१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

धरानमा महिला उद्यमी मेला

सुनसरी — महिला सञ्जाल धरानले तीजलाई महिलाहरूको आर्थिक उन्नति र सशक्तिकरणसँग जोडेर सिर्जनात्मक र फरक शैलीमा मनाउन बिहीबारदेखि धरान–१२ स्थित छाताचोक नजिक ‘महिला उद्यमी बजार प्रवर्द्धन तथा प्रर्दशनी मेला’ सुरु गरेको छ ।

धरानमा महिला उद्यमी मेला

तीजलाई खर्चिलो र भडकिलो बनाउनुभन्दा सन्देशमूलक र उपलब्धिमूलक बनाउन महिला उद्यमी मेला सञ्चालन गरिएको हो । तीज विशेषको अवसरमा भदौ ७ गतेसम्म सञ्चालन हुने महिला उद्यमी मेलामा स्थानीय महिला उद्यमीहरूले उत्पादन गरेका विभिन्न सामग्री बिक्री वितरण र प्रदर्शनीमा राखिएको अध्यक्ष सविता राईले बताइन् ।


सञ्जालले गत वर्षदेखि महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न र उनीहरूको उत्पादनलाई बजारीकरण गर्न उद्यमी मेलाको आयोजना गर्दै आएको छ । ३० वटा स्टल रहेको उद्यमी मेलामा हस्तकलाका सामानहरू, ढाकाका कपडा एवं तयारी पोसाक, अल्लोका कपडा, जुत्ता चप्पल, कासका सामग्री, हाते झोलाहरू, अर्गानिक तरकारी, अचार, नेपाली खाजाका परिकारहरू राखिएका छन् ।


मेलाका संयोजकसमेत रहेकी सञ्जालकी वरिष्ठ उपाध्यक्ष चेतना सेरेङले महिला उद्यमीहरूको उत्पादनलाई बजारीकरण गर्न मद्दत पुग्ने विश्वासले मेला सञ्चालन गरिएको बताइन् ।


‘पूर्वका स्थानीय उद्यमी महिलाहरू आफ्नो पैसा लगानी गरेर सानातिना उद्योग सञ्चालन गरी आर्थिक रूपले आत्मनिर्भर बन्ने प्रयासमा छन् । उनीहरूको उत्पादन राम्रो र स्तरीय हुँदाहुँदै पनि बजारीकरणको अभावले उपभोक्तासम्म पुगको छैन । हामीले तिनै महिला उद्यमीका उत्पादनलाई बजारीकरण गर्ने माध्यम मेलालाई बनाएका हौं,’ उनले भनिन् । मेला अवधिभर जातीय पहिरन फेसन सोलगायत कार्यक्रम हुनेछन ।

प्रकाशित : भाद्र ६, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?