१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कुरीतिविरुद्धकी अभियन्ता

वसन्तप्रताप सिंह

बझाङ — घरमा ममताको बिहेको कुरो चल्दै थियो । कक्षा ९ अध्ययनरत उनलाई बिहे गर्न मन थिएन । आमाबाबुलाई पढाइसकेपछि मात्र बिहे गर्छु भन्न सकिनन् । केटाले हेरेपछि घरमा मान्छे तयारीमा जुट्न थाले । जति जति तयारी हुन्थ्यो, ममतामा आँसुको भल फुट्न थाल्थ्यो । 

कुरीतिविरुद्धकी अभियन्ता

आमाबुबासँग रुन पनि नसकेकी ममताले ३ वर्ष कान्छी बहिनी रमिताका अगाडि आँसुका भेल बगाउन थालिन् । ‘दिदी निकै दुःखी भइन् । साह्रै सोझी भएकाले अरूसँग यो कुरा भन्न सक्दिन थिइन् । रातभर नसुतेरै रोएर ओछ्यान भिजाउँथिन् । म पनि सँगै रुन्थें,’ रमिताले ७ वर्षअघि आफ्नै १७ वर्षीय दिदीलाई बालविवाह हुनबाट जोगाएको घटना सम्झिन्छिन्, ‘सम्झँदा अहिले पनि झस्किन्छु ।’ त्यतिबेला रमिता सिंहले दिदीको दुःख हेरेर बस्न सकिनन् ।


आमाबुबासँग विद्रोह गरिन् । दिदीको इच्छाविपरीत विवाह गरिदिए ‘म मर्छु’ भनी धम्कीसमेत दिइन् । ‘हामी दुवै बहिनी सँगै मर्छौं भनेर पनि धम्क्याएँ । म पनि स्कुल नपढ्ने धम्की दिएँ । दिनदिनै रोइकराइ गर्न थालें,’ उनले भनिन्, ‘हामीले खाना खानै छाडेपछि आमाबुबाको मन पनि पग्लियो । दिदीको हुनै लागेको बिहे रोकियो ।’


बहिनीको अनशनका कारण बुङगल नगरपालिकाको देउलीकोटकी ममता सिंहको बिहे रोकियो । अहिले उनी स्नातक तहको पढाइ सकेर जागिर गर्दै छिन् । दिदीको बिहे त रोकियो । बहिनीको अभियान भने रोकिएन । उनी जिल्लाभरि बालविवाहको जोखिममा रहेका किशोरीको सहारा भएकी छन् ।


सुरुमा उनी महिला तथा बालबालिका कार्यालयले गठन गरेको देउलीकोट गाविसस्तरीय किशोरी सञ्जालमा आबद्ध भइन् । सञ्जालमा रहँदा उनले बालविवाह, महिला हिंसा, छाउपडी प्रथाबारे बुझ्ने मौका पाइन् । हिंसाका विभिन्न रूप नजिकबाट देखिन् । जीवनोपयोगी सीप पनि सिकिन् ।


पछि उनले निर्णय लिइन्, ‘कुसंस्कारको सिकार बनिरहेका बालबालिकाको जिन्दगी बर्बाद हुँदै छ, उनीहरूलाई बचाउनुपर्छ ।’ दौंतरी सरिता बोहराको बिहे हुँदै छ भन्ने कुरा रमिताले सुनिन् । १३ वर्षीया सरिता बिहे गर्न चाहन्न थिइन् । उनी पनि आफ्नो बिहेको कुराले डराइरहेकी थिइन् । घरीघरी बेहोस पनि हुन्थिन् ।


दौंतरीको यो अवस्थालाई पनि रमिताले टुलुटुलु हेर्न सकिनन् । उनले गाउँभरिका किशोरी भेला पारिन् । सबै मिलेर प्रहरी कार्यालयमा उजुरी गरे । प्रहरीले विवाहस्थलमा हस्तक्षेप गर्‍यो । रमिताकै कारण अर्की बालिकाको बिहे रोकियो । यो घटनासँगै गाउँमा रमिताको चर्चा भयो । चिन्नेले उनलाई स्याबासी दिन थाले । यही दिनबाट उनको यात्रा मोडियो । ‘अरू बालिकालाई पनि यस्तो हुनबाट रोक्नुपर्छ भन्ने साहस बढ्यो । ‘त्यही दिनबाटै मैले यसलाई अभियान बनाएकी हुँ,’ रमिताले भनिन् । उनको गाउँमा बालविवाह गर्ने चलन बन्द जस्तै भएको छ ।


त्यसयता रमिताले आफ्नै पहलमा २५ बढी बालविवाह रोकिसकिन् । बित्थडचिरदेखि सुर्मा र मष्टादेखि खप्तड छान्नासम्मका थुप्रै बालिकाको उद्धार गरिसकिन् । ‘अर्काको घर भाँड्ने ? आफूले केटा नपाएपछि यस्तो गर्छे’ भनेर समाजले उनका कुरा नकाटेका होइनन् । तर उनले हार मानेकी छैनन् । बालविवाहविरुद्धको आफ्नो अभियानका विषयमा उनले परिवारको दह्रो साथ पाएकी छन् । ‘हामीले नै छोरीको बालविवाह गरिदिएर झन्डै अपराध गरिसकेका रहेछौं । रमिताले गर्दा रोकियो,’ उनका बुबा ताराबहादुर भन्छन्, ‘अरूले पनि यस्तो गल्ती नगरुन् भनेर छोरीको काममा सघाइरहेका छौं । उनको कामले हाम्रो पनि इज्जत बढेको छ ।’


छिमेकी जिल्ला बैतडी, डोटी र कञ्चनपुरसम्मका किशोरीलाई रमिताले बालविवाह, महिला हिंसा, छाउपडी जस्ता कुरीति अन्त्यको अभियानमा जोडिरहेकी छन् । पछिल्लो समय हिंसामा परेका महिला पनि उनको सम्पर्कमा आउन थालेका छन् । उनीहरूलाई पनि सघाउन स्थानीय तह र सहयोगी संस्थासम्म पुर्‍याइदिने गरेको रमिताले सुनाइन् ।


बालविवाह रोक्ने कामबाट अभियान सुरु गरेकी रमिताको अभियान त्यत्तिमा सीमित छैन । उनले छाउगोठ मुक्त अभियानको पनि नेतृत्व गरिरहेकी छन् । बुंगल नगरपालिकालाई सुदूरपश्चिम प्रदेशकै पहिलो छाउगोठमुक्त नगरपालिका बनाउन पनि उनी सफल भइन् । ‘उहाँ नभएको भए यो सम्भव थिएन,’ नगरपालिका प्रमुख धनबहादुर विष्टले भने, ‘छाउगोठमुक्त नगरपालिका बनाउन उहाँ १ वर्षभन्दा बढी खट्नुभएको छ ।’

प्रकाशित : भाद्र ६, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?