स्वास्थ्यचौकी पुग्नै सकस
अर्घाखाँची — सिद्धाराको ढुंगेसेराकी ज्योति घर्ती ज्वरोले सिकिस्त भइन् । पाँच घण्टा बोकिएर बल्ल स्वास्थ्य चौकी पुगिन् । वर्षामा बाढी पहिरोले सडक अवरुद्ध छन् । जंगल छिचोलेर जाँदा बाटोमा बाँदर, बँदेलको आक्रमणमा परिने डर छ ।
स्वास्थ्यकर्मी घरमै आउन सम्भव छैन । ‘घरेलु औषधि खाएँ तर निको नभएपछि छिमेकीले डोकोमा बोकेर अस्पताल पुर्याए,’ उनले भनिन् । दुई महिनापछि बल्ल ज्वरो हल्का बस्यो । घर्तीलाई बोकेर लैजाँदा सहयोगीले साथमा कोदालो पनि लगेका थिए । ‘जहाँ बाटो बिग्रेको छ, त्यहाँ बाटो खन्दै बिरामी बोकेर स्वास्थ्यचौकी पुर्याएर फर्कायौं,’ सहयोगी विष्णु केसीले भने ।
गाउँमा सडक खनिए पनि यात्रु नपाएर गाडी रित्तै फर्काउनु परेको भन्दै यातायात व्यवसायीले सिद्धाराका भित्री सडकमा गाडी चलाउन मानेका छैनन् । हिउँदमा पनि पैदलै हिँडेर स्वास्थ्य चौकी पुग्नुपर्ने बाध्यता यहाँका स्थानीयलाई छ । ‘बिरामी भएपछि भगवान् भरोसा भन्दै बस्ने हो,’ घर्तीले भनिन्, ‘त्यसैले वर्षामा कोही पनि बिरामी नहोऊन् भनेर भगवान्सँग पुकारा गर्छु ।’
लिसिकुना गाउँकी सुस्मिता बुढा मगर असारमा सुत्केरी भइन् । पेटमा बच्चा रहेपछि जाँच गराउन तीन पटक स्वास्थ्यचौकीसम्म पुगिन् । तीन घण्टा पैदल हिँड्नुपर्ने भएकाले त्यसपछि जान सकिनन् । ‘जेसुकै होस् काल आएको रहेछ भने मरुँला भनेर पछिल्लो सात महिना घरमै बसें,’ उनले भनिन् । घरमै बिना स्वास्थ्यकर्मी बच्चा जन्माउँदा धेरै दुःख भएको उनले सुनाइन् ।
उनाएका विमल विकका बाबु सिकिस्त बिरामी भए । ‘ज्वरो, रुघाखोकीले बुबा बिरामी पर्नुभयो, चार दिनसम्म लगातार झरी पर्यो, बाढी पहिरोले स्वास्थ्यचौकीसम्म पुग्न निकै गाह्रो भयो,’ विमलले भने, ‘सिकिस्त भएको ६ दिनपछि डोलीमा बोकेर स्वास्थ्यचौकी पुराइयो । एक महिना उपचार गरेपछि बल्ल निको भयो ।’
उनीहरू पनि ३ घण्टा पैदल हिँडेपछि बल्ल स्वास्थ्यचौकी पुगेका थिए । गाउँमा कच्ची सडक त खनिएका छन् । तर, वर्षा लागेपछि सबै अवरुद्ध हुन्छन् । बाढी पहिरोको उस्तै डर छ । वर्षामा त हिँडडुलै गर्नै आपत् हुने उनले सुनाए । वर्षामा बाटो अवरुद्ध भएपछि सिद्धारामा समयमै औषधि नपुग्ने समस्या छ ।
संघीय व्यवस्था भएपछि वडामा स्थानीय तहले सामुदायिक स्वास्थ्य एकाइ बनाएर स्वास्थ्य सेवा प्रदान गर्ने जमर्को गरेका छन् । हर्रे, लामिदमार, लौरी, ढुंगेसेरा र खयरबट्टीमा एकाइ स्थापना गरिएको छ । ढुंगेसेरामा एक अनमी र अरू ठाउँमा अहेवमात्रै छन् ।
एकाइमा कार्यालय सहयोगी र अरू स्वास्थ्यकर्मी छैनन् । कार्यालयको कामले अहेव अन्यत्र जानुपरे एकाइ नै बन्द हुन्छ । ३ वडाको सिद्धारामा एउटा स्वास्थ्यचौकी छ । त्यहाँ एक प्रमुख, दुई अहेव र एक अनमीको दरबन्दी छ । अनमी छैनन् ।
चौकी प्रमुख देवी भुसालले दैनिक १५ देखि ३० जना बिरामी आउने गरेको बताए । बार्थिङ सेन्टर छ । सबै सामग्री छन् । तर, तालिमप्राप्त दक्ष स्वास्थ्यकर्मी नभएकाले सुत्केरी गराउन सम्भव नभएको प्रमुख भुसालले बताए । ‘गाउँमा कसैले बोलाएमा हामी तीन/चार घण्टा पैदल हिँडेरै भए पनि सेवा दिन घरमै पुग्छौं,’ उनले भने, ‘टाढा गाउँमा एक जना बिरामी जाँचेर फर्कन पूरै दिन लाग्छ ।’
पैदल हिँड्न नसकेरै धेरै बिरामी स्वास्थ्य संस्थामा आउँदैनन् । घरायसी उपचारमा लाग्ने र निको नभए लामो समय थलिएर बस्छन् । भौगोलिक जटिलताले गर्दा उपचार गराउन नपाएरै अकालमै ज्यान गुमाउने पनि धेरै छन् । हरेक नागरिकलाई स्वास्थ्य सेवा दिने सरकारी नीति छ । सिद्धाराका बासिन्दाले स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।
सबैभन्दा बढी बूढाबूढी र बालबालिका प्रभावित छन् । ‘बिरामी डोको र डोलीमा बोकेर घण्टौं पैदल हिँडेर स्वास्थ्यचौकी पुग्नुपर्छ,’ दुम्सी आधारभूत विद्यालयका शिक्षक रुमबहादुर पल्लीले भने, ‘कहिले औषधि हुँदैन त कहिले स्वास्थ्यकर्मी नै हुँदैनन् । यसभन्दा पीडा अरू के हुन्छ ?’
सामुदायिक स्वास्थ्य एकाइमा पनि स्वास्थ्यचौकीमा जस्तै सेवा दिइन्छ । खयरबट्टी एकाइ प्रमुख भानुभक्त बेल्वासेले आफू एक्लै भएका कारण बिरामीलाई स्वास्थ्य सेवा दिन समस्या भएको बताए । ‘म बिरामी भए, अफिसको कामले नगरपालिका, स्वास्थ्यचौकी र अन्यत्र जानु परे एकाइ बन्द हुन्छ,’ उनले भने, ‘त्यो दिन बिरामी यत्तिकै फर्कन्छन् ।’
एक जना कार्यालय सहयोगी र अनमीको व्यवस्था गरिदिन नगरपालिकासँग माग गरेको उनले बताए । एकाइमा स्टेचर छैन ।
औषधि गाडीमा ल्याउन तीन/चार सय भाडा र केही घण्टा मान्छेले बोकेरै ल्याउनुपर्छ ।
प्रकाशित : भाद्र ६, २०७६ ०९:४१