कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वर्षमा ५ करोडको राजश्व छलीका सामान बरामद

अर्जुन शाह

धनगढी — सुदूरपश्चिमकै प्रमुख नाका कैलालीको त्रिनगर भन्सार कार्यालयले आर्थिक वर्ष ०७५/०७६ मा ५ करोड १० लाख बराबरको राजश्व छलीका सामान बरामद भएको जनाएको छ । दैनिक लाखौ‌ंको छली हुने उक्त नाका क्षेत्रबाट बरामद गरिएको उक्त परिमाण र राजश्व अत्यन्तै न्यून हो । 

वर्षमा ५ करोडको राजश्व छलीका सामान बरामद

सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालय आफ्नै गस्ती टोलीले कर छली गरि भित्र्याइदैँ गरेका व्यापारिक सामग्रीहरु बरामद गरेका हुन् । त्यसक्रममा सशस्त्र प्रहरीले ४ सय ८४ मुद्दामा २ करोड ८६ लाख बराबरको अवैध सामग्री बरामद गरी त्रिनगर भन्सार कार्यालयमा दाखिला गरेको जनाएको छ ।


सशस्त्रले बरामद गरेका सामग्रीहरुमा ५६ वटा मोटरसाइकल, २ वटा जीप, ट्याक्टर, ७ वटा अटोरिक्सा लगायतका सवारी तथा ढुवानीका साधनहरु पनि रहेका छन् । धनगढीस्थित सशस्त्र प्रहरी बल ३४ नम्बर गणका गणपति विष्णुप्रसाद भट्टकाअनुसार त्यस कार्यमा संलग्न ४२ जनालाई पक्राउ गरि भन्सारमा बुझाइएको हो ।


यस्तै कैलाली प्रहरीले १ सय ७७ मुद्दामा २ करोड ३८ लाख बराबरको भन्सार छलीको सामग्रीहरु बरामद गरी भन्सारमा दाखिला गरेको छ । भन्सार कार्यालयको आफ्नै गस्ती टोलीले १८ वटा मुद्दामा ४ लाख ८१ हजार बराबरको सामग्री बरामद गरेको जनाएको छ ।


भन्सार अधिकृत गोपीकृष्ण उप्रेतीका अनुसार वर्षभरि भन्सार छलीका कूल ६ सय ४६ वटा मुद्दा भएका छन् । कार्यालयमा दाखिला गरिएका सामग्रीबाट २ करोड ४४ लाख आम्दानी भएको अधिकृत उप्रेतीले बताए । हार्डवेयर, कपडा, चिनी लगायत खाद्यवस्तु यस क्षेत्रबाट छली हुने अवैध रुपमा भित्र्याइने गरेको सुरक्षाकर्मीहरु बताउँछन् ।


त्रिनगरबाट राजश्व छली हुने प्रवृति र सुरक्षा निकाय तथा भन्सार आफैले गरी बरामद भएको परिमाण अत्यन्तै न्यून देखिएको व्यवसायीहरु बताउँछन् । दैनिक लाखौ बराबरको राजश्व संकलन हुने गरेको व्यवासयीहरु स्वयं बताउँछन् । ‘दैनिक लाखौको राजश्व छली हुनेगरेको देखेसुनेकै हो । वर्षभरि ५ करोडको मात्र बरामद हुनु देखाउनलाई जस्तो भयो र यसबाट पनि अझै धेरै चुहावट छ भन्ने पुष्टि हुन्छ’ उद्योग बाणिज्य संघ कैलालीका उपाध्यक्ष पुष्कर ओझाले भने ‘राजश्व बढाउन नियन्त्रण गर्ने सुरक्षालगायतका संयन्त्रहरुलाई विस्तार गर्न जरुरी छ ।’


भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य लिइएको राजश्व संकलनको अंकसमेत भेट्न सकेन । त्रिनगरले ५ अर्ब २२ करोड राजश्व संकलनको लक्ष्य निर्धारण गरेकोमा ५ अर्ब १९ करोड मात्र राजश्व संकलन भएको भन्सार अधिकृत उप्रेतीले बताए ।

प्रकाशित : श्रावण ४, २०७६ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?