२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मुलुकका प्राविधिकहरुले बाढीपहिरोको स्थायी समाधान खाेज्न चाहेन : मन्त्री यादव

श्यामसुन्दर शशि

जनकपुर — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले अप्रत्याशित रुपमा आएको भीषण बाढीबाट पीडित बनेकालाई राहतमा जुट्न सबैसँग आग्रह गरेका छन् । 

मुलुकका प्राविधिकहरुले बाढीपहिरोको स्थायी समाधान खाेज्न चाहेन : मन्त्री यादव

कमला नदीको बाढी प्रभावित धनुषा र सिरहाको स्थलगत निरीक्षण गरी फर्केका मन्त्री यादवले मंगलबार धनुषामा आयाेजित पत्रकार सम्मेलनमा बाढी प्रभावित क्षेत्रमा राहत तथा बचाउका कार्यक्रम संचालन गर्न आवश्यक रहेको बताए । ‘यो अप्रत्यासित घटना हो । पीडितहरुको राहत तथा बचाउमा दलगत भावनाबाट माथि उठेर सबैले सक्दो सहयोग गर्नु पर्दछ,’ उनले भने ।


आफू पनि कमलाको बाढी प्रभावित सवैला गाउँमा जन्मे–हुर्केको उल्लेख गर्दै मन्त्री यादवले बाढी जस्तो स्थायी समस्याको स्थायी समाधान हुन नसकेकोमा दुःख व्यक्त गरे । ‘कमला नदी छेउका केही गाउँमा वर्षेनी बाढी आउँछ । धनजनको क्षति हुन्छ तर यस्तो स्थायी समस्याको हालसम्म स्थायी समाधान खोज्न सकिएको छैन,’ उनले भने ।


मुलुकका प्राविधिकहरुले बाढीपहिरो जस्ता समस्याको स्थायी समाधान खोज्न नचाहेको पनि उनले आराेप लगाए । बाढी प्रभावित क्षेत्रमा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा स्थानीय युवकहरुको भूमिकाको सराहना गर्दै उनले पीडितको राहत तथा बचाउमा संघीय, प्रदेश र स्थानीय सरकारसँगै निजी क्षेत्रको भूमिका पनि अनिवार्य रहेको बताए । ‘म काठमाडौ‌ं पुगेर सम्बन्धित मन्त्रालयमा रिपोर्ट गर्ने नै छु । संघीय सरकारले पनि सक्दो सहयोग गर्छ । प्रदेश र स्थानीय सरकारले पनि राहत र बचाउका काममा जुट्नु पर्छ,’ मन्त्री यादवले भने ।


एक अर्को प्रसंगमा मन्त्री यादवले जनकपुर हवाई अड्डामा साउन १० गतेदेखि रिफिलिङ सेवा संचालन हुने जानकारी दिए । रिफिलिङ सेवा संचालनमा आए जनकपुरमा रातिको समयमा पनि हवाई सेवा सुचारु हुन सक्ने प्राविधिकहरु बताउँछन् ।

प्रकाशित : असार ३१, २०७६ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?