१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

टिम च्याम्पियनमा नेपाल दोस्रो

काठमाडौँ — १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको अन्तिम दिन शनिबार नेपालले थप २ स्वर्ण जितेको छ । च्याम्पियनसिपअन्तर्गतको पुरुष एथ्लेटिक फिजिकमा १ सय ६७ सेमिमाथिको स्पर्धामा नरेश मुन्जिकार र महिलाको मोडल फिजिकमा मल्लिका शाक्यले स्वर्ण जितेका हुन् ।

टिम च्याम्पियनमा नेपाल दोस्रो

पुरुष एथ्लेटिक फिजिकमा भारतका नकुल कौशलले रजत र माल्दिभ्सका फतुल्लाह मोहम्मदले कांस्य जिते । महिलाको मोडल फिजिकमा नेपालकै पूजा श्रेष्ठले रजत र भारतकी निश्रिन पारिखले कांस्य जिते ।


च्याम्पियनसिपको सिनियर पुरुष बडीबिल्डिङको ७५ केजीमा अफगानिस्तानका सेफातुल्लाह हफिजी पहिलो, भारतका धर्मेन्द्र कुमार दोस्रो र नेपालका अशोक महर्जन तेस्रो भए । पुरुषकै ८० केजीमा भारतका रवीन्द्रकुमार मल्लिकले स्वर्ण, अफगानिस्तानका मोहम्मद सखीले रजत र नेपालका मिलन सिजापतिले कांस्य जिते ।


पुरुषकै ९० केजी तौल समूहमा अफगानिस्तानका गुलाजन ओमर, पाकिस्तानका मोहम्मद सैयद र फहिम अब्बासले क्रमशः स्वर्ण, रजत र कांस्य जिते । यस्तै ९० केजीमाथिको स्पर्धामा अफगानिस्तानका अहमद मोहम्मदी पहिलो, भारतका विनय कुमार दोस्रो र पाकिस्तानका सैयद फजल तेस्रो भए ।


जुनियर पुरुषतर्फ माल्दिभ्सका अहमद सैयदले स्वर्ण, भारतका ऋषि अथरेयाले रजत र नेपालका कृष्ण महर्जनले कांस्य जिते ।पुरुष एथ्लेटिक फिजिकको १६७ सेमिसम्ममा अफगानिस्तानका अहमद सिकन्दर जादाले स्वर्ण जित्दा नेपालका निशान्तमान प्रधानले रजत र माल्दिभ्सका अहमद फजिलले कांस्य पदकमा चित्त बुझाए । यस्तै पुरुषकै स्पोर्ट्स फिजिकमा माल्दिभ्सका अजनिन रसद पहिलो, नेपालका प्रमोद राई दोस्रो र अफगानिस्तानका ममिदुल्लाह खुर्सिदले तेस्रो स्थान हात पारे । यस्तै पुरुषकै स्पोर्ट्स फिजिकको १७० सेमिमा पाकिस्तानका उस्मान उमर, भारतका सिनु चोभा र भुटानका टासी छोस्केले क्रमशः स्वर्ण, रजत र कांस्य पदक जिते ।


च्याम्पियनसिपको ओभरलतर्फ भने भारतका रवीन्द्रकुमार मल्लिकले उपाधि जिते । ८० केजी तौल समूहको स्वर्ण विजेता मल्लिकले मिस्टर साउथ एसियाको उपाधिसमेत पाएका छन् । टिमतर्फ अफगानिस्तान पहिलो, नेपाल दोस्रो र भारतले तेस्रो स्थान हात पार्‍यो ।


यसअघि शुक्रबार नेपालले एक स्वर्ण जितेको थियो । पुरुष ६५ केजी तौल समूहमा समीरले स्वर्ण जितेका थिए । नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा सम्पन्न प्रतियोगितामा अफगानिस्तानसमेत गरी दक्षिण एसियाका ८ टोलीका १ सय ३० खेलाडी सहभागी थिए । प्रतियोगितामा नेपालले ३ स्वर्ण, ७ रजत र ६ कांस्य जितेको हो । नेपालबाट १८ पुरुष र ५ महिला गरी २३ खेलाडीले विभिन्न स्पर्धामा सहभागिता जनाएका थिए ।

प्रकाशित : श्रावण ४, २०७६ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?