कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

एकै दिन दुई गर्भवती र सुत्केरीको उद्धार

आर्थिक वर्षको सुरुवातसँगै दुई गर्भवती तथा सुत्केरीको उद्धार गर्दा तीन बच्चासहित ५ ज्यानको ज्यान जोगियो

काठमाडौँ — सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु–३ की ३२ वर्षीया लाक्पा याङजी शेर्पा साउन १ मा सुत्केरी भइन् । बच्चा सामान्य अवस्थामा जन्मिए पनि सालनाल निस्किएन । अत्यधिक रक्तस्राव भएर अवस्था नाजुक भयो । स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव भएन । 

एकै दिन दुई गर्भवती र सुत्केरीको उद्धार

सुत्केरीको ज्यान जोखिममा पर्ने देखिएपछि जिल्ला प्रशासन कार्यालयले हवाई उद्धारका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा जानकारी गरायो । लगत्तै मन्त्रालयले गृह मन्त्रालयसँगको समन्वयमा सेनाको हेलिकप्टर चार्टर गरेर थापाथलीस्थित परोपकार प्रसूति गृह ल्यायो । उद्धारपछि सुत्केरीको उपचार भइरहेको छ ।


त्यही दिन डोल्पाको त्रिपुरासुन्दरी–९ की २४ वर्षीया जयकुमारी बुढाको पनि उद्धार गरियो । सुत्केरी ब्यथा लागेपछि स्थानीय स्वास्थ्य संस्था पुर्‍याइएकी बुढाको पेटमा जुम्ल्याहा बच्चा तेर्सो परेर रहेको स्वास्थ्यकर्मीले बताए । त्यहाँ शल्यक्रिया सम्भव नभएपछि जिल्ला प्रशासनको समन्वयमा हेलिकप्टरबाट उद्धार गरी मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेत पुर्‍याइयो र शल्यक्रिया गरी दुवै बच्चालाई सकुशल निकालियो ।


महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हवाई उद्धारमार्फत जोखिम अवस्थाका दुर्गमका गर्भवती र सुत्केरीलाई तोकिएको अस्पतालमा उपचार व्यवस्था मिलाउँदै आएको छ । आर्थिक वर्षको सुरुवातसँगै दुई गर्भवती तथा सुत्केरीको उद्धार गर्दा तीन बच्चासहित ५ जनाको ज्यान जोगाउन सकिएको कार्यक्रम समन्वय इकाई प्रमुख अन्जु ढुंगानाले बताइन् । गत वर्ष यो कार्यक्रम लागू भएपछि हालसम्म २७ गर्भवती तथा सुत्केरीको उद्धार गरिएको छ ।


सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हक कार्यान्वयन, दुर्गममा प्रजनन स्वास्थ्यका कारण हुन सक्ने सम्भावित मृत्युबाट जोगाउन, सुरक्षित प्रसूतिसेवा र नवजात शिशुको सुरक्षित मातृत्वका लागि हवाई उद्धार सेवा लागू गरिएको छ ।


उद्धार सेवा हिमाली तथा दुर्गम क्षेत्रका संखुवासभा, भोजपुर, खोटाङ, मनाङ, मुस्ताङ, बझाङ, बाजुरा, बैतडी, दार्चुला, डोटी, जाजरकोटलगायत ३० जिल्लामा यो कार्यक्रम पूर्ण रूपमा लागू भएको छ । सिन्धुपाल्चोक, धादिङ, गोरखा र बागलुङ गरी चार जिल्लाका आंशिक क्षेत्र (२० स्थानीय तह) मा लागू भएको छ । जनसांख्यिकी र स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार नेपालमा मातृ मृत्युदर १२ प्रतिशत छ । करिब ५८ प्रतिशत स्वास्थ्य संस्थामा मात्रै सुत्केरी हुने गरेका छन् ।


उल्लिखित मातृ मृत्युदर र बाल मृत्युदरलाई कम गर्नका लागि यो कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्री थममाया थापाले समेत मोबाइलमार्फत हवाई उद्धार इकाईमा समन्वय गर्दै आएकी छन् ।

प्रकाशित : श्रावण ४, २०७६ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?