१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

'९ नम्बर आउनेलाई अघि ६ थपी ६९ बनाएर स्वर्णपदक दिने संस्कृति कस्तो हो ?

काठमाडौँ — कम नम्बर ल्याउनेलाई त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका कर्मचारीको मिलेमतोमा नम्बर थपेर स्वर्णपदक दिइएकोप्रति संसद्मा आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको विशेष समयमा सांसद अग्निप्रसाद सापकोटाले विकृति र विसंगतिको थलोका रुपमा शिक्षण संस्था विकसित हुन लागेकामा चिन्ता प्रकट गरे ।

'९ नम्बर आउनेलाई अघि ६ थपी ६९ बनाएर स्वर्णपदक दिने संस्कृति कस्तो हो ?
'त्रिभुवन विश्वविद्यालयबारेमा छापामा आएको समाचारतर्फ सदनको ध्यानाकषर्ण गराउँदै उनले नौ नम्बर आउनेलाई अघि ६ थपी ६९ बनाएर स्वर्णपदक दिने संस्कृति कस्तो हो?' उनले प्रश्न गरे।

'भूमाफिया र बिचौलियाले सबैलाई नियन्त्रणमा लिनसक्छन्, त्रिभुवन विश्वविद्यालयको घटना यस्तै प्रकृतिको हो, यसलाई तोड्नुपर्छ नत्र विकास र समृद्धि कागजमै सीमित हुन्छ, यो गम्भीर विषयमा म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पनि ध्यानाकर्षण गराउँछु,' सांसद सापकोटाले भने।


सांसद मीनबहादुर विश्वकर्माले प्रकाश सपूतले गाएको गलबन्दी बोलको गीत अर्कै कलाकारले गाएको भनी जातीय भेद्‌भावका दृष्टिले अपमान गर्न खोजेकाले भेद्भाव गर्न खोज्नेलाई साइबार कानून बमोजिम कानूनी कारवाही हुनुपर्ने माग गरे।


कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीको घटनामा थारु भएकैले अस्पतालमा पनि नेल लगाएर उपचार गरिएको सांसद विश्वकर्माको आरोप थियो। सांसद एकवाल मियाँले जनयुद्धका आन्दोलनकारी संसद्मा बस्ने तर थरुहटका आन्दोलनकारी जेलमा राखिनु कतिसम्म न्यायसङ्गत छ? भनेर प्रश्न गरे।

सांसद राजेन्द्र श्रेष्ठले गुठी विधेयक विरुद्धको आन्दोलन विसं २०६२/६३ पछिको ठूलो आन्दोलनका रुपमा अघि बढेकाले त्यसमा भएका सबै असान्दर्भिक दफा खारेज गर्न माग गरे। विधेयक प्रदेशसभाको अधिकारलाई वञ्चित गर्ने गरी आएको उनको आरोप थियो।


गुठी जग्गासँग मात्र सम्बन्धित नभएको तर सुकुम्वासीलाई आवास दिने विषयलाई यहाँ जोड्न नहुने सांसद श्रेष्ठको भनाइ थियो। सांसद खगराज अधिकारीले गण्डकी प्रदेशको सदरमुकाम जोड्नेद्वारका रुपमा रहेको पुल जीर्ण भइसकेको र सो पुल भत्केमा सदमुकाममा नाकाबन्दी हुनसक्ने भएकाले यथाशीघ्र बनाउन माग गरे।

सांसद जिपछिरिङ लामाले लोकसेवा आयोगले समावेशी सिद्धान्तअनुसार विज्ञापन नगरेकाले खारेज गर्न माग गरे। विज्ञापन खारेज नभए फेरि देशमा आन्दोलन सुरु हुने भएकाले बेलैमा सचेत हुन उनले सरकारको ध्यानाकर्षण गराए।


सांसद महेश्वरजंग गहतराजले तराई क्षेत्रमा वर्षाका कारण मात्र नभई भारतका विभिन्न क्षेत्रमा निर्माण भएका बाँध र अग्लो सडकले नेपाली भूमि डुबानमा पर्न थालेकाले समस्या समाधानतर्फ सरकारले बेलैमा ध्यान दिनुपर्ने विचार व्यक्त गरे।

सांसद गगनकुमार थापाले वन जंगल फाँडेर होटल, रिसोर्ट र सफारी बनाउने सोच गलत भएकाले ऐनमा नभएको विषय मन्त्रीले कार्यविधिमा थपेर केही साहुलाई मात्र पोस्न खोजेको आरोप लगाए।। ऐनलाई छलेर चोर बाटोबाट कार्यविधि ल्याइएको उनको भनाइ थियो।


यसअघि संसदीय समितिले गरेको निर्णय विपरीत कार्यविधि आएकाले यस विषयमा अध्ययन गर्न समिति र मन्त्रालयलाई सांसद थापाले आग्रह गरे। सांसद पोल्देनछोपाङ गुरुङले मनाङ जाने पुल बाढीले बगाएकाले बेलिब्रिज छिटो हाल्ने व्यवस्था मिलाउन माग गरे।


मनाङ सदरमुकामको घट्टेखोलाको पुलमा समेत बाढीले असर गरेकाले जीर्णोद्वार गर्न उनलले ध्यानाकर्षण गराए। सांसद रामबहादुर बुढाले कर्णाली प्रदेशका जनताको आयआर्जन बढाउन सिञ्चाइको व्यवस्थाका लागि बाँध बाँध्ने र विद्युत् निकाल्ने योजनामा स्थानीयवासीलाई शेयर दिनुपर्ने माग गरे।


यो पनि पढ्नुहोस् :

त्रिवि पनिकामा अनियमितता : ९ नम्बरलाई ६९ बनाएर स्वर्णपदक

प्रकाशित : असार ९, २०७६ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?