् ।


यी दस मुलुकपछि पाकिस्तान (१५३ औं) को स्थान छ । यो सूचीमा सिरया, इराक, सोमालिया र लिबिया एकएक स्थान माथि उक्लेका छन भने अफगानिस्तान, मध्य अफ्रिकी रिपब्लिक र रूस एकएक स्थान तल झरेको छ । सूचीमा दक्षिण सुडान र डीआर कंगो आफ्नो स्थितिमा कुनै परिवर्तन गर्न सकेको छैन भने यमन दुई स्थान तल ओर्लेको छ ।


सार्क मुलुकहरूको अवस्था

सार्क मुलुकहरूमा भुटान (१५औं) दुई स्थान माथि उक्लिँदै यो क्षेत्रकै सबैभन्दा शान्तिपूर्ण मुलुकका रूपमा सूचीबद्ध छ । त्यसपछि श्रीलंका (७२औं) दुई स्थान तल झरेको छ । सार्क मलुकहरूमै नेपाल (७६औं) १२ स्थान माथि उक्लिएको छ । सार्क क्षेत्रको शान्तिपूर्ण मुलुकमा चौथो स्थानमा रहेको बंगलादेश ९ स्थान तल झर्दै १०१औं स्थानमा छ । पाँचौंमा भारत (४ स्थान तल खस्कँदै समग्र सूचीमा १४१औं ) र पाकिस्तान छैटौं (समग्र सूचीमा दुई स्थान तल झर्दै १५३औं) स्थानमा रहेका छन् । माल्दिभ्सलाई सूचीमा समावेश छैन ।


चीन र अमेरिकाको स्थान

ग्लोबल पिस इन्डेक्समा चीन दुई स्थानमाथि उक्लिँदै ११०औं स्थानमा रहेको छ । विश्वव्यापी ध्रुवीकरणका कारण अमेरिका जीपीआईमा १२८औं स्थानमा परेको अनुसन्धानकर्ताहरूले जनाएका छन् । अमेरिकाको यो स्थान अघिल्लो वर्षको तुलनामा ४ स्थान तल झरेको हो । इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिसले १६३ मुलुक र क्षेत्रहरूलाई र्‍याकिङ गरेको छ । यी देशहरूको जनसंख्या विश्वको कुल जनसंख्याको ९९.७ प्रतिशत प्रतिनिधित्व गर्छ ।


'शान्तिपूर्ण’ देश बन्ने आधारहरू

  • हिंस्रक प्रदर्शनको सम्भावना
  • राजनीतिक अस्थिरता
  • हिंस्रक अपराधको स्तर
  • साना तथा हलुका हतियारहरूमा सजिलै पहुँच
  • संगठित आन्तरिक द्वन्द्वमा मृत्यु हुनेको संख्या
  • सैन्य खर्च
  • संयुक्त राष्ट्रसंघको शान्ति अभियानमा आर्थिक सहयोग
  • छिमेकी मुलुकहरूसँगको सम्बन्ध

प्रकाशित : असार ५, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?