२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

‘आस्फाल्ट कंक्रिट’को कामै भएन

हरि गौतम

रुकुम पश्चिम — शीतलपोखरी–चुनवाङ सडकअन्तर्गत शीतलपोखरी–तिलाडाँडा खण्ड स्तरोन्नतिको काम हुन सकेको छैन । ठेकेदार कम्पनीको लापरवाहीका कारण सडकको काम १ वर्षदेखि अलपत्र परेको हो । 

मुसीकोट नगरपालिका ४, ६, ७, ९ र १० जोड्ने करिब १८ किमि सडक ‘आस्फाल्ट कंक्रिट’ गर्नेगरी ठेक्का लागेको छ । ३० एमएम बाक्लो पिच गर्नेगरी ठेकेदार कम्पनी र ग्रामीण सडक सञ्जाल सुधार आयोजनाबीच सम्झौता भएको थियो ।


सडक निर्माणसहित स्तरोन्नतिको जिम्मा लिएको पीएच/शंकरमाली निर्माण सेवाको लापरबाहीका कारण सडकको काम अलपत्र परेको हो । वर्षा सुरु हुनुअघि नै उक्त खण्डको कटिङ, तारजाली, ग्याबिङ तथा फुक्का वाल लगाएर ग्राबेलको काम सक्नुपर्ने थियो ।


तर आधा काम सकिनुपर्ने बेलासम्म निर्माण कम्पनीले २० प्रतिशत पनि काम गर्न सकेको छैन । विभिन्न ५ खण्ड बनाएर निर्माण सुरु गरिए पनि ४ खण्डको थोरै काम थालेर अलपत्र छाडिएको छ । एउटा खण्डमा कामै हुन सकेको छैन ।


शीतलपोखरी–साँखखोला, साँखखोला–जुगेखोला, जुगेखोला–साउने र साउनेखोला–ठाँटीखोला खण्डमा काम थालिएको थियो । ५ खण्डमध्ये ठाँटीखोलादेखि तिलाडाँडासम्मको खण्डमा काम नै सुरु भएको छैन । ४ खण्डमा पहिल्यै ट्र्याक खुलेको थियो ।


आयोजनाका व्यवस्थापक डिभिजन इन्जिनियर गौरीकुमार श्रेष्ठले निर्माण कम्पनीको कामदेखि चित्त नबुझेको बताए । सम्झौताबमोजिम काम नभएको भनेर मौखिक तथा लिखित रूपमा सचेत गराइरहेको उनको भनाइ छ । आयोजनामा बुधबार गरिएको सर्वपक्षीय छलफलमा निर्माण कम्पनीले लगत्तै काम सुरु गर्ने प्रतिबद्धता गरेको उनको भनाइ छ ।


२ वर्षमा काम सक्ने भन्दै पीएच/शंकरमाली निर्माण सेवा कम्पनीले भ्याटबाहेक ४८ करोड ९४ लाख १७ हजार रुपैयाँमा सडक निर्माणको जिम्मा लिएको उनले जानकारी दिए । ‘यो सडक प्राविधिक हिसाबले उच्च गुणस्तरीय र महंगो सडक हो,’ उनले भने, ‘सडकमा २ वर्षमा आधारभूत काम सकिनेछन् भने ३ बर्षमा बाँकी सुधारको काम हुनेछ ।’


सडकको अन्तिम विन्दु रुकुम पूर्वको भूमे गाउँपालिकाको चुनवाङ हो । उक्त सडक खण्डमा पर्ने ५ खोलामा पुलसमेत बनाइने आयोजना कार्यालयले जनाएको छ । सडकमा सम्झौता अनुसार काम हुन नसकेको मुसीकोट नगरपालिका ९, का अध्यक्ष नविन ओलीले बताए ।


आयोजना र स्थानीय तहसँग गरिएको सम्झौतासमेत निर्माण कम्पनीले पालना नगरेका कारण स्थानीयले हैरानी व्यहोर्नु परिरहेको अध्यक्ष ओलीले बताए । पहिलाको सडकमा माथिबाट माटो फाल्दा पहिरो झरेर सडक झन विग्रिएको उनी बताउँछन् ।


हिउँदभर गाडी चलेको उक्त सडकमा वर्षा लागेपछि पैदलै हिड्न मुस्किल भइरहेको १० नम्वर वडाध्यक्ष गोपेश्वर केसीले बताए । सम्झौता अनुसार काम गराउनका लागि आयोजना कार्यालय र निर्माण कम्पनीसँग बारम्बार कुरा गरे पनि सुनुवाई नभएको उनको गुनासो छ ।


ठेकेदार कम्पनीले सडक स्तरोन्नतिको काम गर्ने क्रममा वर्षाको समयमा सडक बन्द नहुनेगरी काम गर्ने सम्झौता गरेको थियो । तर वर्षा सुरु भएलगत्तै सडकमा सवारी चल्न छाडेका छन् ।


स्थानीय यज्ञबहादुर ओलीले वर्षाभरि सवारी चल्ने गरी काम गर्ने भनिए पनि नभएको बताए । सडक निर्माणको क्रममा माथिबाट फालिएको माटोका कारण सडकमा पैदल यात्रा गर्नसमेत समस्या भइरहेको उनको भनाइ छ ।

प्रकाशित : भाद्र ६, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?