'मौलिक फिल्म' कहिले ?

चित्लाङ — ‘माइतीघर’ फिल्ममा अदालतभित्रको दृश्यमा एक पात्र भन्छन्, ‘म जे बोल्छु, साँचो बोल्छु । साँचो बाहेक केही बोल्दिनँ ।’ नेपालमा न्यायाधीशसामु यसरी कसम खाने अभ्यास नै छैन । तर फिल्ममा त्यो संवाद राखियो ।

'मौलिक फिल्म' कहिले ?

किन होला ? चित्लाङमा बुधबारबाट सुरु भएको पटकथालेखन वर्कसपमा सहभागीमाझ दिग्गज फिल्म निर्देशक नीर शाहले यही सवाल राखे । सबै मुखामुख । शाह आफैंले जवाफ दिए, ‘किनभने, माइतीघरको कथा बलिउडबाट ल्याइएको थियो, लेख्ने पनि उतैका । त्यसैले त्यहाँ अदालतभित्र जस्तो हुन्छ, त्यस्तै लेखियो ।’ बीएस थापा निर्देशित ‘माइतीघर’ निजी लगानीमा बनेको पहिलो फिल्म हो ।

सोही वर्कसपका मेन्टर बनेर आएका छन्, बलिउडका सफल पटकथाकार रोविन भट्ट । ‘बाजीघर’, ‘ओमकारा’, ‘सडक’, ‘क्रिस’ सिरिजजस्ता हिट फिल्मका लेखक भट्टले सुरुमै सहभागीमाझ मुस्कुराउँदै सोधे, ‘यहाँ हिन्दी फिल्मबाट नचोरी नेपालकै कथा लेख्ने को–को हुनुहुन्छ ?’ यो सवालले ‘माइतीघर’ को उदाहरणलाई त बल दियो नै । यसको अर्को सिधा सन्देश थियो, हिन्दीबाट चोरेर नेपालमा फिल्म बनाइन्छ भन्ने तीतो–तथ्यबारे बलिउड पुरापुर जानकार छ ।

बलिउड मात्र होइन, हलिउड र संसारका अन्य भाषाका फिल्मबाट चोरेर/उडाएर नेपालमा फिल्म बनाइन्छ । नीर शाहको शब्दमा भन्ने हो भने हाम्रो फिल्म मेकिङको सुरुवात नै मौलिक र कलात्मक तवरबाट भएन । सीमापारिबाट हुबहु आयात गर्ने प्रवृत्तिले नेपाली फिल्ममा हाम्रो समाज, संस्कृति, वस्तुस्थिति अटाएन । भाषाले मात्र ‘नेपाली’ भयो । कथा र शैलीमा खाँटी नेपालीपन प्रतिविम्बित हुन सकेन ।

विडम्बना, फिल्म निर्माणको ५५ वर्ष बितिसक्दा पनि कपी गर्ने प्रथा अन्त्य भएको छैन । र, पत्रकार/समीक्षक, फिल्म चिन्तकदेखि फिल्ममेकरसम्मले एकै भाकामा भन्छन्, ‘नेपाली फिल्मको सबैभन्दा कमजोर पाटो नै पटकथा हो ।’ सत्य यही हो । जब कि पटकथालाई फिल्मको मेरुदण्ड मानिन्छ । मेरुदण्ड नै सशक्त नभएपछि फिल्मको हालत कस्तो होला ?

पटकथामा रहेको यही दुःखद् नियतिलाई सुधार्न वर्कसप गरिएको आयोजक नेपाल फिल्म एन्ड कल्चर एकाडेमीका अध्यक्ष केपी पाठकले बताए । एकाडेमीसँगै चलचित्र विकास बोर्ड पनि आयोजक हो । ‘हामी पटकथा कमसल भयो भन्छौं तर हाम्रा लेखकको क्षमता र सीप अभिवृद्धिका लागि प्रभावकारी प्लेटफर्म हुन्न । हामीले त्यही अभाव पूर्ति गर्न खोजेका हौं,’ फिल्म निर्देशकसमेत रहेका पाठकले भने, ‘जबसम्म राम्रा स्क्रिप्ट लेखिन्न, तबसम्म स्तरीय फिल्म बन्दैन ।’ नेपाली फिल्मको सिर्जनात्मक पाटो उकास्न पनि वर्कसप उपयोगी हुने विश्वास छ उनको ।

बलिउडका भट्टसँगै हलिउडबाट आएका जेफ मोनहान वर्कसपका मेन्टर हुन् । लामो समयदेखि अमेरिकामा फिल्म अध्यापनरत मोनहान अभिनेता पनि हुन् । पाठकका अनुसार बलिउड र हलिउडको दुई फरक ‘स्कुल अफ थट्’ लाई एकै ठाउँमा ल्याएर नेपाली फिल्मको न्यारेटिभको पनि अन्तरक्रिया गरिनेछ । जुन मौलिक पहिचान निर्माणका लागि फलदायी हुन सक्छ ।

नीर शाहले पनि नेपाली फिल्मलाई प्राज्ञिक पहिचान दिलाउन नसकेको दुःखेसो पोख्दै यस्तो बहस सार्थक हुने आशा व्यक्त गरे । भने ‘कला र व्यापारको उचित सन्तुलन मिलाइएको सिनेमा अहिलेको खाँचो हो । राम्रो/नराम्रोजस्तो होस्, हामीले मौलिक कथा र कथावाचन नै रोज्नुपर्छ ।’

दुवै मेन्टरले फिल्ममा स्थानीय कथा र पात्रलाई समेट्न जोड दिए । ‘बाजीघर’ बाट फिल्म फेयर अवार्ड जितेका भट्टले भने, ‘फिल्म मान्छेका लागि बनाइन्छ, त्यसैले मान्छेकै कथा भनिनुपर्छ, त्यो पनि आफ्नै समाजको ।’ १० गतेसम्म चल्ने वर्कसपमा करिब ३० नयाँ लेखकसँगै ‘गोपी’ बाट यही वर्ष उत्कृष्ट पटकथाको अवार्ड जितेका सामीप्यराज तिमिल्सिना, एक दर्जन फिल्म लेखिसकेका अभिमन्य दीक्षित, शिवम अधिकारी, जया ओझालगायतले भाग लिइरहेका छन् ।

सहभागीले चित्लाङकै कथा समेटिएको १५ देखि २५ मिनेटसम्मको स्क्रिप्ट तयार पार्नुपर्नेछ । उत्कृष्ट स्क्रिप्टले एक लाख पाउनेछ । उक्त फिल्म नेपाल र विदेशका फेस्टिभलमा पठाउन पहल गरिने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित : भाद्र ६, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?