१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

‘विदेशमा नेपालीको खाता खोजी जारी छ’

काठमाडौँ — गैरकानुनी ढंगले विदेशमा सम्पत्ति लुकाएकोबारे अध्ययन भइरहेको अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् । बिहीबार प्रतिनिधिसभा संसद्मा सांसदको प्रश्नको जवाफको क्रममा अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

‘विदेशमा नेपालीको खाता खोजी जारी छ’

‘यसबारे राजस्व सचिवको अध्यक्षतामा गठित समितिले निरन्तर रूपमा अध्ययन गरिरहेको छ,’ उनले भने, ‘ गैरकानुनी ढंगले राखेको भेटिए कानुनबमोजिम कारबाही हुन्छ ।’


बैठकमा सांसद दिलेन्द्रप्रसाद बडुका तर्फबाट अतर कमाल मुसलमानले अर्थमन्त्रीलाई नेपाली नागरिकबाट गैरकानुनी रूपमा स्विस बैंकमा देखिएको ५३ अर्ब रुपैयाँबारे के भइरहेको छ र कहिलेसम्म कारबाही हुन्छ भन्ने प्रश्न गरेका थिए ।


‘नेपालीको नामसँग मिल्दाजुल्दा नामहरूबाट विभिन्न मुलुक खासगरी करमुक्त क्षेत्र (ट्याक्स हेवन) अथवा नियमन खुकुलो भएका क्षेत्रमा बैंक खाताहरू सञ्चालन छन् भन्ने कुरा सञ्चार माध्यममा आएका छन्,’ खतिवडाले भने, ‘कतिपय नाम नेपालीको नामसँग मिलेका छन् । ती नाम विदेशमा रहेका नेपाली मूलका नागरिक, गैरआवासीय नागरिक र केही नेपालीका पनि हुन सक्छन् ।


नाम मिलेकै आधारमा सबै नेपालीको यति रकम बाहिर छ भन्न सक्ने अवस्था छैन ।’ पुँजी बाहिरिनुलाई व्यवस्थित गर्न विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन छ । त्यो ऐनको बर्खिलाप नहुने गरी राष्ट्र बैंकको स्वीकृत लिएर मात्र विदेशमा लगानी गर्न पाइन्छ । यसबारे अनुसन्धान भइरहेको उनले बताए ।


‘विदेशमा गैरकानुनी ढंगले राखेका खातामा रहेको रकम सरकारले खोजिरहेको छ,’ उनले भने, ‘समितिले काम गरिरहेको छ । यसको निरन्तर बैठक बसिरहेको छ । छिट्टै प्रतिवेदन सार्वजनिक हुनेछ ।’


सांसद रामबहादुर विष्टले पञ्चायत कालमा पनि गैरकानुनी रूपमा स्विस बैंकमा पैसा राखिएको स्मरण गर्दै भने, ‘विगतमा पनि सुनिथ्यो, अहिले पनि सुनियो, त्यो पैसा फिर्ता ल्याउन सक्ने सरकारको हिम्मत छ कि छैन ? तीनको नाम पनि सार्वजनिक गरियोस् ।’


विष्टको प्रश्नको जवाफ दिँदै खतिवडाले भने, ‘कतिपय अनुसन्धान निरन्तर चलिरहने विषय हुन् । पत्रपत्रिकामा आएका सबै विवरण नै अन्तिम सत्य हुन् भन्न सक्ने अवस्था छैन । यसपछि रोकिएको छ प्रक्रिया रोकिएको छ भन्न सक्ने अवस्था रहँदैन । पूर्णतया अनुसन्धान गरेर मात्र तिनको बारेमा भन्न सकिन्छ ।’ यो प्रक्रियका लागि विभिन्न अन्तर्राष्ट्रिय निकायसँग सूचना आदानप्रदान गर्ने भर्ने भएकाले केही समय लाग्ने उनले बताए । सूचना आदानप्रदानका लागि एएमएल/सिइफटीका सदस्य राष्ट्रबीच समन्वय भइरहेको उनले बताए ।


पञ्चायत कालदेखि स्विस बैंकमा रहेको विषयमा नेपाल ट्रस्टले निकै खोजी गरेको थियो । तत्कालीन राजपरिवारका सदस्यका केही सदस्यको सानातिनो रकम विभिन्न बैंकमा भेटिएको पनि हो । त्यो नेपाल ट्रस्टको दायरामा आएको उनले बताए ।


नेपालीले राष्ट्र बैंकको स्वीकृति नलिई विदेशमा लगानी गरेको रहेछ भने वा विदेशमा आर्जन गरेको सम्पत्ति नेपाली नागरिक हुँदै गर्दा ३५ दिनभित्र नेपाल नल्याएको रहेछ भने त्यो पनि जफत गर्ने कारबाही गर्ने कानुनी व्यवस्था छ । त्यो व्यवस्थाअनुरूप बेलाबेलामा कारबाही भइरहेको खतिवडाले दाबी गरे ।


‘आगामी दिनमा पनि कानुनसम्मत ढंगले त्यस्ता जति विवरण हामीलई प्राप्त हुन्छन् । अन्तर्राष्ट्रिय सूचना प्रणालीबाट पनि प्राप्त हुने कुरामा पनि हामीले त्यसलाई अनुगमन गर्छौं,’ उनले भने, ‘नेपालको कानुन कार्यान्वयन गर्ने विषयमा सरकार लागेको छ ।’


बैठकमा सांसदहरूले भन्सार मालपोत, राजस्व संकलनलगायत सरकारी कार्यालयमा भ्रष्टाचार मौलाएको बारे प्रश्न उठाएका थिए । सांसद रामबहादुर विष्टले भन्सार राजस्वका कतिपय कर्मचारीबाट मैले मात्र खाने हो र माथिसम्म दिनुपर्छ भन्छन् कुरा के हो ? भन्ने प्रश्न गरेका थिए ।


जवाफमा खतिवडाले भने, ‘यस्ता चलनचल्तीका भनाइ बेलाबेलामा आइरहन्छन् । विगतमा यो व्यवस्था रहेछ भने पनि अहिले छैन । मुहान सफा भइसकेको छ,’ उनले भने, ‘अबका दिनमा त्यसो हुनेवाला छैन, त्यस्ता कर्मचारी भेटिए कारबाही गरिनेछ ।’


खतिवडाले थपे, ‘कर्मचारी हरियो घाँस देखेर जानेवाला छैनन् । भष्टाचारविहीन व्यवस्थाका लागि कानुन बन्दै छ । यसलाई पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्छ । यस्ता समस्यमा माथिबाटै शुद्ध गर्नुपर्छ । यसका लागि हामी सबै तयार रहनुपर्छ । अलिकति डरको वातावरण पनि चाहिँदो रहेछ । यसअनुसार सरकार लागिरहेको छ ।’ सांसदहरूले खानेपानीमा सहुलियत, सरकारी कार्यालयमा बेवारिसे रूपमा थन्किएका सवारी साधन लगायत विषयमा पनि प्रश्न उठाएका थिए ।

प्रकाशित : भाद्र ६, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?