१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दुई दर्जन घर जोखिममा

भीमबहादुर सिंह

जाजरकोट — खलंगा बजारको शान्तिचौतारादेखि थाप्लेसम्मका २ दर्जन घर पहिरोको उच्च जोखिममा छन् । मुख्य सडकभन्दा मुनिको भागमा पहिरो खस्न थालेपछि स्थानीय त्रस्त छन् । बजारका पक्की घरै बग्ने जोखिममा छन् ।

गत वर्ष भेरी नगरपालिका ३ ठाटीबजार नजिकै २ घर पुरिँदा ९ जनाको ज्यान गएको थियो ।


उक्त स्थानमा सामान्य तारजाली गरिए पनि अहिले फेरि पहिरो जान थालेको स्थानीयको भनाइ छ । रोकथामका लागि सरकारी तहबाट कुनै पहल थालिएको छैन । खलंगामा ढल निकासको व्यवस्था नहुँदा पनि बस्ती बग्ने खतरा बढेको स्थानीय शान्तबहादुर शाहीले बताए । ‘खलंगा बजार तल ठाउँठाउँमा खसेको पहिरो नियन्त्रण गर्नै समस्या छ,’ उनले भने, ‘ठाडो भित्तामा प्राविधिक डिजाइनबिना ४/५ तले घर निर्माण गर्नु पनि अर्को जोखिम भएको छ ।’


भवन निर्माण आचारसंहिताबाहिर गएर घर बनाउँदा पहिरोको जोखिम रहेको स्थानीय अगुवा बताउँछन् । पहिरोकै कारण खलंगाको शान्तिचौतारा, बसपार्क र ठाटीबजार रेडक्रससम्मको सडक यातायात पटकपटक अवरुद्ध हुने गरेको छ । प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले स्थानीयस्तरबाट सम्भव नभएकाले गृह मन्त्रालयमार्फत पहिरो न्यूनीकरण रोकथामका कार्यक्रम सञ्चालन गर्न अनुरोध गरिएको बताए ।


दर्जन बस्ती पहिरोको जोखिममा

जिल्लाका दर्जन बस्ती पहिरोको उच्च जोखिममा परेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार भेरीको खलंगा बजार, नलगाडको सानावन, कायामैदे, अवलगुर्ता, मूलीपोखरा, बाँझकोट, गराग्ली, बारेकोटको तोलखानालगायत बस्ती जोखिममा परेका हुन् ।


पहिरोले नलगाड ३, सानावनका ३१ घरपरिवार विस्थापित भएका छन् । भेरी नगरपालिका, खलंगाका २ दर्जन, नलगाडका ६ दर्जन र बारेकोटका ५ र तोलखानाका २७ घर पहिरोको उच्च जोखिममा छन् । त्यस्तै नदी कटानका कारण तल्लोबगर, कालिमाटी, थलहबजार, बाटुलेबजार, घाटलगायत बस्ती बग्ने खतरा रहेको प्रहरीले जनाएको छ ।

लगातार वर्षापछि पहिरो जाँदा सानावनका डम्बर बुढा, भद्रबहादुर बुढा, मोहन बुढा, गोपाल रोकाय, लालबहादुर बुढा, गोरे राना, अमर राना, रणबहादुर रोकायलगायत ३१ घरपरिवार विस्थापित भएका हुन् ।


स्थानीय हेमन्त बुढाका अनुसार विस्थापित परिवार लालीगुराँस प्राथमिक विद्यालयमा बस्दै आएका छन् । ‘कति विस्थापित खुला आकाशमुनि बस्न बाध्य छन्,’ उनले भने, ‘पहिरोले सानावन गाउँको ठाउँठाउँमा धाँजा फाटेको छ ।’

सानावनको मकै बाली पूर्णरूपमा क्षति भएको उनले जानकारी दिए ।


गत वर्ष साउनमा आएको पहिरोले सानावनमा ५ घर बगाएको थियो । बुढाका अनुसार डोजरले अन्धाधुन्ध सडक खन्दा बस्ती जोखिममा परेका हुन् ।

प्रकाशित : भाद्र ६, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?