कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

१६ वर्षदेखि गिट्टीकै सहारा

विप्लव महर्जन

सल्यान — बन्गाडकुपिण्डे नगरपालिकास्थित सल्लीबजारका ५८ का जीवन सुनार बैसाखीकै भरमा हिँडडुल गर्छन् । ‘ख’ बर्गको अपांगता परिचयपत्र भएका उनलाई सरकारले सुरक्षा भत्ताबापत मासिक ६ सय रुपैयाँ दिँदै आएको छ ।

भत्ताले गुजारा चलाउन समस्या भएपछि उनले गिट्टी कुटेर जीविकोपार्जन गर्दै आइरहेका छन् ।


२०५८ सालमा दार्माबाट सल्लीबजार आएका उनीसँग सम्पतिको नाममा एक रोपनी आबादी घरबास भएको जग्गा मात्र छ । त्यसमा खाद्यबाली उत्पादन नहुने भएकाले उनले १६ वर्षदेखि गिट्टी कुटेरै जीवन निर्वाह गरिरहेका हुन् । ‘सरकारले दिने भत्ता नाम मात्रको छ, औषधि उपचार गर्नसमेत पुग्दैन्,’ उनले भने, ‘आफूले गर्नसक्ने काम भएकाले गिट्टीलाई नै आयआर्जनको माध्यम बनाएको छु ।’


उनी घर नजिकै दिनभर गिट्टी कुट्न व्यस्त देखिन्छन् । दिनभरिमा २ बोरा गिट्टी कुटदै आएको सुनारले बताए । उनका अनुसार बोराको ६० रुपैयाँमा गिट्टी हुने गरेको छ । उनले हप्ताभरि कुटेको गिट्टी एकैपटक बिक्री हुने गरेको छ । ‘खुट्टाको समस्याले अरु केही काम गर्न सकिदैन, घर नजिकै बसेर गिट्टी कुट्छु,’ उनले भने, ‘अहिले गिट्टी नै मेरो सहारा बनेको छ ।’ पक्की घर निर्माणको ठेक्का लिएका व्यवसायीले गिट्टी खरिद गर्ने गरेको उनी बताउँछन् ।

बिहान ६ बजेदेखि वेलुकी ६ बजेसम्म गिट्टी कुटै आइरहेको उनले बताए । ‘गिट्टी कुटेकै रकमबाट मेरो घरमा चुल्हो बल्छ,’ सुनारले भने, ‘एकजनाको ज्यानको खर्च यहीले धानेको छ ।’ जन्मजात अपांगता भएका उनलाई भाइले दार्माबाट सल्लीबजार ल्याएका हुन । घरमा भाइसँगै बस्दै आए पनि आफ्नो खर्च आफै जुटाइरहेको उनी बताउँछन् । उनका भाइ भने परिवारसहित बस्दै आइरहेका छन् ।


मजदुरी गर्ने उनका भाइले बिहान संकलन गरिदिएको ढुंगाबाट सुनारले गिट्टी उत्पादन गर्ने गरेका हुन् । ‘फुर्सदको समय बिताउन पनि सजिलो भएको छ, आम्दानी पनि हुन्छ,’ उनले भने, ‘कहिलेकाँही भाइको परिवारमा गाह्रोसाह्रो पर्दा हेरफेर गर्ने गरेको छु, गिट्टी कुटेर कमाएको रकमले राम्रै निर्वाह भइरहेको छ ।’


बिक्री गर्न समस्या नभएकाले गिट्टी कुटेर ठिकै आम्दानी भएको उनको भनाइ छ । घर निर्माण गर्ने ठेकेदारले घर नजिकै आएर गिट्टी किनिदिने गरेको र ट्र्याक्टरबाट अन्यत्र लैजाने गरेको उनले जानकारी दिए ।

प्रकाशित : भाद्र ६, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?