२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

संस्कृति जोगाउनै मुस्किल

बागलुङ — पोखरामा हेल्थ असिस्टेन्ट पढ्दै गरेका आशिष शाक्य परीक्षा छाडेर दुई दिनका लागि बागलुङ आए । उनी आएकै दिन पारेर यहाँका नेवारी समुदायले लाखे नाच देखायो । नाच्न जानेकाहरू अधिकांश विदेश गए ।

संस्कृति जोगाउनै मुस्किल

केही युवा पढ्ने र जागिरका लागि काठमाडौं र पोखरा छन् । नाच्ने नभएपछि ढिला गरी लाखे नाचको थालनी भयो ।

लाखे मात्र होइन, नेवारी चाडपर्वका लागि यहाँ कलाकारको अभाव खड्किँदै गइरहेको छ ।


कलाकार जुटेको समय पारेर मात्र जात्रा देखाउने गरिएको शाक्य समाजका अध्यक्ष गगनलाल शाक्यले बताए । नेवारी चाडपर्वमध्ये दर्जनबढी जात्रामा ५ देखि ४० जनासम्म कलाकार आवश्यक पर्छ । एउटा विधा जानेको कलाकारले अर्को विधा जान्दैन । ‘सबै कला जानेका एकदुई पनि छैनन्,’ शाक्यले भने, ‘तालिम दिएर युवामा कला र सीप हस्तान्तरण नगरे संस्कृति लोप हुन्छन् ।’


पर्व विशेषको नाच निकाल्दा सामग्रीसमेतको खर्च हेर्दा बर्सेनि १० लाख रुपैयाँभन्दा बढी खर्च हुने उनले बताए । झन्डै ३ सय वर्ष पहिला उपत्यकाबाट बसाइँ आएका बागलुङे नेवारहरूले उपत्यका जत्तिकै संस्कृति बचाएर राखेका छन् । केही वर्षदेखि भने कलाकार उत्पादन हुन छाडेकाले संस्कृति लोप हुन सक्ने शाक्यले चिन्ता गरे । पुस्तान्तरणका लागि तालिम सञ्चालन गर्न पहल गरे पनि युवा पाउन हम्मे छ ।


जोगी नाच

महादेवको पूजा गरेर जटा, त्रिशूल र माला लगाएका जोगीको लस्करै बनेर नाच्ने संस्कृति जोगी नाच हो । यो संस्कृति बागलुङका शाक्य समुदायले बचाएका छन् । तीन सय वर्षअघि उपत्यकामा नाँचिने यो नृत्य बागलुङमा मात्र देख्न पाइने दाबी गर्छन् संस्कृतिविद् मुकुन्द शाक्य ।


जोगी नाचले समाजमा असुरी प्रवृत्तिको अन्त्य हुने विश्वास गर्छन् उनी । सामाजिक सुसम्बन्ध फैलने र सहकाल आउने विश्वासले यो नाँच बर्सेनि देखाइन्छ । घण्टाकर्ण भन्ने राक्षस नांगै हिँडेकाले तत्कालीन राजाले अनुमति दिएपछि स्थानीयले मारेको घटनासँग जोगी र लाखे नाँच जोडिएको छ ।


नांगै हिँडेकाले स्थानीयले घण्टाकर्णलाई मारेपछि उसकी श्रीमतीले रणचण्डीको रूप लिएको स्मरणमा लाखे नचाएको हो । साउन शुक्लपूर्णिमादेखि कुशेऔंसीसम्म लाखे नचाइन्छ । शाक्यका अनुसार कुनै पनि राक्षसी प्रवृत्ति नआउने विश्वास लिएर उनीहरू जोगी बन्छन् । यो नाँचका लागि धेरै खर्च हुन्छ ।


‘बसाइँसराइ र कलाकार अभावले संस्कृति जोगाउन मुस्किल भएको छ,’ स्थानीय अगुवा देवबहादुर श्रेष्ठले भने, ‘सधैं चन्दा मागेर सामग्री किन्ने, नाच देखाउने गर्नुपरेकाले पनि लोपोन्मुख भएको हो ।’ लाखे, जोगी, घण्टाकर्ण, रोपाइँ जात्राका रोपाहार, भदौरे नाच लगायतका पर्वहरूका लागि शृंगारका सामग्रीसँगै युवाहरूको संलग्नता धेरै चाहिने श्रेष्ठले बताए ।


महादेव पार्वतीको पूजा गरी उनीहरूलाई खुसी पार्न ताण्डव नृत्यसहित जोगी बनाएर नचाएपछि वर्षभरि कुलको सुरक्षा हुने स्थानीयको विश्वास छ । जोगी बन्नेले महादेवकै जस्तो जटा बनाउने, शरीरमा भस्म लेपन गर्ने र पेटमा राक्षसको आकृति बनाएर नाच्ने र भीख माग्ने चलन छ ।


हनुमान नाच

हनुमान नाच यहाँको अर्को महत्त्वपूर्ण लोक सांस्कृतिक प्रस्तुति हो । यो नाचसँग राज्य एकीकरणको घटना जोडिन्छ । पृथ्वीनारायण शाहले काठमाडौं कब्जा गर्दा भागेका केही नेवारसँगै उपत्यकाको संस्कृति पनि बागलुङ आइपुगेको भनाइ छ ।


विसं १७२५ मा पृथ्वीनारायण शाहको उपत्यका कब्जापछि भक्तपुरे नेवार भागेर बागलुङ आएका थिए । सुरुमा भागेर भारत पसेका रणजित मल्लका छोरा अनजुत सिंह विसं. १७४० मा बागलुङको उपल्लाचौर आएका थिए । त्यसपछि यहाँ हनुमान नाचको थालनी गरेको संस्कृतिविद् प्रेम छोटाले बताए ।


कलाकारको टोलीसँगै आएका सिंहकै अगुवाइमा थालिएको हनुमान नाच अझै जीवित छ । टेकबहादुर श्रेष्ठको ‘पर्वत राज्यको इतिहास’ पुस्तकमा पनि यो सन्दर्भ उल्लेख छ । रामायणका चर्चित पात्र हनुमानजस्तै सिंगारिएर नाच्ने परम्परालाई हनुमान नाच भनिएको हो ।


एकैपटक ३० युवा सिंगारिएर नाच्ने र राताम्मे कपडा लगाउँदा धेरैको ध्यान तान्छ । धेरै समयको मिहिनेत र धेरै युवा चाहिने भएकोले यो लोपोन्मुख छ । कम्तीमा १३ जोडी र बढीमा १५ जोडी हनुमान बनेर पँधेराबाट यो नृत्य सुरु गरिने छोटाले बताए ।


‘अष्टचिरञ्जीवीको रूपमा हनुमानलाई पूजा गर्ने र उनैको नाच प्रदर्शन गर्दा जीवनभर शक्ति प्राप्त हुने विश्वास छ,’ छोटाले भने, ‘रामका सेवक भएकाले हनुमान नाच देखाउँदा धर्म पनि मिल्ने नै भयो ।’ हनुमानको झैं शक्ति मिल्ने, समाजमा वीर व्यक्तिको संज्ञा पाउने र काम गर्ने जाँगर पलाउनेजस्ता विश्वास छन् ।

प्रकाशित : भाद्र ६, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?