१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अंग्रेजी माध्यम भन्दैमा गुणस्तर सुध्रिन्छ ?

विप्लव भट्टराई

इलाम — सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने लहड चलिरहेका बेला यसले पार्ने प्रभावका विषयमा गम्भीर बन्नुपर्ने सरोकारवालाले बताएका छन् । बिना योजना र तयारी विद्यार्थीको संख्या थप्ने बहानामा देशव्यापी रूपमा अंग्रेजीलाई माध्यम बनाइरहँदा विद्यार्थीले अपेक्षाकृत उपलब्धि हासिल गर्न नसक्ने तर्क उनीहरूको छ ।

अंग्रेजी पहिलो भाषा नभएका विद्यार्थी र शिक्षक दुवैलाई यसले अप्ठेरो पारेको त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र केन्द्रीय विभागका प्रेम फ्याकको धारणा छ । ‘अंग्रेजी माध्यमबाट पढाउँदैमा गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने गलत मान्यता बसेको छ,’ उनले भने, ‘न शिक्षकले राम्ररी पढाउन सक्छन् न विद्यार्थीले नै बुझ्न सक्छन् ।’ विश्वव्यापी अध्ययनले पनि बहुभाषिक ज्ञान भएको विद्यार्थीले नै गुणस्तरीय शिक्षा प्राप्त गरेको देखाएको छ ।


निजी क्षेत्रका विद्यालयमा अंग्रेजी माध्यम अपनाइरहँदा लब्धांक पत्रलाई मात्र आधार मानेर पठनपाठन भइरहेको गुनासो आइरहँदा विद्यार्थी तान्ने र गुणस्तर सुधार गर्ने बहानामा सामुदायिक स्कुल पनि उही बाटोमा लाग्न नहुने सदरमुकाममा आइतबार शिक्षा पत्रकार समूहले आयोजना गरेको कार्यक्रमका सहभागीको भनाइ थियो ।


अंग्रेजी भाषालाई विषयका रूपमा मात्र अध्यापन गराएर स्थानीय भाषालाई माध्यम बनाउनुपर्ने सुझाव अधिकांशको छ । अंग्रेजी माध्यममा यसअघि नै पढाइ गराइरहेका कतिपय विद्यालयको अंग्रेजी विषयमा विद्यार्थीमा सुधार देखिए पनि सामाजिक, विज्ञान, गणित, नैतिकजस्ता विषयमा विद्यार्थी कमजोर बन्दै गएको पाइएको छ ।


‘कक्षा ८ को नतिजालाई मात्र हेर्दा पनि अंग्रेजी विषयबाहेक अरूमा नतिजा खस्कियो,’ देउमाई नगरपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र न्यौपानेले भने, ‘विद्यार्थी नभएकै कारण विद्यालय धमाधम बन्द गर्नुपर्ने अवस्था आएका कारण पनि बाध्यकारी ढंगले अंग्रेजी शिक्षालाई प्राथमिकता दिनुपरेको हो ।’


अधिकांश सामुदायिक विद्यालयमा कुनै न कुनै तहमा अंग्रेजी भाषालाई माध्यमका रूपमा लिन थालिएको छ । अंग्रेजी बोल्न नजान्दा विदेश जाँदादेखि हरेक टेक्निकल क्षेत्रमा पनि असर खेप्नुपर्ने भएपछि अधिकांशले माध्यम भाषाका रूपमा यसलाई प्रयोग गर्न दबाब बढाएका हुन् । तर तयारी बिना नै लहडमा यसलाई कार्यान्वयन गर्नसमेत चुनौती देखिएको छ ।


हरेक विद्यालयमा कार्यरत शिक्षकहरू अंग्रेजी माध्यमबाट पढाउन योग्य नहुनु, उति नै रकम खर्चेर निजी क्षेत्रबाट शिक्षक चयन गर्दा विद्यालयलाई बोझ थपिनेसँगै घुमाउरो पारामा अभिभावकबाट नै रकम संकलन गर्नुपर्ने बाध्यता देखिएको हो ।


‘अपेक्षाकृत उपलब्धि हासिल नहुनुमा माध्यम भाषासहित समस्याग्रस्त हरेक क्षेत्रलाई मसिनु ढंगले अध्ययन गरिनुपर्छ,’ इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले भने । जुनसुकै भाषाको प्रयोग गरिए पनि गुणस्तरीय शिक्षा दिनका लागि विद्यार्थीलाई जिज्ञासु र सिर्जनशील बनाउनुपर्नेमा सबै एकमत देखिन्थे ।


विषयगत रूपमा नेपाली र अंग्रेजी भाषालाई माध्यम बनाएका विद्यालयले शैक्षिकस्तर राम्रो रहेको अनुभव सुनाए । शिक्षा पत्रकार समूहकी अध्यक्ष रोश्ना सुब्बाले स्थानीय भाषाको विकल्पमा अन्धाधुन्ध अंग्रेजी माध्यम अपनाउँदा आवश्यक जनशक्ति, शिक्षण विधि, पाठ्यक्रमलगायत सम्पूर्ण विषयमा मनग्गे अध्ययन, छलफल र योजना बनाएर मात्र कार्यान्वयन गर्न सुझाव दिइन् ।

प्रकाशित : असार ९, २०७६ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?