कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पहिरोमा थुनिएकालाई यसरी सारियो सुरक्षित स्थानमा[फोटोफिचर]

दीपेन्द्र शाक्य

पेवुवा (संखुवासभा) — सातादेखि मकालु गाउँपालिका–५ को पेपुवामा पहिरोमा थुनिएका ५१ जनालाई सुरक्षित स्थानमा सारिएको छ । नेपाली सेनाको एमआई १७ हेलिकप्टरले उनीहरुलाई पेपुवाबाट गाउँपालिकाको केन्द्रमा सारिएको हो ।

त्यहाँ उनीहरु आफन्तकहाँ बस्ने छन् । पहिरोले विस्थापित भएका ३७ परिवारलाई गाउँपालिकाको सहयोगमा राहत पनि वितरण गरिएको छ । प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतम, जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य लगायतले पेपुवा पुगेर विस्थापितलाई सोमबार राहत सामाग्री वितरण गरे ।

पूर्ण विस्थापित मध्ये ५१ जनालाई नुममा ल्याइएको सांसद गौतमले बताए । उनका अनुसार गाउँमा गाईवस्तु रुङ्ने केहीलाई भने राहत सामाग्री दिएर छाडिएको छ । टोलीले आंशिक विस्थापित भएका १७ परिवारलाई पनि राहत वितरण गरेको छ । दाल, चामल, नुन, त्रिपाल लगायतका सामाग्री उनीहरुलाई वितरण गरिएको हो ।

‘अहिले सुरक्षित स्थानमा विस्थापितलाई सार्ने काम भएको छ’ सांसद गौतमले भने, ‘अब उनीहरुका लागि गाउँपालिका, जिल्ला समन्वय समिति र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग छलफल गरेर पुर्नस्थापना गर्नेछौँ ।’ पहिरोले निर्माणाधिन अरुण तेस्रो आयोजनाका निर्माण सामाग्री, सडक, अलैंची र नगदेबालीसहित करिब ५० करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।

विस्थापित बनेका पर्शुराम राईले उद्धारपछि विस्थापितलाई पुर्नस्थापनाका लागि स्थानीय सरकार र जनप्रतिनिधिले विशेष ध्यान दिनुपर्ने बताए । गाउँपालिका केन्द्रमा अहिलेलाई ल्याएपनि अब के गर्ने भन्ने चिन्तामा रहेको उनले बताए । सबैतिर चिरैचिरा भएकाले पुरानो थातथलोमा गएर बस्न नसक्ने उनले बताए ।

६ दिनसम्म त्रसित अवस्थामा चौरमा त्रिपाल टाँगेर दिन र रात बिताएको उनले सुनाए । गैरी गाउँ, रुपसाङ गाउँ, सिरान गाउँ र डाँडा गाउँका स्थानीयले सधै त्रासमा जीवन बिताउनु परेको उनको गुनासो थियो ।

प्रकाशित : असार ९, २०७६ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्